कावासोतीमा न्यायिक समितिहरूबिच अन्तरक्रिया तथा प्रशिक्षण

कावासोतीमा न्यायिक समितिहरूबिच अन्तरक्रिया तथा प्रशिक्षण

कावासोती  ।  कावासोती नगरपालिकाले अन्तर पालिका स्तरीय न्याय सम्बन्धी न्यायिक समितिहरूबिच अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
जिल्लामा रहेका आठ वटै पालिकाका न्यायिक समितिबाट हुने न्याय सम्पादनको काममा एकरूपता ल्याउन र सिकाई आदान प्रदान गर्न तालिमको आयोजना गरिएको कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतले बताउनुभयो ।
तालिममा जिल्ला अदालत नवलपुरका न्यायाधीश कमल प्रसाद ज्ञवालीले न्यायिक निर्णय र फैसला कार्यान्वयन सम्बन्धी प्रस्तुति करण गर्नुभएको थियो । उहाँले न्यायिक समितिले गरेका सबै निर्णय सदर हुन्छ भन्ने सोच राख्न नहुने बताउनुभयो । अदालतबाट भएका निर्णयहरू त उल्टिन सक्छन् भने न्यायिक समितिले गरेको निर्णय अकाट्य हुन्छ भन्ने मान्यता राखेर काम गर्न नहुने तर्क गर्नुभयो । न्याय सम्पादन गर्दा आफ्नो अधिकार क्षेत्र हेरी कानून सम्मत सबुत प्रमाण जुटाइ कानूनी रित सबै पु¥याएर मात्रै निर्णय गर्न समेत उहाँले सुझाव दिनुभयो ।

यस्तै कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले स्थानीय तहको अधिकार , न्यायिक समिति , नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन सम्बन्धी प्रस्तुति करण राख्नुभएको थियो । उहाँले न्यायिक समितिबाट कार्य सम्पादन हुन थालेपछि न्यायमा नागरिकको सहज र सरल रूपमा पहुँच वृद्धि भएको , विवादहरूको शीघ्र र सरल रूपमा समाधान भएको , नियमित अदालतको कार्य बोझ घटेको , अदालतमा मुद्दाको चाप कम भएको , कम खर्च र समयमा न्याय प्रदान गर्न सकिएको बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा अधिवक्ता गणेश सापकोटाले आफ्नो प्रस्तुतीकरण गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को न्याय सम्बन्धी व्यवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले न्यायिक समितिले गरेका कार्यहरूले मेलमिलाप गरी स्थानीय स्तरमै मुद्धा मामिला मिलाउने काम भए पनि कार्यान्वयनमा भने समस्या देखिएको बताउनुभएको थियो । कार्यान्वयनको पाटोलाई कसरी अगाडी बढाउन सकिन्छ त भन्ने बारेमा समेत उहाँले चर्चा गर्नुभयो ।
यस्तै अर्का सहजकर्ता पूर्व न्यायाधीश ऋषि अधिकारीले कुनै पनि मुद्धा मामिलामा प्रमाण जुट्ने पूरा विवरणहरू भर्नुपर्ने बताउनुभयो । पालिकामा रहेका न्यायिक सहजकर्ताहरुले फरम्याट अनुसार सबै विवरण भरेर सबुत प्रमाण जुटाउने कार्य गर्न आग्रह गर्नुभयो । कतिपय अवस्थामा फरम्याट समेत राम्ररी भरेर नराख्ने गरेका पाइएको भन्दै उहाँले त्यस्ता कार्यबाट पछि आफैलाई गाह्रो पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी भएका न्यायिक समितिका सदस्यहरूले न्यायिक समितिमा देखिएको सबैभन्दा गाह्रो समस्या भनेको जग्गाको समस्या रहेको गुनासो व्यक्त गर्नुभएको थियो । पुर्खादेखि सार्वजनिक बाटो र कुलोका रूपमा प्रयोग हुँदै आएका जग्गालाई वर्षौँपछि व्यक्तिले आफ्नो भनेर बाटो नै बन्द गर्ने कुलो पुरिदिने काम समेत गरेको भन्दै यस्ता विवादमा अदालतले सहजीकरण गरिदिन समेत अनुरोध गर्नुभएको थियो ।
नगर उपप्रमुख फूल कुमारी थनेतको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति सदस्य बसन्ती कुँवर केसीले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी , गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला , मध्यविन्दु नगरपालिका उपप्रमुख पूर्णकला चौधरी , हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्णसिंह राना , विनयी त्रिवेणी गाउँपालिका उपाध्यक्ष भगवती वैदवार , बौदीकाली गाउँपालिका उपाध्यक्ष डिल कुमारी केसी सारू मगर , बुलिङगटार गाउँपालिका उपाध्यक्ष दिलमाया राना लगायतको सहभागिता रहेको थियो ।
कावासोती नगरपालिकाले यसरी सबै पालिकालाई समेटेर अनुभव आदान प्रदान सँगै न्याय सम्पादन गर्न सहज पु¥याउन प्रशिक्षण समेत प्रदान गरेकोमा धन्यावाद व्यक्त गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस