कावासोती १२ मा निःशुल्क फुटबल प्रशिक्षण

कावासोती १२  मा निःशुल्क फुटबल प्रशिक्षण

नवलपुर ।  खेलाडी उत्पादन गर्ने उद्देश्यले नवलपरासी पूर्व (नवलपुरको) कावासोतीमा निःशुल्क रूपमा फुटबल खेल प्रशिक्षण सञ्चालन गरिएको छ ।
कावासोती नगरपालिका वडा नम्बर १२ र डाइमण्ड युथ सोसाइटीको सहकार्यमा राज मन्दिर खेल मैदानमा प्रशिक्षण चलिरहेको छ । प्रशिक्षणमा कावासोती ११ , १२ र १३ नम्बर वडाका गरी ४० जना बालबालिका र किशोरकिशोरीहरु नियमित रूपमा सहभागी हुँदै आएका छन् ।
कावासोती १२ लाई कार्यक्षेत्र बनाएर स्थापना भएको डायमण्ड युथ सोसाइटीले विगत देखि नै विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । संस्थामा पनि धेरै खेलाडीहरू आबद्ध छन् । जसले गर्दा खेल क्षेत्रको विकास र अहिलेको नयाँ पुस्तालाई खेलप्रति आकर्षित गर्न वडासँग समन्वय गरी निःशुल्क प्रशिक्षण सञ्चालन गरिएको संस्थाका अध्यक्ष लीलामणि खनालले जानकारी दिनुभयो । ‘हामीले वडासँग सरसल्लाह गरेऊ, अनि अभिभावकहरूलाई पनि प्रत्यक्ष भेटेर प्रशिक्षणका बारेमा बुझायौ । दुई जना कोचसँग पनि समन्वय गरेऊ, उहाँहरूले पनि निःशुल्क रूपमै प्रशिक्षण दिन तयार हुनुभयो । अनि हामीले सुरु गरेऊ ।’ बालबालिकाहरू पनि निकै उत्साहित भएर प्रशिक्षणमा सहभागी हुँदै आएको अध्यक्ष खनालले बताउनुभयो । ‘अभिभावकहरू पनि खुसी हुनुहुन्छ । घरमा हुँदा मोवाइलमै व्यस्त हुन्थे ,अहिले बिहान प्रशिक्षण लिन्छन् ,घर आएर फ्रेस भई, स्कुल जान्छन् भन्नुहुन्छ । यो काम सफल भएको महसुस भएको छ ।’ खनालले भन्नुभयो । 
दैनिक बिहान ६ बजेदेखि आठ बजेसम्म प्रशिक्षणको समय तोकिएको छ । प्रशिक्षक (कोच) श्याम थापा र जगत् नारायण थनेतले प्रशिक्षार्थीहरूलाई खेलका विभिन्न तरीकाका बारेमा जानकारी प्रदान गर्दै आउनुभएको छ । जुनियर लेबल १२ वर्ष भन्दा तल र १२ वर्ष भन्दा माथि गरी दुई समूह बनाएर प्रशिक्षण प्रदान गर्दै आएको प्रशिक्षक श्याम थनेतले बताउनुभयो । उनीहरूलाई जिरो लेबलबाट सिकाइराखेको उहाँले बताउनुभयो । फिजिकल , स्पिड , पासिङ, रिसिभिङ, टर्निङ , फिनिसिङलाई क्रमगत रूपमा सिकाउने काम गर्दै आएको थनेतले जानकारी दिनुभयो ।
प्रशिक्षणमा सहभागी भएका प्रशिक्षार्थी पनि निकै उत्साहित देखिन्थे । कावासोती–१३ निवासी रितु राई मगरले निःशुल्क रूपमा प्रशिक्षण लिन पाउँदा खुसी लागेको बताउनुभयो । ‘कति ठाउँमा त सिक्नको लागि पैसा तिर्नुपर्छ तर हामीले यहाँ निःशुल्क रूपमा सिक्न पाएका छौँ । यो हाम्रो लागि ठुलो अवसर हो , यहाँ आएपछि फुटबल सम्बन्धी धेरै नयाँ –नयाँ कुराहरू जान्न र प्रत्यक्ष रूपमा सिक्न पाउँदा म निकै उत्साहित पनि छु । भविष्यमा राष्ट्रिय खेलाडी बन्ने र खेलकै क्षेत्रबाट आफ्नो गाउँ ठाउँ र देशको नाम राख्ने लक्ष्य पनि लिएको छु ।’ मगरले भन्नुभयो ।
यस्तै कावासोती १२ का अर्का सहभागी रविन नेपालीले पनि निःशुल्क रूपमा प्रशिक्षण लिन पाउँदा आफ्नो सपना पुरा गर्नका लागि बाटो खुलेको अनुभव सुनाउनुभयो । विद्यालयमा समेत विभिन्न प्रतियोगितामा सहभागी हुँदै आउनुभएका उहाँले प्रशिक्षणमा आएपछि फुटबल खेल खेल्नका लागि आवश्यक पर्ने धेरै कुराहरू सिक्ने अवसर पाएको बताउनुभयो ।
प्रशिक्षणमा दैनिक रूपमा वडा अध्यक्ष ध्रुव खनाल (दिपेश) समेत सहभागी भई सिकाइ प्रदान गर्दै आउनुभएको छ । पूर्व खेलाडी समेत रहनुभएका उहाँले बालबलिकाहरुलाई हौसला प्रदान गर्दै प्रशिक्षण प्रदान गर्नुहुन्छ । आफ्नो वडा सँगै पालिकाभित्र राम्रा र उत्कृष्ट खेलाडी उत्पादन गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी बनाउने लक्ष्य समेत आफ्नो वडाले लिएको बताउनुभयो ।
प्रशिक्षणका लागि आवश्यक पर्ने खेलकुदका सामग्रीहरू केही संस्थासँगै रहेको र केही जिल्ला खेलकुद विकास समिति , जिल्ला फुटबल सङ्घ लगायतका संस्थाहरूले सहयोग गरेको संस्थाका सचिव नैनाराम थनेतले बताउनुभयो । यहाँ कति समय सिकाउने भनेर प्रशिक्षणको अवधि तोकिएको समेत छैन ् । जबसम्म प्रशिक्षार्थीहरू सहभागी हुन इच्छा राख्छन् तबसम्म प्रशिक्षण जारी रहने उहाँको भनाई छ ।

 

 

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस