
नवलपुर । नवलपुरको देवचुली नगरपालिकालाई पोषणमैत्री नगरपालिका बनाउने कार्यको थालनी गरिएको छ ।
देवचुली नगरपालिका देशकै दोश्रो र गण्डकी प्रदेशको पहिलो बालमैत्री पालिका समेत हो । अब यस पालिकालाई पोषणमैत्री पालिका घोषणा गर्नेगरी काम अगाडि बढाइएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना , देवचुली नगरपालिकाको समन्वय तथा क्यानालनको सहयोगमा पोषणामैत्री स्थानीय शासन लागू गर्नका लागि यहाँ ‘न्यूटिलर्न परियोजना’ सञ्चालन गरिएको छ ।
बहु क्षेत्रीय पोषण कार्यक्रममा समावेश सात क्षेत्रहरू शासकीय प्रबन्ध क्षेत्र , महिला बालबालिका क्षेत्र , शिक्षा क्षेत्र , स्वास्थ्य क्षेत्र , कृषि विकास क्षेत्र , पशुपंक्षि विकास क्षेत्र र खानेपानी तथा सरसफाइ क्षेत्रका सम्बन्धित व्यक्तिहरू र प्रतेक वडाका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई बाल पोषण सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरिएको छ । मंसिर पाँच देखि आठ गतेसम्म चितवनको सौराहामा दोश्रो चरणको तालिम सम्पन्न भएको छ । भने पहिलो चरणको तालिम गत कात्तिक महिनामै सम्पन्न भएको थियो । चारदिनसम्म चलेको तालिमको समापनमा बोल्दै सहभागीहरूले देवचुलीलाई पोषणमैत्री पालिका बनाउनका लागि प्रतिबद्धता समेत गरेका छन् ।
देवचुली सातकी वडा अध्यक्ष भुमिसरा आलेले पोषणमैत्री पालिका बनाउनका लागि प्रतिबद्धता व्यक्त गर्दै पोषणका बारेमा जान्न र बुझ्न एकदमै जरुरी रहेको कुरा तालिम लिएपछि राम्ररी बझ्न पाएको बताउनुभयो । शरीरका लागि आवश्यक पोषकतत्वहरु के के हुन त भन्ने कुरा समुदायलाई बुझाउन जरुरी रहेछ, भन्ने बुरा तालिमबाट आफूले बुझेको भन्दै उहाँले अबका दिनमा वडाबाट पोषणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
तालिममा प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक सागर पराजुली तथा भूमिका निरौलाले सहजीकरण गर्दै बालबालिका ,महिला तथा किशोरकिशोरीहरूलाई कुपोषित हुन नदिन सन्तुलित आहार र नियमित सरसफाइ एकदमै जरुरी रहेको बताउनुभयो । साथै भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम तथा खोप कार्यक्रममा बालबालिकाको सहभागिता , नियमित रुपमा बच्चाको उचाइ , तौल तथा पोषण अवस्थाको जाँच र गर्भवती महिलाहरूले कम्तिमा आठपटक स्वास्थ्य जाँच तथा खोप पूर्ण लिएको छ,छैन सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभएको थियो ।
पोषणको क्षेत्रमा प्रत्यक्ष संलग्न भएर काम गर्ने सरोकारवालाहरूको माध्यमबाट समुदायमा पोषण सम्बन्धी सचेतना जगाउने र पोषणयुक्त आहार सेवन गर्ने वातावरण बनाउन दिवा खाजा , करेसावारी निर्माण , पशुजन्य उत्पादनमा आयआर्जनमुखी कार्य संगै स्वास्थ्य र सरसफाईलाई समेत जोड दिने गरी परियोजना तयार पारिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले जानकारी दिनुभयो ।
विषेश गरी महिला स्वास्थ्य स्वयमसेविकाको माध्यमबाट पालिकाको सबै टोलटोलमा पोषण सम्बन्धी जाानकारी पुर्याउने र सन्तुलित आहार सेवनमा जोेड दिने गरी परियोजनाले काम गर्ने अध्यक्ष पौडेलले बताउनुभयो । जसका लागि पालिकाको नौ वटा विद्यालयमा कक्षा ६ देखि आठ सम्मका बालबालिकाका लागि परियोजनाले दिवा खाजामा सहयोग गरेको उहाँले जानकारी दिनुभयो । यसैगरी पालिकाको पहाडी क्षेत्रमा पर्ने कृतिपुर , बन्दीपुर , बाह्रकोल लगायतका बस्तिहरुमा उन्नत जातका बाख्रा प्रदान गर्ने कार्य संगै करेसाबारी प्रबद्र्धनका कार्यक्रम पनि समावेश गरिएको उहाँले बताउनुभयो ।
परियेजनाकी कार्यक्रम संयोजक रीता थापाका अनुसार यो कार्यक्रम गण्डकी प्रदेशको पर्वत जिल्लाको विहादी गाउँपालिकामा सफल भएको कार्यक्रम हो । यसले समुदाय , सरकार र स्थानीय संघसंस्थाहरुको सहभागितामा बालबालिकाको पोषणा र शिक्षा प्रबद्र्धनमा सहयोग गर्नेछ ।
दुई वर्षसम्म चल्ने यस परियोनाबाट स्वस्थ्य खानपानको बानी विकास गरी सांस्कृतिक खनाविविधता तथा स्थानीय , प्रदेश र संघीय स्तरमा बालपोषणलाई प्राथमिकता दिने नीतिगत परिवर्तनहरु प्रदान गर्ने , स्वास्थ्य पोषण अभ्यासहरुको पैरवी र कार्यान्वय गर्न सरोकारवालाहरुलाई तालिम दिएर समुदायको क्षमता विकास गर्ने , मिडिया अभियानहरु र सरोकारवालाको संलग्नता मार्फत बाल पोषण र शिक्षा चेतना अभिवृद्धि गर्दै सहभागिता बढाउने र स्थानीय नेतृत्वलाई सशक्त बनाई दीर्घकालीन परियोजना प्रभावका लागि सहकार्यपूर्ण साझेदारीलाई प्रोत्साहन गर्ने उदेश्य लिइएको थापाले बताउनुभयो ।
जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्माले सरकारले लिएको दीगो विकास लक्ष्यलाई सफल बनाउनका लागि पनि यस कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । सरकारले सन २०३० सम्म नेपाललाई कुपोषण मुक्त बनाउने गरी सञ्चालन गरेको बहु क्षेत्रीय पोषण कार्यक्रमलाई यसले टेवा पुर्याउने बताउनुभयो । पोषण भनेपछि आम नागरिकमा दुई वर्ष मुनिका बालबालिका लाई मात्रै आवश्यक हुन्छ भन्ने बुझाई रहेको र त्यस बुझाईलाई चिर्दै पोषण सबैका लागि आवश्यक छ, तर विशेष गरी महिला र किशोरकिशोरीका लागि पनि उत्तिकै आवश्यक छ भन्ने कुरा समेत यस कार्यक्रम मार्फत समुदायमा बुझाउने शर्माले बताउनुभयो ।
