प्लाष्टिकको प्रयोग निरुत्साहित गर्दै कावासोतीका होटल

प्लाष्टिकको प्रयोग निरुत्साहित गर्दै कावासोतीका होटल

नवलपुर ।  नवलपुरका होटलहरू प्लाष्टिकको प्रयोग निरुत्साहित गर्ने कार्यमा जुटेका छन् ।
नवलपुरको मध्यवर्ती आसपासका होटलहरू प्लाष्टिकको प्रयोग निरुत्साहित गर्ने अभियानमा लागेका छन् । कावासोती नगरपालिकामा रहेका केही होटल तथा लज र होम स्टेहरूले प्लाष्टिकको प्रयोग गदैनन् । प्लाष्टिकको विकल्पमा सिसा , फाइबर , अनि परम्परागत रुपमा बाँस तथा खरबाट बनेका सामग्रीहरूको प्रयोग गर्ने गरेका छन् ।
पर्यटन समिति नवलपुरका अध्यक्ष फंसराम महतोका अनुसार कावासोतीको मध्यवर्ती आसपासमा रहेका केही होटेल तथा होम स्टेले प्लाष्टिकको प्रयोग गर्दैनन् । महतो स्वयंले सञ्चालन गरेको थारू गाउँ रिसोर्ट सहित कावासोतीभित्र सञ्चालनमा रहेका टाइगर टप्स थारु लज , टेम्पल टाइगर , नाना होटल, थारू कम्युनिटी लज रिसोर्ट , हिमालय सेन्चुरी , होटेल नेचर एज , बरौली सामुदायिक होम स्टे लगायतले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्दै आएका छन् ।
पर्यटन समिति अध्यक्ष महतोका अनुसार रिसोर्टमा आएका पाहुनाका लागि वेलकम ड्रिङ्गस , खाजा, खाना देखि बेडरुममा पनि प्लाष्टिकको बोतल प्रयोग गरिदैन । वाटर फिल्टरबाट फिल्टर गरिएको पानीलाई फाइबर वा सिसाको बोटलमा भरेर सिसाको गिलास राखिदिने गरिएको छ । धेरैजसोलाई बुझाएपछि बुझ्ने गरेको एकादुई पाहुनाले मात्रै खुला पानी भनी खान सङ्कोच मान्ने गरेको महतोले बताउनुभयो । ‘कोहीकोही पाहुनाहरू खुला पानी सफा हुन्न कि भन्ने सोच राख्नुहुन्छ, बुझाउन खोज्दा पनि बुझ्नुहुन्न , मिनरल वाटर नै माग्नुहुन्छ, नभए त प्रायः सबैले फिल्टर गरेर राखेको पानी युज गर्नुहुन्छ ।’ महतोले भन्नुभयो ।
खानका लागि प्रयोग हुने भाँडाकुँडा मात्रै होइन , होटल सञ्चालनका लागि आवश्यक पर्ने अन्य सामग्रीमा पनि प्लाष्टिकको सट्टामा परम्परागत सामग्री प्रयोग गर्ने गरिएको महतोले बताउनुभयो ।
यस्तै पलाष्टिकको प्रयोग नगर्ने टाइगर टप्स थारू लजका म्यानेजर आशिक गुरुङ , अत्यधिक प्रयोग हुने प्लाष्टिकलाई बाध्यात्मक अवस्थामा मात्रै प्रयोग गर्ने गरिएको बताउनुहुन्छ । ‘हामीले प्लाष्टिकका भाँडाकुँडालाई पूर्ण रूपमै प्रयोग विहीन बनाएका छौँ । तर, बजारबाट आउने सामग्रीका झोला भने निषेश गर्न सकेका छैनौँ , हामीले एकदमै बाध्यात्मक अवस्थामा मात्रै प्लाष्टिकका झोला प्रयोग गछौँ नत्र हाम्रो लज पूर्ण रुपमा प्लाष्टिक प्रयोग निरुत्साहित अभियानमै छ ।’ गुरुङले भन्नुभयो ।
मानव जीवनलाई स्वस्थ्य राख्न र वातावरण स्वच्छ राख्नका लागि प्लाष्टिकको प्रयोग नगर्नु नै राम्रो मानिन्छ ।
प्लाष्टिकको प्रयोग नहुँदा वातावरण राम्रो हुने र आफू सँगै होटलमा आएका पाहुनाको स्वास्थ्यका लागि पनि राम्रो हुने भएपछि आफूहरूले प्लाष्टिकको प्रयोग गर्न छाडेको गुरुङले बताउनुभयो । त्यसमाथि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा प्लाष्टिकको प्रयोग गर्न पनि पाईंदैन । नीति कानूनको पनि पालना हुने उहाँले बताउनुभयो ।

नोटः कावासोतीको थारू गाउँ रिसोर्टमा प्रयोगमा आएको प्लाष्टिक रहित सामग्रीहरु

ताजा अपडेट

खोजी गर्नुहोस