
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ३, उदयटाँडी निवासी सामाजिक अभियन्ता समेत रहनुभएकी दिवगंत गोमा पौडेलको न्यायका लागि दबाब दिन गठित सङ्घर्ष समितिले विभिन्न माग राख्दै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयमा ध्यानाकर्षण गराएको छ ।
गत श्रावण ३० गते घर नजिकै श्रीमान् महेन्द्र पौडेलले छुरा प्रहार गरी श्रीमती गोमा पौडेलको हत्या गरेका थिए । उक्त घटनामा संलग्न श्रीमानलाई हदैसम्मको सजाय सहितको पाँच बुँदे माग राख्दै ध्यानाकर्षण गराइएको हो ।
विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवार र दिवगंत गोमा पौडेलको न्यायका लागि गठित विनयी त्रिवेणी गाउँपालिका स्तरीय सङ्घर्ष समिति संयोजक विष्णु हमालको नेतृत्वमा आएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मालाई ज्ञापन पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा स्व. गोमा पौडेलको हत्यारा श्रीमानलाई हदैसम्मको कानुनी कारबाही गर्न , घटनाको निष्पक्ष, छिटो र प्रभावकारी अनुसन्धान गर्न , पीडित परिवारलाई राहत, क्षतिपूर्ति र सुरक्षा उपलब्ध गराउन, महिला हिंसा रोक्न स्थायी संरचना निर्माण गर्न र समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न र यस्तो प्रकारका गम्भीर घटनाहरूमा शून्य सहनशीलताको नीति अपनाउन माग गरिएको छ ।
सङ्घर्ष समिति सदस्य शान्ति विकेले ध्यानाकर्षण पत्र वाचन गरेर सुनाउनु भई गाउँपालिका उपाध्यक्ष वैदवार र सङ्घर्ष समिति संयोजक हमालले संयुक्त रूपमा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मालाई बुझाउनुभएको थियो ।
पालिका उपाध्यक्ष वैदवारले समाजसेवामा सक्रिय, स्थानीय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएकी पौडेलको हत्या हुनु कुनै पनि संवेदनशील सरकारका लागि आँखामा पट्टी बाँधेर बस्न नमिल्ने बताउनुभयो । उहाँले सामाजिक न्याय, मानवअधिकार र महिलाको सुरक्षा सुनिश्चित गर्ने राज्यको प्रमुख जिम्मेवारी भएको हुँदा यस्ता घटनामा ढिलासुस्ती, अपराधीमाथि कमजोर व्यवहार वा पीडितप्रति वे–वास्ता हुन नहुने बताउनुभयो ।
पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी शर्माले प्रहरी प्रशासनबाट घटनाका बारेमा आवश्यक कानुनी प्रक्रिया अगाडी बढिसकेको हुँदा दोषीमाथि सजाय हुने कुरामा हकिकतैबाट चुक नहुने भन्दै सम्बन्धित मन्त्रालयसम्म ध्यानाकर्षण पत्र पु¥याउने बताउनुभयो ।
दिवगंत पौडेल पूर्व जनप्रतिनिधि, विनयी त्रिवेणी गाउँपालिका शिक्षा समिति सदस्य, अनेम सङ्घ विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष, बेनी महिला बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार, ग्रिन फाउन्डेसन नेपाल, नवलपुरका उपाध्यक्ष लगायत सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।
महिला अधिकारकै लागि सक्रिय भएर लाग्नुभएकी पौडेलको आफ्नै श्रीमानबाट क्रूरता पूर्वक भएको हत्याले अहिले गाउँ नै शोकमा डुबेको छ ।
सङ्घर्ष समितिले हत्याको विरोध गर्दै दबाबमूलक चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । जस अन्तरगत शुक्रवार त्रापन पत्र बुझाएको हो । भने बिहीबार दिवगंत पौडेलको सम्झनामा सर्दि, दुम्किबास र त्रिवेणीमा दीप प्रज्वलन गरिएको थियो । भदौ ८ गते विनयी त्रिवेणी गाउँपालिका भित्रका सम्पूर्ण महिलाहरूको उपस्थितिमा स्व. पौडेलको घर विनयी त्रिवेणी –३, उदयटाँडीमा श्रद्धाञ्जली कार्यक्रम गर्ने र, भदौ ९ गते विनयी त्रिवेणी गाउँपालिका , नवलपुर जिल्लाका प्रमुख राजनीतिक दल, जिल्लाबाट प्रदेशमा प्रतिनिधित्व गर्ने मन्त्री, विनयी त्रिवेणी गाउँपालिकाबाट सङ्घ र प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदलाई पौडेलको हत्यामा संलग्नलाई हदै सम्मको कारवाहीको माग गर्दै दबाबमूलक ज्ञापन पत्र बुझाउने र भदौ ११ गते महिलामाथि हुने सबै प्रकारका हिंसा विरुद्ध पुरुषहरूको प्रतिबद्धताका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने जनाइएको छ ।
