
नवलपुर । नवलपुरको कावासोती पाँचमा रहेको पुष्पाञ्जली टोल विकास संस्थाको आयोजनामा शनिवार रक्तदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भएको छ ।
कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । भने संस्थाले ७० वर्ष नाघेका २४ जना ज्येष्ठ नागरिकलाई पोषणयुक्त खानेकुरा अण्डा र हर्लेक्स तथा खादामालाले सम्मान समेत गरेको छ । यस्तै १३ जना सहयोगिदाताहरुलाई सम्मापत्रले सम्मान गरेको संस्थाका अध्यक्ष हेमराज थापाले जानकारी दिनुभयो ।
कावासोती वडा न.ं ५ को समन्वय तथा नवलपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
टोलको विकासका लागि गठन भएको संस्थाले केही रचनात्मक र सामाजिक काम पनि गर्नुपर्छ भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष हेमराज थापाले जानकारी दिनुभयो । बजारबाट टाढा रहेको, ग्रामीण बस्ती भएको क्षेत्र भएपनि सबैको साथ सहयोगले रक्तदान कार्यक्रम सफल भएको उहाँले बताउनुभयो । टोल विकास भनेको सानो संस्था भएपनि आट्यो भने ठूलै काम पनि गर्न सकिन्छ भनी यस कार्यक्रमबाट सिकाइ भएको समेत थापाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा न.ं ५ का अध्यक्ष निरज पुनले पुष्पाञ्जली टोल विकास संस्थाले उदाहरणीय काम गरेको बताउनुभयो । यस टोल विकास संस्थाले कावासोती नगरपालिकामा कुनै पनि टोल विकास संस्थाले नगरेको काम गर्न सफल भएको बताउनुभयो । आगामी दिनमा पनि यस्तै काम गरेर गाउँटोलको विकास र सामाजिक काममा अग्रसर हुनका लागि अनुरोध गर्नुभयो । उहाँले वडाले समुदायले गर्ने हरेक काममा हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
संस्थाका अध्यक्ष हेमराज थापाको अध्यक्षता तथा वडा नं. पाँचका अध्यक्ष निरज पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरू , टोल विकास संस्थाका पूर्व अध्यक्ष पूर्ण बहादुर भुजेल , शैक्षिक एवम् सामाजिक व्यक्तित्व भोजराज दाहाल , रमेश अधिकारी , मीन लामा , अगुवा युवा तथा समाजसेवी भेषराज गाहा , भेष बहादुर गाहा लगायत स्थानीय विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वडा सदस्य पार्वती भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
