सिँचाइ सुविधा नभएको रकुवा फाँटमा भटमास खेती

सिँचाइ सुविधा नभएको रकुवा फाँटमा भटमास खेती

बौदीकाली ।  सिँचाइ सुविधा नभएको रकुवाको फाँट यतिबेला भटमासका बोटले हरियै बनेको छ । बोटमा कोसा लागेका छन् । हरियै फाँट देख्दै रहर लाग्दो भएको छ ।
भटमास र बोडी ( दाना) नवलपुरको विकट पहाडी पालिका बौदीकाली वडा नं. ३ रकुवा क्षेत्रको मुख्य खेती हो । यहाँ उत्पादित भटमास अहिले पनि चामलसँग साट्ने चलन छ ।
विशेषगरी रकुवाको समथर ( फाँट ) रहेको बाँझोबारी , साघुुँरी क्षेत्रमा अन्य खेतीको तुलनामा भटमास र बोडी खेती राम्रो हुन्छ ।
बाँझोबारीका किसान मोतिलाल बिकले सात रोपनी क्षेत्रफलमा भटमास लगाउनुभएको छ । । त्यहाँबाट उत्पादित भटमास र बोडी ( दाना) चामलसँग साट्ने गरेको उहाँले बताउनुभयो । एक सिजनमा आठदश मुरीसम्म भटमास उत्पादन हुने गरेको उहाँले बताउनुभयो । भटमास र बोडी चामलसँग ( एक पाथी भटमास र बोडी दिएर दुई पाथी चामल) साट्ने गरेको उहाँ बताउनुहुन्छ ।
बौदीकाली वडा नं. ३ का अध्यक्ष समेत रहनुभएका तेज बहादुर थापाले पनि ७ रोपनी क्षेत्रफलमा भटमास लगाउनुभएको छ । यस क्षेत्रमा दश पन्ध्र वर्षअघिदेखि नै भटमास खेती हुँदै आएको उहाँले बताउनुभयो । सिँचाइको सुविधा नभएको कारण अन्य खेतीको तुलनामा भटमास र बोडी खेती राम्रो हुने भएकाले आफूहरूले भटमास खेती गर्ने गरेको थापाको भनाई छ । उहाँका अनुसार वडा नं. ३ को रकुवा क्षेत्रमा मात्रै करिब ३० बिगाहा क्षेत्रफलमा भटमास खेती गरिन्छ । यहाँका एक सय २० घरधुरीले भटमास खेती गर्दै आएको थापाले बताउनुभयो । चामलको जोहो गर्ने मुख्य माध्यम नै भटमास र बोडीको दाना रहेको उहाँ बताउनुहुन्छ । ‘यहाँ सिँचाइ छैन त्यसैले धान खेती राम्रो हुँदैन । यहाँका सबैजसो घरधुरीले भटमाससँग चामल साटेर छ महिना, वर्ष दिनसम्म खाने चामलको जोहो गर्नुहुन्छ । ’ थापाले भन्नुभयो । ‘भटमास स्याहार्न भन्दा अघि नै पाल्पाको रामपुर , कावासोती , दलदले , तनहुँको भिमादबाट व्यापारीहरू खरीद गर्न आउनुहुन्छ । यहाँ त खोसाखोस नै हुन्छ । पैसामा भन्दा पनि चामलसँग साट्ने हो । एकपाथि भटमाससँग दुईपाथि चामल साटेर लैजान्छन् । ’
यस्तै रकुवाकी अर्की किसान तिलसरा रसाइलीले पनि उत्पादन गरेको भटमास र बोडी चामलसँग नै साट्ने गरेको बताउनुभयो । केही वर्ष अघिसम्म सडक सञ्जाल राम्रो नहुँदा बिक्री गर्नै गाह्रो हुने , मूल्य पनि नपर्ने भटमास कालीगण्डकी कोरिडोर बनेपछि , अहिले सहजै रुपमा व्यापारीहरू आउन थालेको उहाँको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस