ट्राफिकको निगरानीमा विद्यालय / कलेजका बस

ट्राफिकको निगरानीमा विद्यालय / कलेजका बस

नवलपुर ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सवारी दुर्घटना न्यूनिकरण र तथा सुरक्षित यात्रा गराउने उद्देश्यले विद्यालय तथा कलेजका बस लक्षित निगरानी र सचेतना कार्यक्रम अगाडि बढाएको छ ।
जिल्लाका बजार तथा ग्रामीण क्षेत्रमा समेत विद्यालयका बसको चेकजाँच गर्ने कार्य गरिएको छ । आइतबार मात्रै जिल्लाको गैडाकोट , रजहर , कावासोती , चोरमारा , अरुणखोला , दुम्किवास , सर्दी लगायतका क्षेत्रमा ३३ वटा विद्यालयका बसमा चेकजाँच गरिएको ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक कुशल कुमार बर्तौलाले जानकारी दिनुभयो । ‘हामीले चेकिङ गर्ने कारवाही गर्न र जरिवाना तिराउनका लागि मात्रै होइन , दुर्घटना न्यूनीकरणसँगै सचेतना जगाउने र सुरक्षित यात्रा होस भन्ने उदेश्य राखेर पनि चेकिङ गर्छौँ । अहिले यसै उद्देश्यले विद्यालयका बसलाई निगरानी बढाएका हौँ । ’ बर्तौलाले भन्नुभयो ।
चेकजाँचमा खटिएका ट्राफिक प्रहरीद्धारा विभिन्न विद्यालयका बस चालकहरुलाइ रोकेर उनीहरूलाई सुरक्षित स्थानमा सवारी रोकी मात्र विद्यार्थीहरूलाई चढाउने÷ओराल्ने, झ्याल÷ढोकाबाट हात, टाउको बाहिर निकाल्न नदिने, सिट क्षमता बमोजिम विद्यार्थीहरू राख्ने, तिव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ लागू पदार्थ सेवन गरि सवारी नचलाउने तथा सधैँ ट्राफिक नियमको पालना गरी सवारी चलाउनका लागि सम्झाई बुझाई गरिएको बर्तौलाले बताउनुभयो । प्रहरी निरीक्षक बर्तौलाले विद्यालयका बसहरूमा साना– साना बालबालिकाहरू रहने हुँदा उनीहरूलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म सुरक्षित रुपमा ल्याउने लैजाने जिम्मेवारी बस चालक र सहचालकको मात्रै नभई विद्यालय सञ्चालकको समेत रहेको बताउनुभयो । बसको अवस्था कस्तो छ ? कागजपत्र समयमा नवीकरण भएको छ वा छैन , चालकले सवारी चलाउँदा तीव्र गतिमा पो हाँक्छ कि ? सिट क्षमता भन्दा बढी विद्यार्थी भएर बालबालिकालाई असहज भएको छ की ? भन्ने कुरालाई गम्भिर रुपमा लिन उहाँले विद्यालयका शिक्षकहरुलाई अनुरोध समेत गर्नुभएको छ । दुर्घटना भइ क्षति हुनुपूर्व नै सचेत भइ दुर्घटनाबाट जोगिनका लागि ट्राफिक नियमको पालना गरेर सवारी चलाउन उहाँले अनुरोध समेत गर्नुभएको छ । विद्यालय कलेजका बसहरूको चेकजाँच गर्ने कार्यलाई नियमित गर्दै निरन्तर दिदैँ जाने उहाँले बताउनुभयो । यसका लागि आम नागरिक अभिभावकहरू समेत सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
यसैबीच ट्राफिक कार्यालय नवलपुरले ठूलो आवाजमा हर्न बजाउने ( प्रेसर हर्न ) ठूला सवारी साधन र स्वरूप परिवर्तन गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकललाई पनि करवाही गरेको छ । चालु आर्थिक वर्षको चार महिनामा ५५ वटा बस र टकको प्रेसर हर्न निकालेको बर्तौलाले जानकारी दिनुभयो । यसैगरी ठूलो आवाज निकाल्ने ५ वटा मोटरसाइकलको साइलेन्सर निकालिएको र चार वटालाई कारवाहीका लागि यातायात कार्यालयमा पठाइएको उहाँले बताउनुभयो । कारवाहीमा परेका मोटरसाइकलले प्रति मोटरसाकइकल सात हजार ५० रुपिँयाका दरले जरिवाना तिरेको उहाँले जानकारी दिनभयो । बढदो सवारी साधनको चाप, राजमार्ग सडकको छेउ छाउको बस्ति र शहरी ईलाकामा जथाभाबी प्रेसर हर्नको प्रयोगले गर्दा र ठूलो आवाज निकालेर मोटरसाइकल कुदाउँदा सडक प्रयोग कर्ता, बालबालिका, जेष्ठ नागरिक तथा आम नारिकहरुको मानव स्वास्थ्यमा समेत नकरात्मक असर पर्न जाने हुँदा यस्ता गतिविधी नियन्त्रण गर्न ट्राफिक प्रहरी कार्यालय खटिएको भन्दै बर्तौलाले यस्ता कार्यलाई निरुत्साहित गर्न आम नागरिक र सम्बन्धित निकाय सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस