बगुवनमा, डुबान हुँदा ओत लाग्न टिनको टहरो

बगुवनमा, डुबान हुँदा ओत लाग्न टिनको टहरो

नवलपुर  । नारायणी नदीबाट नजिकै रहेको बगुवन गाउँ जहाँ मगर समुदायको बाहुल्यता छ । यहाँ २०५ घरधुरी बसोबास गर्दै आएका छन् ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका एकमा पर्ने बगुवन गाउँ पिछडिएको क्षेत्र हो । विनयी खोलामा पुल नहुँदा केही वर्ष अघिसम्म वर्षाको समयमा गाउँबाट आफ्नै पालिका दुम्किवास बजार आउन पनि विकल्प थिएन । डुङ्गाको भर थियो । तर अहिले झोलुङगे पुलले वर्षामा पनि आउजाउमा सहज त बनाएको छ । तर पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य खानेपानी जस्ता अत्यावश्यकीय आवश्यकताको पहुँच पूर्ण रुपमा पुग्न सकेको छैन ।
दक्षिणतर्फ नारायणी र उत्तर –पूर्व विनयी खोला अनि पश्चिमतर्फ मध्यवर्ती जङ्गल क्षेत्रले घेरिएको यस वस्तीमा वर्षामा वर्षेनी डुबानको समस्याबाट यहाँका स्थानीयले सास्ती बेहोर्दै आएका छन् । केही दिन अघि मात्रै नारायणीमा रेड अलर्ट बज्यो । जसले स्थानीय रातभर सुत्न सकेनन् । समतुल्ल बनेको नारायणी बस्तीमा आउने भयो भनेर रातभर जाग्राम बसे तर समयले साथ दियो नारायणी वस्ती पसेन । नारायणी बस्ती पसिहाल्छ कि भन्ने त्रासमा यहाँका स्थानीय चिन्तित छन् । जसका कारण यहाँका बासिन्दाले अस्थाई टिनको टहरो तयारी अवस्थामा राखेका छन् ।
वस्तीको पश्चिमतर्फ केही उच्च भागमा ( डाँडा ) जङ्गल क्षेत्र छ । जङ्गलको फेदीमा बनेको छ कालोपत्रे सडक अनि सडकको तल्तिर बगुवन बस्ती । त्यसै उच्च भागमा लस्करै बनेका छन् , टिनको टहरो । यो टहरो यहाँका बासिन्दाले यसै वर्ष निर्माण गरेका हुन् । फेदीमा घर भएका अधिकांशले डाँडामा टिनको टहरो निर्माण गरेका छन् । स्थानीय थमनसिंह चमाङ मगरले बाढी पसिहाल्यो भने ओत लाग्नका लागी अस्थाई टहरो निर्माण गरेको बताउनुभयो । ‘पोहोर साल ठूलो बाढी पस्यो घरको एकतलासम्म पानीले डुबायो । धेरै दिनसम्म घरभित्र बस्नै सकिएन , आफन्तकोमा बास बस्नुप¥यो त्यसैले अहिले त डाँडामा टहरो बनाएका छौँ । यहाँसम्म बाढी बस्दैन । घर ओबानो नहुँदासम्म टहरोमा बस्न मिल्छ ।’ मगरले भन्नुभयो । ‘अहिले त दाउरा , गाइवस्तुका दाना , धान राखेका छौँ यदी नारायणी बढ्यो र घरभित्र बढी पसिहाल्यो भने टहरोमा ओत लागेर खानसुत्न त पाइन्छ भनी सबै मिलेर टहरो बनाएका हौँ । ’
गत वर्ष असोज तेस्रो साता आएको बढीले बगुवन डुबानमा परेको थियो । घरभित्रको खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री पूर्णरूपमा भिजेर प्रयोग बिहीन भएको थियो । भने दुई सय हेक्टरमा पाकेको धान पूर्ण रुपमा नष्ट भएको थियो । यस वर्ष पनि असोजमा नै ठूलो वर्षा भइराखेको हुँदा अझै पनि बाढीको त्रासमा आफूहरु रहेको स्थानीय कर्ण बहादुर खनगाहाले बताउनुभयो । ‘यसपाली त उचो ठाउँमा टिनको टहरो बनाएका छौँ । बाढी पसिहाले अन्यत्र बास माग्नु पर्दैन त्यसै टहरोमा केही दिन काट्न सकिन्छ । ’ खनगाहाले भन्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस