वन पैदावार उद्योग व्यवसायीले गरे वृक्षरोपण

वन पैदावार उद्योग व्यवसायीले गरे वृक्षरोपण

नवलपुर ।  राष्ट्रपति रामचन्द्र पौडेलले वृक्षरोपण गर्नुभएको स्थानमा शनिवार फलफूलजन्य रुखविरुवाको वृक्षरोपण गरिएको छ ।
नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ नवलपुरको आयोजनामा शनिवार एक सय वटा फलफूलका बिरुवा रोपिएको हो । आँप , कटहर , अमला , बेल , तेज पत्ता लगायतका बिरुवाको वृक्षरोपण गरिएको सङ्घका जिल्ला अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । संस्थाले विगतमा पनि वृक्षरोपणको कार्यक्रम गर्दै आएको र यसपालि कावासोती तीनमा रहेको ज्योतिकुञ्ज सामुदायिक वन क्षेत्रको खाली जग्गामा वृक्ष रोपण गरिएको उहाँले बताउनुभयो । चुरे दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले वृक्षरोपण गरेको क्षेत्रमा मञ्च तथा भान्छा घर निर्माण गरिएको क्षेत्र खाली रहेकोले सोही क्षेत्रमा व्यवसायी सङ्घले वृक्षरोपण गरेको सापकोटाले बताउनुभयो । उहाँले आफूहरूले वृक्षरोपण मात्र गरेर छाड्ने नभई बेलाबखतमा रेखदेखका लागि आउने र बिरुवा संरक्षणमा समेत ध्यान दिने प्रतिबद्धता जनाउनुभयो ।
डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले बेलको बिरुवा रोपेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । त्यसपछि सबै सहभागी उद्योगी व्यवसायी तथा अतिथिहरूले समेत वृक्षरोपण गर्नुभयो ।
वृक्षरोपण पछिको समापन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले उद्योगी व्यवसायीहरूले वृक्षरोपण गर्ने भनी जानकारी गराएपछि आफूहरूले ज्योतिकुञ्ज सामुदायिक वनलाई उपयुक्त हुन्छ भनी स्थान तय गरेको बताउनुभयो । राष्ट्रपति वृक्षरोपण गरेको र तारबार भएको स्थान भएको हुँदा रोपिएको बिरुवाको संरक्षण हुने उहाँले बताउनुभयो । सृनाद्धार रेखदेख समेत हुने गोडमेल पनि हुने हुँदा यहाँ गरिएको वृक्षरोपण सत प्रतिशत संरक्षण हुन्छ भन्नेमा आफूहरू विश्वस्त रहेको समेत उहाँले बताउनुभएको थियो । कलमी गरेका फलफूलका बिरुवा रोपिएको हुँदा छोटो समयमा नै उत्पादन समेत दिन सुरु गर्ने भन्दै उहाँले यहाँ उत्पादन भएका फलफूलबाट सामुदायिक वनले आयआर्जन समेत गर्न सक्ने बताउनुभयो । अधिकारीले ज्योतिकुञ्ज वनले यहाँ रोपिएका बिरुवाको संरक्षणको अपनत्व लिएर संरक्षणमा लाग्न समेत अनुरोध गर्नुभयो ।
कार्यक्रममा बोल्दै ग्रिन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेले वृक्षरोपण मात्रै ठुलो कुरा भन्दा पनि बिरुवाको संरक्षणको पाटो महत्त्वपूर्ण रहेकोमा जोड दिनुभएको थियो । उपभोक्ता मात्रै होइन व्यवसायीहरू पनि वन वन संरक्षण र डढेलो नियन्त्रण लगायतका कार्यमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको र वन संरक्षणमा हातेमालो गर्ने कार्य गर्दै आउनुभएको उहाँले बताउनुभयो ।
ज्योतिकुञ्ज सामुदायिक वनका सह सचिव बाबुराम मरासिनीले वृक्षरोपण गरिएको बिरुवाको संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले सामुदायिक वनको सिमानामा रहेको केही खाली जग्गाको संरक्षण गर्न जरुरी रहेको हुँदा तार बारको व्यवस्था गर्नका लागि समेत अनुरोध गर्नुभएको थियो ।
सहभागीहरूलाई धन्यावाद ज्ञापन गर्दै नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ नवलपुरको उपाध्यक्ष बालकृष्ण पाण्डेले आफूहरूले आगामी दिनमा समेत अन्य स्थानहरूमा वृक्षरोपणको कार्यलाई निरन्तरता दिँदै जाने बताउनुभयो । साथै उहाँले सङ्घले बिरुवा नमरोस् र राम्रोसँग हुर्किन सकोस् भनी जेसीबि मार्फत खाल्डो खनेर , माटोले पुरेर गाई वस्तुको मल समेत राखे वृक्षरोपणको कार्य गरेको जानकारी दिनुभयो । राम्रा जात छिटै उत्पादन दिन सकोस् भनी फलफूलका बिरुवाहरू चितवनबाट ल्याइएको समेत बताउनुभयो ।
सङ्घका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ नवलपुरका उपाध्यक्ष सुशील कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । भने कार्यालय सचिव खेम नारायण महतोले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा वन पैदावार उद्योगी व्यवसायीहरू तथा चोरमारा शव डिभिजन वन कार्यालय वन अधिकृत भेष बहादुर महतो , डिभिजन वन कार्यालयका वन अधिकृत मधु सुधन लामिछाने लगायतको सहभागिता रहेको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस