नारायणगढ –बुटवल सडकको काममा लापरवाही भएको गुनासो

नारायणगढ –बुटवल सडकको काममा लापरवाही भएको गुनासो

नवलपुर ।  निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्डको नयाँ कालोपत्रे सडक दबिएर उबड–खाबड बनेको छ ।
कालोपत्रे सम्पन्न भएको उकालो स्थानमा सडक बढी दबिएको छ । नवलपुर खण्डको गैँडाकोटदेखि दुम्किवाससम्म पर्ने अधिकांश उकालो क्षेत्रमा सडक बिग्रिएको छ । यस सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा अरुण खोला बजार सकिदा बित्तिकै पर्ने उकालो र चोरमाराको चौरङगी आइपुग्दाखेरी रहेको उकालो क्षेत्रमा सडक बढी दबिएर निकै बिग्रिसकेको छ , । भने चोरमारा देखि गैँडाकोटसम्म पर्ने करिब सात आठ वटा उकालो क्षेत्रमा सडक दबिएर बिग्रिएको छ । उकालो मात्रै होइन भर्खर–भर्खर सम्पन्न कालोपत्रे सडकमा प्वाल परेको छ । कतै धसिएको छ त कतै सडकभन्दा माथि उठेको छ । जसका कारण यात्रामा समस्या भएको छ । दुर्घटनाको जोखिम पनि बढाएको छ ।
त्यति मात्रै होइन निर्माण सम्पन्न भएका कल्बट र ठूला पुलहरूमा समेत समस्या देखिएको छ । भर्खर मात्र सम्पन्न भएको दुम्विासको पुलको बिच भागमै प्वाल परेको छ । केही समयअघि सम्पन्न भएका झाराही खेला , बौलाहा खोला, लोकाहा खोला लगायतका ठूला पुल र ठाउँ –ठाउँमा निर्माण भएका कल्बटहरुमा ठाउँमा प्वाल परेका छन् । पुलको जडान भएका ठाउँको लेबल नमिल्दा मोटरसाइकल स्कुटरलाई धराप जस्तै भएको छ । स्पिडमा गुडेका सवारीले नदेखेमा सवारी नै ठक्कर खाएर पल्टिने जोखिम छ ।
नयाँ बनेको कालोपत्रे सम्पन्न भएको केही दिनमै बिग्रिँदा गुणस्तरीय काम नभएकाले सडक बिग्रिएको स्थानीयको गुनासो छ ।
मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले यस बारेमा आयोजना र सडक डिभिजनलाई औपचारिक रूपमा पत्र लेखेरै सडक निर्माणमा भएको लापवाहीका बारेमा जानकारी गराएको बताउनुभएको छ । सडकको जुन खालको डिपिआर हो त्यस अनुसार कामै नभएको अधिकारीको भनाई छ । यस बारेमा प्रस्ट रूपमा पत्र मार्फत सम्बन्धित निकायसँग कुरा राखेको उहाँले बताउनुभयो । ‘नरायणगढ –बुटवल सडक खण्डमा धेरै फल्ट छ , यहाँ निर्माण भएका पुल र कल्बटमा पनि फल्ट छ भनेर आयोजनालाई नगरपालिकाको तर्फबाट चिठी नै लेखेर पठाएको छु । ’ नगर प्रमुख अधिकारीले भन्नुभयो । ‘आयोजना प्रमुख , कन्ट्रयाक्टर र कन्सल्टयान्ट समेतलाई राखेर छलफल समेत गरेका छौँ तर उनीहरू गल्ती स्विकार्न तयार छैनन् । यस विषयप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । ’
आयोजनाका ठेकेदार पक्षका इन्जिनियर राकेश झाले भने सडकका बारेमा गुनासोहरू आएको तर के कारणले त्यस्तो भयो भन्ने बारेमा प्राविधिकले जाँच गर्ने र त्यसको रिपोर्ट आएपछि मात्रै थाहा हुने बताउनुहुन्छ । गुणस्तरीय काम नभएकै कारण सडकमा समस्या देखिएको विषयप्रति उहाँले कुनै जवाफ दिनुभएन । समस्या देखिएका स्थानमा पुनः मर्मतको काम हुने उहाँले बताउनुभयो । एकतर्फी मात्रै कालोपत्रे भएको स्थानमा बढी समस्या देखिएको बताउँदै उहाँले अर्कोतर्फ कालोपत्रे सम्पन्न भएपछि मात्रै बिग्रिएको स्थानमा मर्मतको काम गर्ने बताउनुभयो । पुलहरूमा देखिएको समस्याका बारेमा उहाँले जोइन्ट भएका स्थानमा काम गर्नै बाँकी रहेको बताउँदै ( स्टिलको जोइन्ट ) राख्न बाँकी रहेको र राखेर पिच गरिने जानकारी दिनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस