वगुवन – त्रिवेणी सडक खण्ड सरसफाइ गरिने

वगुवन – त्रिवेणी सडक खण्ड सरसफाइ गरिने

नवलपुर ।  गण्डकी प्रदेशलाई भारतीय सीमासँग जोड्ने कोरला–त्रिवेणी सडक खण्डमध्ये वगुवन – त्रिवेणी खण्ड सरसफाइ गरिने भएको छ ।
स्थानीयको सक्रियतामा शुक्रबार वृहत सरसफाइ गरिने भएको हो । गाउँपालिका तथा दुम्किवास युथको टिम समेतको पहलमा यस कार्यलाई अगाडि बढाउन लागेको हो ।
विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवारको अध्यक्षतामा दुम्किवासमा बिहीबार बसेको भेलाले शुक्रबार बिहान आठ बजेदेखि सडक सरसफाइ गर्ने निर्णय गरेको हो । पालिकाका जनप्रतिनिधि , सरोकारवाला , गाउँवासी सबैको उपस्थिति तथा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा र पश्चिम सेक्टर अमलटारी समेतको समन्वयमा सरसफाइ गरिने गाउँपालिका उपाध्यक्ष वैदवारले जानकारी दिनुभयो । घरेलु औजारहरू हसिया , कुटो कोदालोको प्रयोग गरी , जङ्गली जनवारलाई कुनै पनि हानिनोक्सानी नपु¥याउने गरी गजेन्द्र मोक्षधामसम्म बाटो सरसफाइ गर्ने निर्णय गरिएको वैदवारको भनाई छ । बाटोमा निकै झाडी भएपछि सरसफाई गर्न लागिएको उहाँले बताउनुभयो ।
भेलाले सरसफाइका क्रममा कुनै पनि घटना घटेको खण्डमा व्यक्त स्वयम् आफैँ जिम्मेवार हुने सर्वसम्मत रुपमा निर्णय गरेको समेत उहाँले बताउनुभएको छ । तथापि सुरक्षालाई मध्यनजर गर्दै निकुञ्जको सेना अघिपछि रहनेछ ।
निकै चर्चा बटुलेको यस सडक खण्ड हुलाकी सडकको रुपमा समेत रहेको र यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामाकरण गरि २०६२ असोजमा आशिंक रुपमा यातायात सञ्चालन गरिएको थियो । सडक खण्डका विभिन्न खोलाहरूमा कल्बट निर्माण गरि ग्राभेल समेत भरेर यातायात सञ्चालन भएको भएपनि २०६४ सालमा चितवन राष्ट्रिय निकुञ्जले सञ्चालनमा रोक लगाएको तत्कालीन गजेन्द्रमोक्ष जनता मार्गका अध्यक्ष समेत रहनुभएका र अहिले विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

निकुञ्जले चरिचरनको क्षेत्र भनेर समेटेपछी यो खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको गिरीले बताउनुभयो ।
निकुञ्जले उक्त सडक निर्माण गर्न नदिएपछि सडकको स्तर उन्नति पनि रोकियो । आवतजावत पनि रोकियो । अहिले यो सडक खण्डमा निर्माण गरिएको संरचना समेत बिग्रिएको अवस्था छ । अहिले यहाँका बासिन्दालाई त्रिवेणी पुग्न लुम्बिनी प्रदेशको बर्दघाट – सुस्ता हुँदै जानुपर्ने बाध्यता छ ।
दुम्किवासबाट १८ किलोमिटर  दूरीमा मात्रै त्रिवेणी पुग्न सकिन्छ । तर, अहिले दुम्किवासबाट करिब ४५ किलोमिटरको दूरी पार गरेर त्रिवेणी पुग्नुपर्ने बाध्यता छ । त्यसमाथि दाउन्ने क्षेत्रको सडकका कारण घण्टौँ लाग्ने गरेको छ ।

फाइल फोटो 

ताजा अपडेट

खोजी गर्नुहोस