
कावासोती । सहमति संस्थाको आयोजनामा बहुसरोकारवालाहरुको ‘प्रकृतिमा आधारित समाधानमा’ छलफल तथा अन्तरक्रिया नवलपुरको गैँडाकोटमा बिहीबार भएको छ ।
कार्यक्रममा प्रकृतिसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्ने तथा विभिन्न सरोकारवालासरकारी तथा गैर सरकारी सङ्घसंस्थाहरूका प्रमुख तथा प्रतिनिधीहरुकोे सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति , चितवन राष्ट्रिय निकुञ्ज , डिभिजन वन कार्यालय नवलपुर , चुरे, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नवलपुर , कृषि ज्ञान केन्द्र नवलपुर , सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुर , खानेपानी महासङ्घ , जनप्रतिनिधि, मध्यवर्ती उपभोक्ता समिति, तथा सञ्चारकर्मीहरूको कार्यक्रममा सहभागिता रहेको थियो । 
कार्यक्रममा ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ संयोजक खेमराज खनालले सहमति संस्थाले अहिलेसम्म गरेका काम र आगामी योजनाहरूका बारेमा जानकारी गराउनुभएको थियो । परियोजना अन्तरगत विशेष गरी ‘प्रकृतिमा आधारित समाधानमा नै केन्द्रित रही जैविक बाँध निर्माण , खानेपानीको मुहान संरक्षण , बायोइन्जिनियरिङ , मिचाहा झार हटाउने , हरित वेल्ट निर्माण गर्ने , अग्नीरेखा निर्माण , र नदी सरसफाइ लगायतका काम गरेको खनालले जानकारी गराउनुभयो । नारायणी नदीमा पलाष्टिकको प्रयोग रोक्नका लागि समेत विभिन्न सङ्घसंस्था सहकार्य गर्दै देवघाटमा अभियान थालनी गरिएको र देवघाटदेखि गोलाघाटसम्म नदीसँगै हामी अभियान सञ्चालन गरी नदीलाई सफा राख्नका लागि कामहरू भएको बताउनुभयो । गएका वर्षमा गरिएका जैविक बाँध निर्माण र मुहान संरक्षणको कामले परिणामहरू पनि देखा पर्न थालेको उहाँको भनाई थियो । संस्थाले नवलपुरको गुन्द्रही र चितवनको खगेरी उपजलाधार क्षेत्रमा काम गरिरहेको भन्दै खनालले कार्य क्षेत्र अन्तरगत हुप्सेकोट गाउँपालिकामा पानीका मुहान संरक्षणले हिउँदको समयमा पनि पानी सञ्चित भएको , पहिरो रोकथाम भएको , वन हराभरा भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम नवलपुरका वरिष्ठ कृषि अधिकृत डा देवराज अधिकारीले प्रस्तुतीकरण राख्दै नवलपुर र देशका विभिन्न क्षेत्रमा विशेषगरी सुन्तला जात फलफूल खेतिमा प्रकृतिमा आधारित रहेर गरिएका समाधानका क्रियाकलापहरूका बारेमा चर्चा गर्नुभएको थियो । नवलपुरको गैँडाकोट १८ बुलिङटारमा गरिएको सुन्तला जात फलफूल खेतिमा किसानहरूले प्रयोग गर्दै आएको प्राकृतिक समाधान , जस्तै गोठे मलको प्रयोग पाखावारिमा पाइने , असुरो , तीतेपाती , निम पत्ता जस्ता जडीबुटी र गाई वस्तुको गहुँत मिश्रण गरी बनाइएको प्राकृतिक विषादीका बारेमा जानकारी गराउनुभएको थियो ।
यसै गरी भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँका जलाधार व्यवस्थापक अधिकृत प्रकाश गिरीले नवलपुरमा गत वर्ष भएका २० वटा योजनाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यालयले नवलपुरको कावासोती स्थित केरुङे खोला पत्थरे खोला , हुप्सेकोटको गिरुवारी खोला , गैँडाकोट , बुलिङटारमा ग्याबिन जाली लगाउने , बाँध बाँध्ने जस्ता काम सम्पन्न गरेको बताउनुभयो ।
यस्तै कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले चितवन राष्ट्रिय निकुञ्जमा जैविक विविधता संरक्षणका लागि गरिएको विभिन्न कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो । निकुञ्जभित्र हुने धेरै कामहरू प्रकृतिमा आधारित नै हुने गरेको उहाँको भनाई थियो । उहाँले जैविक विविधताको संरक्षण गर्न निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन , पोखरी निर्माण लगायतका काम गर्दै आएको साथै दुर्लभ वन्यजन्तुको संरक्षणका क्रियाकलाप समेत गर्दै आएको बताउनुभयो । निकुञ्जले गरेको यस्ता कामबाट जैविक विविधताको संरक्षण हुने बताउनुभयो ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले कार्यालयले चालु वर्षमा दुई करोड बढी बजेट प्राप्त गरेको र त्यसमध्ये कार्यालयबाट हुने काम न्यून हुने र सबै सामुदायिक वनहरू मार्फत नै गरिने जानकारी दिनुभयो ।
सहमतिले वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालको सहयोगमा संरक्षणमुखी कार्य गर्दै आएको छ ।
