बौदीकालीको नवीकरण शिविर कावासोतीमा सुरु

बौदीकालीको नवीकरण शिविर कावासोतीमा सुरु

नवलपुर  ।  नवलपुरको बौदीकाली गाउँपालिकाले पालिका बाहिर रहेका आफ्ना नागरिकलाई पायक पर्ने गरी कावासोती नगरपालिकामा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण शिविर बुधवार देखी सुरु गरेको छ ।
शिविरमा वडा नं. १ का वडा सचिव हेमन्त घिमिरे , वडा नं. ६ का सचिव हेमलाल काफ्ले र कम्प्युटर अपरेटर विनोद विक नवीकरणको काममा खटिनुभएको छ । शिविरमा पहिलो दिन नै ३० जनाले सेवा लिइसकेको सचिव घिमिरेले जानकारी दिनुभयो । पालिकामा अझै पाँच सय हाराहारी लाभग्राहीले नवीकरण गर्न बाँकी रहेको घिमिरेले बताउनुभयो । यहाँ चार दिनसम्म चल्ने शिविरबाट तीन सय हाराहारीको नवीकरण गर्ने अनुमान गरिएको उहाँको भनाई छ ।
शिविरमा बौदीकाली गाउँपालिका वडा नं. ३ का अध्यक्ष तेज बहादुर थापा समेत खटिनुभएको छ । आफ्ना नागरिक सरकाबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन नपरोस् भनी पालिकाले यसरी शिविर मार्फत नवीकरणको काम गरेको उहाँले बताउनुभयो । कतिपय लाभग्राही निकै अशक्त र वृद्ध वृद्धा भएको हुँदा बोकेर रै लैजानुपर्ने अवस्था समेत रहेको हुँदा त्यस्ता लाभग्राहीलाई पायक पर्ने स्थानमा नवीकरण सेवा उपलब्ध गराएको उहाँले बताउनुभयो ।
बौदीकाली ६ स्थायी घर भएर अहिले कावासोती ३ मा बसोबास गर्ने वृद्ध भत्ताको नवीकरण गर्न आउनुभएकी लाभग्राही धनसरि विकले आफू बसेकै ठाउँबाट परिचय पत्र नवीकरण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । ‘आफू एक्लै वडामा गएर नवीकरण गर्न नसक्ने हुँदा कसरी जाने होला भनी चिन्ता मानेर बसेको वेलामा बसेकै स्थानबाट नवीकरण हुने रे भनी थाहा पाउँदा नै खुसी लागेको थियो । आज त नवीकरणको काम पनि भयो । धेरै सजिलो भयो । ’ विकले भन्नुभयो ।
बौदीकाली गाउँपालिका जिल्लाको पहाडी पालिका हो । यहाँका धेरै नागरिकहरू शिक्षा , स्वास्थ्य तथा रोजगारका लागि जिल्लाको बजार क्षेत्र कावासोती , मध्यविन्दु , देवचुली , गैंडाकोट , हुप्सेकोटमा अस्थायी रूपमा बसोबास गर्दै आएका छन् । सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नका लागि मात्रै पालिका पुग्न असहज र गाह्रो हुने नागरिकलाई लक्षित गर्दै बौदीकाली गाउँपालिकाले चार दिनसम्म शिविर नै चलाएर सेवा उपलब्ध गराएको पालिका अध्यक्ष प्रकाश ओझाले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा नियमावली २०७६ को नियम ( ९ ) र सामाजिक सुरक्षा वितरण कार्यविधि २०७७ को दफा ( ४ अनुसार ) सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले प्रत्येक आर्थिक वर्षको भाद्र मसान्तभित्र सम्बन्धित वडा कार्यालयमा आफैँ उपस्थित भई परिचयपत्र नवीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ । तर विभिन्न कारणवश पालिका बाहिर रहेका लाभग्राहीहरूको परिचय पत्र नवीकरण गर्न छुट नहोस् भन्ने उद्देश्यले पालिकाले सबैलाई पायक पर्ने स्थान कावासोती नगरपालिकामा शिविर सञ्चालन गरी सेवा दिएको अध्यक्ष ओझाले बताउनुभयो । पालिकाका वडाहरू कतिपय विकट ठाउँमा रहेको वर्षाको समय भएकाले समेत बाटोघाटोले पनि समस्या हुने र ज्येष्ठ नागरिक तथा अशक्तहरूलाई वडा कार्यालयमै पुगेर परिचयपत्र नवीकरण गर्न असहज समेत हुने भएकाले आफ्ना नागरिकले प्राप्त गर्ने सेवालाई सरल र सहज बनाउनका लागि पनि शिविर मार्फत सेवा उपलब्ध गराएको अध्यक्ष ओझाको भनाई छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस