
नवलपुर । नवलपरासी पूर्व (नवलपुरमा) चालकका लापवाहीका कारण सवारी दुर्घटना बढी हुने गरेको तथ्याङ्कले देखाएको छ ।
त्यस मध्य पनि सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको गत आर्थिक वर्ष २०८१÷०८२ को तथ्याङ्कमा उल्लेख छ ।
गत वर्ष जिल्लामा भएका कूल ११० वटा दुर्घटनामा, चालकको लापवाहीको कारण ९६ वटा सवारी दुर्घटना भएको र ६० वटा दुर्घटना तीव्र गतिका कारण भएको कार्यालय प्रमुख जनकराज बन्जाराले जानकारी दिनुभयो । त्यसपछि मादक पदार्थ सेवन गरी १६ वटा , सवारी चालक अनुमति पत्र नभएका १५ वटा र अन्य एउटा गरी चालकका लापवाहीकै कारण ९६ वटा दुर्घटना निम्तिएको कार्यालय प्रमुख बन्जाराले बताउनुभयो । ११० मध्य १६ वटा घटना सवारी साधन , यात्रु र सडकको अवस्थाका कारण घटेको उहाँको भनाई छ । अघिल्लो आर्थिक वर्षमा पनि सबैभन्दा बढी चालककै लापवाहीका कारण सवारी दुर्घटना भएको तथ्याङ्क छ । अघिल्लो आर्थिक वर्षमा भएको १३५ वटा दुर्घटनामा १२५ वटा दुर्घटना त चालकको लापरबाहीकै कारण भएको देखिएको छ । जस मध्य तीव्र गतिका कारण ६४ वटा दुर्घटना भएका छन् ।
तीव्र गतिमा गुड्नेमा दुई पांग्रे सवारी मोटरसाइकल र जीपकार लगायतका प्राइभेट सवारीहरू बढी रहेको बन्जाराले बताउनुभयो ।
गत वर्ष जिल्लामा भएको ११० वटा सवारी साधन दुर्घटनाबाट ४२ जनाले ज्यान गुमाएका छन् । ६९ जना गम्भीर घाइते भएका छन् भने , ८८ जना सामान्य घाइते भएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा भन्दा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा १३५ वटा दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका थिए । ७९ जना गम्भीर घाइते र ९९ जना ७८ जना सामान्य घाइते भएका थिए । कार्यालय प्रमुख बन्जाराका अनुसार अहिले सडकको अवस्थामा सुधार आएका कारण दुर्घटनामा कमी आएको हो । ‘अघिल्लो वर्ष बुटवल–नारायणगढ सडकमा कालोपत्रे भएको थिएन , सडकको अवस्था धेरै बिग्रिएको थियो , धेरै खाल्डाखुल्डी थिए । जसले गर्दा दुर्घटना बढी भएको हो । अहिले नवलपुर खण्डको दाउन्ने बाहेक अधिकांश सडक कालोपत्रे भइसेकेको छ । यसले पनि दुर्घटनामा कमी आएको हो ।’ बन्जाराले भन्नुभयो ।
गत आर्थिक वर्षमा भएका सवारी दुर्घटनामा परेर मृत्यु हुनेहरूमा पुरुषको सङ्ख्या बढी छ । पुरुष ३३ जना छन् । भने ७ जना महिला र दुई जना बालक हुन् । दुर्घटनामा परेका सवारी साधन मध्य सबैभन्दा धेरै मोटरसाइकलको सङ्ख्या छ । कूल १४८ वटा सवारी साधन मध्य ८२ वटा मोटरसाइकल दुर्घटनामा परेको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ ।
