मोतियाबिन्दुका तीन हजार बिरामीको शल्यक्रिया

मोतियाबिन्दुका तीन हजार बिरामीको शल्यक्रिया

नवलपुर ।  रोटरी क्लब अफ कावासोतीले तीन हजार जना मोतियाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरेको जनाएको छ ।
क्लबले आइतबार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले ६ वर्षको अवधीमा तीन हजार जना मोतियाबिन्दुका बिरामीको निशुल्क शल्यक्रिया गरेको जानकारी दिनुभयो । यस्तै २५ हजार बढीले निशुल्क रुपमा आँखा परिक्षण गरेको उहाँले बताउनुभयो । रोटरी क्लबले स्वास्थ्य क्षेत्रलाई महत्व दिएर सामाजिक काम गर्दै आएको बताउँदै उहाँले विषेश गरी ग्रामीण भेगका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । उहाँले मोतियाबिन्दुका बारेमा अझै पनि सचेतना जगाउन खाँचो रहेको बताउनुभएको छ । वृद्ध हुँदै जाँदा आँखा धमिलो देखिनुलाई सामान्य अवस्था मानेर परिक्षण नगर्ने परिपाटी नेपाली समाजमा रहेको कारण मोतियाबिन्दुले आँखामा धेरै असर गर्ने गरिसकेपछि उपचारमा समेत समस्या हुने उहाँको भनाई छ । शिविर सञ्चालन गर्दाको अनुभवमा ७० प्रतिशत महिलाहरूमा मोतियाबिन्दु देखिने गरेको पोख्रेलले बताउनुभयो । महिलाहरूले चुलोचौकोको कामभन्दा गर्नुपर्ने भएको हुँदा पनि धेरैजसो महिलाहरूमा यो समस्या हुने र महिलाहरू नै धेरै शिविरबाट लाभान्वित भएको उहाँको भनाई छ ।
यसैबीच रोटरी क्लब अफ कावासोतीले मोतियाबिन्दुको नि शुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । क्लबले यही कात्तिक ११ गतेदेखि तीन दिनसम्म जिल्ला स्थित मध्यविन्दु प्रादेशिक अस्पताल परिसरमा मोतिया विन्दुको उपचारका लागि शल्यक्रिया शिविर गर्न लागेको क्लबका अध्यक्ष नारायण न्यौपानेले बताउनुभयो ।
क्लबले यस अघि विभिन्न स्थानमा नि शुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो । गैँडाकोटको दुई स्थान, मध्यविन्दुको एक स्थान , कावासोतीको पाँच स्थानमा गरिएको शिविरबाट मोतिया बिन्दु पहिचान भएका बिरामीको नि शुल्क शल्यक्रिया गर्ने गरी शिविर गर्न लागिएको क्लबका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा गर्न लागिएको शिविरबाट ३ सय जनाले शल्यक्रिया सेवा लिने उहाँले बताउनुभयो । शिविरमा कुनै पनि शुल्क नलाग्ने भन्दै मोतिया बिन्दुका कारण आँखाका ज्योति गुमाएकाले लाभ लिन सक्ने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा क्लबका निवर्तमान अध्यक्ष हरिहर अधिकारी , नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल लगायतको सहभागिता रहको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस