नवलपुर । नवलपुरको थारु समुदायमा आज जितिया पर्व मनाइदै छ । थारु समुदायका महिलाहरूले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिवारदेखि सुरु भएको छ । तर , यस वर्ष नवलपुरको थारु समुदायमा भने जितिया पर्वको कुनै रौनक छैन ।
गएका वर्षहरूमा धुमधामले हर्षोल्लासका साथ मनाइने जितिया पर्व यस वर्ष देशमा उत्पन्न विषम परिस्थीतिका कारणले प्रभावित बनेको छ । गएका वर्षहरूमा नवलपुरमा जितिया पर्वको मुख्य दिनभन्दा केहिदिन अघिबाट नै जितियाको रौनक सुरु हुन्थ्यो तर , यस वर्ष नवलपुरका थारु समुदायमा जितियाको कुनै रौनक छैन । यस वर्ष थारु समुदायले घरघरमै जितिया मनाउदैछन् । चेलीबेटी बोलाएर घरघरमा झाम्टा नाची सामूहिक रूपमा मनाइने यो पर्व यस वर्ष घरभित्रै सीमित भएको छ ।
गएका वर्षहरूमा जितिया पर्व आउनभन्दा हप्ता दिनअघिदेखि नै झाम्टा नाच , लाठी नाच लगायत सास्कृतीक कार्यक्रम तथा प्रतियोगिता , विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरेर हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदान प्रदान गरी मनाइँदै आएकोमा अहिले जेन्जी आन्दोलनले देशमा उत्पन्न अवस्थाका कारण कार्यक्रमहरू आयोजना नगरिएको थारु अगुवा इनर प्रसाद महतोले बताउनुभयो ।
ठाउँ र समुदाय अनुसार यस पर्व मनाउने चलन केही फरक रहेको थारु अगुवाहरू बताउँदछन् । जितिया पर्व मनाउनुको उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण , पुत्रको सुखशान्ति र चिरायु हो । यस पर्वमा महिलाले उपवास र प्राचीन विधिद्वारा पूजा अर्चना गरी २४ देखि ३६ घण्टासम्म निराहार पानीसमेत नखाई थुक पनि ननिली व्रत बस्ने प्रचलन रहेको महतोले बताउनुभयो ।
तिन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन नुहाएर घिरौँलाको पातमा तेल खँडी चढाउँदै सन्तानको सिरमा तेल दली सुख शान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ । त्यसपछि सधवा (सुहागन) महिलाहरूले माछा एवम् कोदोको रोटी खाने र विधवा महिलाहरू भात ,चिउरा ,कोदोको रोटी खाने परम्परा रहेको अध्यक्ष महतो बताउनुहुन्छ ।
शाकाहारी महिलाहरूले नजिकको पोखरी, इनार, ताल वा कुवामा स्नान गरी गम्हरी (कोसाभित्रै फल्ने धान) को खिर वा भात पनि खाने गर्दछन् । जितिया पर्वको एकाबिहानै महिलाहरु आचमन शुद्धि गरेर घिरौँलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने प्रचलन रहेको छ ।
रातिमा घिरौँलाको पातमा चढाएको नैवेद्य स्वरूपको चिउरा, दही फलफूलसहित प्रसादको रूपमा खान दिने गरिन्छ । अन्तिम दिन पारनका दिन बिहानै उठी व्रतालु महिलाहरू नदी, पोखरी, इनार ताल तलैयामा स्नान गरी घर फर्केर बेसारको पातमा चियुरा, दही, फलफूल खान दिएर जितिया पर्व विधिवत् रूपमा समापन गरिने महतोले बताउनुभयो ।
यसैबिच जितिया पर्वको अवसर पारेर नवलपुरका दुई पालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन् । कावासोती ,देवुचली, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै सोमबार परेको जितिया पर्वको अवसर पारेर सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।