
हुप्सेकोट । नवलपुरको हुप्सेकोट गाउँपालिका ३ मा रहेको विराट सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा ईश्वरी प्रसाद रेग्मी विजयी हुनुभएको छ ।
वनको नेतृत्व चयन गर्न हिजो निर्वाचन भएको थियो । अध्यक्ष पदका लागि ५ जना को उम्मेद्वारी परेको थियो । रेग्मीले आफ्ना निकटतम प्रतिद्वन्द्वी शोभाकान्त लामिछानेलाई पराजित गर्दै विजयी हुनुभएको हो ।
रेग्मीले २९६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी लामिछानेले १७६ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा ३३८ मत प्राप्त गर्दै चोलाकान्त तिवारी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी भीम बहादुर सुनारी मगरले २१४ मत प्राप्त गर्नुभयो । यस्तै सचिवमा तेजमाया पाण्डेले २८८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विन्दु थापाले २४६ मत पाउनुभयो । यसैगरी कोषाध्यक्षमा रिता भण्डारीले ३१४ सहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विष्णु तिमिल्सिनाले १८५ मत पाउनुभयो ।
यस्तै सदस्यहरूमा लक्ष्मी कार्की , काश बहादुर भट्ट क्षेत्री , चुडामणि पाण्डे , धनमाया कुमाल , बल बहादुर थापा , गज सिंह कुमाल , भविसरा फाल निर्वाचित हुनुभएको छ । चार जना सदस्यहरू भने निर्विरोध हुनुभएको थियो । तिलीसरा सोती , नवीन आले , दुर्गा देवी भण्डारी र तारा थापा निर्विरोध हुनुभएको हो ।
यस्तै लेखा समिति संयोजकमा लक्ष्मण सुवेदी , सदस्यहरूमा गुन बहादुर गुरुङ र सृजना बिक निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्य १५ जना र लेखा समिति सदस्य ३ जना गरी १८ जना पदाधिकारीका लागि निर्वाचन भएको हो । १८ पद मध्ये ४ जना सदस्य निर्विरोध निर्वाचित हुनुभयो भने, बाँकी १४ जना पदका लागि ३२ जनाको उम्मेद्वारी परेको थियो ।
अध्यक्ष पदका लागि ५ जना उपाध्यक्ष, कोषाध्यक्ष र सचिव पदका लागि २÷२ जना उम्मेद्वार निर्वाचनमा होमिएका थिए । यस्तै लेखा समिति संयोजकमा ३ जना तथा बाँकी सदस्यमा २÷२ जना उम्मेद्वार मैदानमा होमिएका थिए ।
वन समुहको ६७२ उपभोक्ताहरुमध्ये ६१४ जनाले मतदानमा सहभागि भएका थिए ।
