
नवलपुर । जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजनामा अन्डर सेभेन्टिन महिला फुटबल खेलाडी छनौट कार्य आइतबार सम्पन्न भएको छ ।
कावासोती १२ मा रहेको डायमण्ड यूथ सोसाइटीको खेल मैदानमा भएको छनौटमा १४ जना महिला खेलाडी छनौट गरिएको जिल्ला अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो । जिल्लाको कावासोती , मध्यविन्दु , देवचुली र गैंडाकोट नगरपालिका तथा विनयी त्रिवेणी गाउँपालिकाबाट गरी उमेर समूह अनुसार १४ जना खेलाडी छनौट गरिएको अध्यक्ष पुनले बताउनुभएको छ । जिल्लाभरका ४५ जना महिला खेलाडीहरूबाट १४ जना छनौट गरिएको हो ।
जिल्लाबाट छनौट भएकाहरू यही असार ३१ गते र साउन एक गते प्रदेशमा छनौट हुनेछन् । र प्रदेशबाट छनौट भएकाहरू साउन चार, पाँच र छ गते केन्द्रमा छनौट हुनेछन् । केन्द्रबाट छनौट गरी राष्ट्रिय टिम तयार पारी बन्द प्रशिक्षणमा राखिने अध्यक्ष पुनले बताउनुभएको छ । उनीहरूले आगामी भदौमा भुटानमा हुन गइरहेको अन्डर सेभेन्टिन महिला च्याम्पियनसिपको प्रतियोगितामा खेल्नेछन् ।
