वगुवन – त्रिवेणी सडक खण्ड सरसफाइमा जुटे स्थानीय

वगुवन – त्रिवेणी सडक खण्ड सरसफाइमा जुटे स्थानीय

नवलपुर ।  गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने कोरला–त्रिवेणी सडक खण्डमध्ये वगुवन – त्रिवेणी खण्ड सरसफाइमा स्थानीय जुटेका छन् ।
विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती बैदवार समेतको सहभागिता र स्थानीयको सक्रियतामा शनिबार विनयी त्रिवेणी गाउँपालिका एक बुगुवनक्षेत्रबाट वृहत सरसफाइ अभियान सुरुवात गरिएको हो । घरेलु औजार हसिया कुटो कोदालो बोकेर स्थानीयले यस सडक खण्डमा भएका झाडी सरसफाई गरेका छन् । पहिलो दिन आज पाँच किलोमिटर सडक सरसफाई गरिएको छ ।
दुम्किवास युथको संयोजकत्वमा बगुवन , सिसेनी , ज्यामिरे , दुम्किवास र त्रिवेणी लगायतका गाउँ टोलका चारसय बढीका सहभागितामा सरसफाइ कार्यलाई अगाडी बढाइएको दुकिवास युथका सुनिल खनालले जानकारी दिनुभयो । पालिकाको दुई वटा वडा छ र सात तथा प्रदेशकै गौरवको योजना कोरला–त्रिवेणी सडक खण्डमध्ये वगुवन – त्रिवेणी खण्डको जङ्गल क्षेत्र पर्ने करिब १० किलोमिटर सडकको झाडीलाई व्यवस्थापन गरी छिटो भन्दा छिटो सञ्चालन गर्ने उद्देश्यले यस सरसफाइ अभियान अगाडि बढाएको खनालले बताउनुभयो । ‘विषेशतः त्रिवेणीका छ र सात नम्बर वडा त्रिवेणीका बासिन्दालाई आफ्नै पालिका दुम्किवास आउन धेरै दुःख छ । छोटो बाटो सञ्चालनमा नआउँदा सुस्ता हुँदै बर्दघाटबाट दाउन्नेको बाटो भएर आउँदा करिव ४५ किलोमिटर घुमेर आउनुपर्छ दाउन्नेको बाटाका कारण घण्टौँ लाग्ने गरेको छ । त्रिवेणीवासीले भोग्नु परेको यस दुःखमा होस्टेमा हैसे गर्नका लागि पनि हामी यो बाटो सरसफाइमा जुटेका हौँ । ’ खनालले भन्नुभयो ।
दुम्किवास युथका दिपक सुवेदीले स्थानीय जनता जागेर सुरु गरेको यस अभियानमा सबै तहतप्का र सरोकारवाला समेतको सहयोग रहेको बताउनुभयो । पालिका तथा वडाहरू समेतको सहकार्य र समन्वयमा विषेश गरी स्थानीयको विषेश पहलमा मध्यवर्ती क्षेत्र पर्ने जङ्गल क्षेत्रमा जनसमुदाय आफैँ एकजुट भइ सरसफाइ गर्ने कार्य भएको उहाँले बताउनुभयो । त्रिवेणी क्षेत्रका बासिन्दाले त्रिवेणी क्षेत्रबाट करिब तीन किलोमिटर अधेरी खोलासम्मको क्षेत्र सरसफाइ गरिसकेको र दुम्किवास क्षेत्रका स्थानीयले बाँकी रहेको क्षेत्रमा सरसफाई गर्ने बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष बैदवारको अध्यक्षतामा दुम्किवासमा बिहीबार बसेको भेलाले घरेलु औजारहरू हसिया , कुटो कोदालोको प्रयोग गरी , जङ्गली जनवारलाई कुनै पनि हानिनोक्सानी नपुराउने गरी गजेन्द्र मोक्ष धामसम्म बाटो सरसफाइ गर्ने निर्णय गरिएको थियो । भेलाले सरसफाइका क्रममा कुनै पनि घटना घटेको खण्डमा व्यक्त स्वयम् आफैँ जिम्मेवार हुने सर्वसम्मत रुपमा निर्णय समेत थियो । ‘यो क्षेत्र मध्यवर्ती क्षेत्र हो । चितवन राष्टिय निकुञ्जले हेर्दै आएको हुनाले पालिकाले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा र पश्चिम सेक्टर अमलटारी समेतलाई पत्र लेखेर सरसफाइ अभियानका बारेमा जानकारी गरायौँ , सहयोग र समन्वय गर्न आग्रह ग¥यौँ । सुरक्षालाई मध्यनजर गर्दै निकुञ्जको सेना अघिपछि राखेर यहाँ सरसफाइ कार्य गरिएको छ ।’ वैदवारले भन्नुभयो ।
सरसफाईका क्रममा सडकमा कुनै पनि ठूलो प्रजातिको रुख विरुवा नरहेको , जंगली जनावार पनि फेला नगरेको र केही मर्मत सम्भार गर्न सके यस सडकलाई सञ्चालन गर्न सकिने अवस्था रहेको हुँदा अबको सरकारले यो सडक सञ्मा चासो दिएर यहाँका जनताले पाएको दुःखको निवारण गर्नुपर्ने बैदवारले माग गर्नुभयो । यो सडक खुलेको खण्डमा दाउन्नेमा जाम बस्नु नपर्ने, यसै सडक हुँदै त्रिवेणीबाट पश्चिमका सबै ठाउँ पुग्न सकिने समेत उहाँले बताउनुभयो ।
निकै चर्चा बटुलेको यस सडक खण्ड हुलाकी सडकको रुपमा समेत रहेको र यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामाकरण गरि २०६२ असोजमा आशिंक रुपमा यातायात सञ्चालन गरिएको थियो । सडक खण्डका विभिन्न खोलाहरूमा कल्बट निर्माण गरि ग्राभेल समेत भरेर यातायात सञ्चालन भएको भएपनि २०६४ सालमा चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएको थियो । दुम्किवासको ज्यमिरेबाट १८ किलोमिटर दूरीमा मात्रै त्रिवेणी पुग्न सकिन्छ । तर, अहिले दुम्किवासबाट करिब ४५ किलोमिटरको दूरी पार गरेर त्रिवेणी पुग्नुपर्ने बाध्यता छ । त्यसमाथि दाउन्ने क्षेत्रको सडकका कारण घण्टौँ लाग्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस