द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान

द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान

नवलपुर ।  नवलपुरमा द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचानको कार्य सम्पन्न गरिएको छ ।
जिल्लाको आठ वटै पालिकामा द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्ने कार्य सम्पन्न भएको द्वन्द्व पीडित महिला सञ्जाल नवलपुरकी अध्यक्ष पार्वती सिग्देलले जानकारी दिनुभयो ।
नवलपुरको कावासोती नगरपालिकामा ९० जना, गैँडाकोट नगरपालिकामा ४९ जना, देवचुली नगरपालिकामा ५४ जना, मध्यविन्दु नगरपालिकामा ४५ जना, विनयी त्रिवेणी गाउँपालिकामा ४१ जना , हुप्सेकोट गाउँपालिकामा २३ जना , बुलिङ्टार गाउँपालिकामा १७ जना र बौदीकाली गाउँपालिकामा २० जना गरी कूल ३३९ जना द्वन्द्व प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान गरिएको सञ्जालकी अध्यक्ष सिग्देलले बताउनुभयो ।
द्वन्द्व पीडित महिला सञ्जाल, सम्बन्धित पालिका , विजय विकास स्रोत केन्द्र तथा द स्टोरी किचन, नागरिक आवाज लगायतका संघसंस्था समेतको पहलमा आठ वटै पालिकामा पुगी छलफल तथा समीक्षा गर्दै समष्टिगत आवश्यकता पहिचानको कार्य सम्पन्न गरिएको सिग्देलले बताउनुभयो ।

सिग्देलका अनुसार समष्टिगत आवश्यकतामा मुख्य गरी निःशुल्क शिक्षा , स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने माग द्वन्द्व पीडितहरूको छ । त्यसपछि सिपमूलक तालिम उपलब्ध हुनुपर्ने , जिल्ला स्तरीय सहिद स्मृति पार्क निर्माण गरिनुपर्ने , सेवा सुविधा सहितको परिचयपत्रको माग , समाजमा सम्मानित भएर बाच्न पाउने आधार तयार गरिनुपर्ने , कृषि पशु तथा व्यापारको माध्यमबाट आयआर्जनमा जोडिन सहयोग गरिनुपर्ने , द्वन्द्व पीडितहरू हरेक सामाजिक काममा सहभागिता जनाउन पाउने वातावरण तयार गर्नुपर्ने तथा कानूनी सहयोग लगायतका मुख्य आवश्यकता पहिचान भएको छ ।
उहाँले आवश्यकता पहिचान गर्ने मात्रै नभई आवश्यकता पुरा गर्नतर्फ पनिसरकारले ध्यान दिनका लागि अनुरोध समेत गर्नुभएको छ ।
महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नम्बर १३२५ र १८२० को कार्यान्वयन सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाद्धारा गठित जिल्ला निर्देशक समिति, द्वन्द्व पीडित महिला सञ्जाल र विजय विकास स्रोत केन्द्रको ‘न्यायका लागि साहस परियोजना’ तथा द स्टोरी किचन समेतको पहलमा जिल्लामा द्वन्द्व पीडित तथा प्रभावितहरूको क्षेत्रमा विभिन्न कामहरू हुँदै आएको छ ।
जिल्लामा द्वन्द्व प्रभावितहरूका लागि कार्यक्रम नै सञ्चालन भएका कारण केही राम्रा कामहरूको सुरुआत गर्न सकिएको विजय विकास स्रोत केन्द्रको ‘न्यायका लागि साहस परियोजना’ कार्यक्रम संयोजक नर्मदा पाण्डेको भनाई छ । पालिकाहरूमा रहेका द्वन्द्व पीडितको तथ्याङ्क सङ्कलन र आवश्यकता पहिचान गरी अनलाइन इन्ट्री समेत गर्ने काम भएको पाण्डेले जानकारी दिनुभयो । द्वन्द्व प्रभावितहरूको तथ्याङ्क सङ्कलन गरिएकै कारण पालिकाहरूले द्वन्द्व प्रभावित परिवारका लागि नीति कार्यक्रम र बजेट पनि छुट्टाउने काम भएको उहाँले बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाईले जिल्लाका २० द्वन्द्व पीडित बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गरेको जिल्ला निर्देशक समिति संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले जानकारी दिनुभयो ।
द्वन्द्व प्रभावित परिवारहरूका लागि सहिद सम्मान कार्यक्रम तथा जिल्ला प्रशासन कार्यालयमा ६५ जना द्वन्द्व पीडितहरूको प्रमाणीकरणको काम द्वन्द्व पीडित महिला सञ्जालको सहजीकरणमा भएको अध्यक्ष सिग्देलले बताउनुभयो । त्यसबाहेक मध्यविन्दु नगरपालिकाले १० जना द्वन्द्व पीडितहरूलाई वारिष्ठा तालिम प्रदान गरेको र कावासोती नगरपालिकाले द्वन्द्व पीडितहरूका लागि कानूनी सचेतना प्रदान गर्ने काम गरेको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस