
नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले ४८ सालदेखि अल्झिएको अस्पताल स्तरोन्नतिको काम आफ्नो पालामा अगाडी बढाएको बताउनुभएको छ ।
देवचुली नगरपालिकामा मङ्गलवार प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले आयोजना गरेको नवलपरासी पूर्व (नवलपुर) जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाठकले सो कुरा बताउनुभएको हो । मन्त्री पाठकले भन्नुभयो – ‘हामीले अड्चालिस सालदेखि अस्पतालहरूको स्तरोन्नति गर्न सकेका थिएनौ , त्यो अल्झेको अल्झेइ थियो ,त्यो आँट कसैले गर्न सकेको थिएन । विभिन्न बहानामा अस्पतालहरूको स्तरोन्नति गर्नुपर्ने कुरालाई टारिएको थियो । म मन्त्री भइसकेपछि मुख्यमन्त्री तथा सरोकारवालासंग कुरा अगाडी बढाए , आज स्तरोन्नतिको काम गर्न सफल भएका छौँ । ’
उहाँले अहिले प्रदेशका दुई आयुर्वेद सहित १३ वटा अस्पतालको स्तरोन्नति गरिएको बताउनुभयो । उहाँले नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ शैय्याबाट एक सय शैय्या बनाइएको भन्दै अब यहाँ त्यसै अनुसारको सेवा सुविधा र जनशक्ति उपलब्ध गराउने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभयो । ‘हामीले यसै वर्षको बजेटमा तीन वटा सिटी स्क्यान मेसिन किन्ने कार्यक्रम अघि सारेका छौँ त्यस मध्य एउटा सिटी स्क्यान मध्यविन्दु अस्पताललाई दिन्छौ । ’ मन्त्री पाठकले भन्नुभयो ।
स्वास्थ्यकर्मीहरूको सेवा सुविधाका सन्दर्भमा कुरा गर्दै गण्डकी यसै गरी मन्त्री पाठकले प्रदेश स्वास्थ्य मन्त्रालयले कानुन मै व्यवस्था गरेर कर्मचारी प्रोत्साहन गर्न चाहेको उल्लेख गर्नुभयो । जनस्वास्थ्य ऐन निर्माण गरेर संसद्मा पेश गरेर अहिले विषयगत समितिमा छलफलमा गएको जानकारी गराउनुभयो । ‘अहिले स्वास्थ्यकर्मीहरू दुर्गम क्षेत्रमा जानै चाहनुहुन्छ , किन चाहानुहुन्नत भन्दा सुगम र दुर्गम जहाँ गएर काम गरे पनि सुविधा एउटै छ अनि किन दुर्गममा जान खोज्नुहुन्छ त त्यसैले हामीले कानुन नै निर्माण गरेर दुर्गम क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई विशेष सुविधा उपलब्ध गराउने छौँ । ’
फरक प्रसङ्ग कोट्याउँदै मन्त्री पाठकले देचुलीमा सङ्घीय सरकारले ट्रमा सेन्टर बनाउने कुराको विरोध समेत गर्नुभयो । ‘मैलै सुने ट्रमा सेन्टर बनाउन जग्गाको काम अगि बढेको छ रे जग्गा खरिद गरेर मात्रै ट्रमा सेन्टर बन्छ ? ट्रमा सेन्टरमा कति जनशक्ति चाहिन्छ , कति बजेट चाहिन्छ भन्ने कुराको हेक्का छ कि छैन ? जसले ट्रमा सेन्टर बनाउने भन्दै हिँड्नुभएको छ उहाँलाई नै सुनाइदिए हुन्छ एउटा ट्रमा सेन्टर निर्माण गर्न तीन अर्ब बजेट खर्च हुन्छ , त्यो भन्दा मध्यविन्दु अस्पतालमा नै बनाउन पहल गर्नुस् यहाँ साठी सत्तरी करोड पैसा दियो भने ट्रमा सेन्टर बन्न सक्छ , छिटो पनि हुन्छ , सबैलाई पायक पनि पर्छ ।’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव तथा प्रदेश खोप समन्वय समितिका अध्यक्ष डा.विश्व बन्धु बगालेले खोप कार्यक्रमले विभिन्न प्रकारका रोग लाग्नबाट बचाउने हुँदा कुनै पनि बालबालिका नछुट्ने गरी खोप कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो । अहिले विभिन्न दातृ निकायको सहयोगमा खोप कार्यक्रम सञ्चालन भइरहेको भन्दै उहाँले भोलिका दिनमा सहयोग प्राप्त नभए स्थानीय सरकारदेखि सबै सरकारले बाटोघाटो पुलपुलेसा बनाउन छोडेर खोप कार्यक्रममा बजेट राखेरै भएपनि खोप कार्यक्रम सफल बनाउनुपर्ने उहाँको जोड थियो ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शैलेन्द्र कुमार सिंहले जिल्लाका खोप लगाउने उमेर समूहका १३ हजार ९७४ जना बालबालिकालाई पूर्ण खोप लगाइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्य सम्पन्न भएको बताउनुभएको थियो । यस क्रममा छुटेका ४५ जना बालबालिकालाई समेत खाजी अभियान माफर्त खोप लगाइएको उहाँले जनकारी दिनुभयो ।
जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका खोप फोकल पर्सन खरेल प्रसाद चौधरीले सहजीकरण गर्नुभ्एके थियो ।
कार्यक्रममा जिल्ला समनवय समिति नवलपुरका उपप्रमुख शकुन्तला लम्साल , सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा , नेपाली काग्रेस जिल्ला सचिव होमराज रानाभाट , नेकपा एमाले जिल्ला कमिटि सदस्य भोजराज दाहाल , नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृष्ण शर्मा पराजुली लगायतले बोल्दै पूर्ण खोप अभियानलाई दिगोपना बनाई निरन्तर रुपमा सफल पार्न आफ्नो आफ्नो ठाउँबाट सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाउनुभएको थियो ।
