नवलपुर । कालीगण्डकी कोरिडोरलाई सडकका रूपमा मात्रै नभई उत्पादनसँग जोड्ने अभियानमा प्रदेश सरकार लागेको गण्डकी प्रदेशकी कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले बताउनुभएको छ ।
जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार कावासोतीमा आयोजना गरेको आठौँ जिल्ला सभामा सम्बोधन गर्दै मन्त्री जिसीले भन्नुभयो । ‘कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम मार्फत कालीगण्डकी कोरिडोरलाई कृषि उत्पादनसँग जोड्नका लागि बजेट विनियोजन गरेको छ । गाडी हिँड्ने बाटोका रूपमा मात्रै होइन यहाँबाट उत्पादन भएका कृषि उपजलाई ट्रकका ट्रक लोड गरेर बजार पठाउने माध्यमका रूपमा लिएका छौँ त्यसै अनुसार हामीले बजेट ल्याएका छौँ । ’
कृषि क्षेत्रको विकासका लागि स्थानीय सरकारसँग साझेदारीका कार्यक्रम समेत नीति कार्यक्रमै राखिएको बताउनुहुँदै मन्त्री श्रेष्ठले भन्नुभयो । ‘स्थानीय सरकार भनेको जनताको नजिकको सरकार हो , त्यसैले जबसम्म स्थानीय सरकार बलियो हुँदैन तबसम्म समृद्धि हासिल गर्न सकिँदैन , त्यसैले हामीले स्थानीय सरकारसँग साझेदारी गर्दै कृषिलाई अगाडी बढाउने योजना बनाएका छौँ , भूगोल र स्थानका हिसाबले फरक – फरक उत्पादन होला लागत घटाउने , उत्पादन बढाउने र ती उत्पादनलाई बजारीकरण गर्न ठोस योजना बनाएर समृद्धि हासिल गर्ने लक्ष्य लिएका छौँ । ’
उहाँले युवालाई कृषिमा जोड्ने देखि विद्यार्थीलाई माटोसँग चिनाउन ‘‘माटोसँग विद्यार्थी ’ कार्यक्रम समेत ल्याएको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा , लक्ष्मण बहादुर पाण्डे समेतले बोल्दै नवलपुरका साझा समस्याहरूलाई एक मन एकताका साथ सबै राजनैतिक दलहरू मिलेर समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले कार्यालयबाट भएका कामहरूका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने , जिल्लाका समस्याहरूका बारेमा समेत चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरुले पनि आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्लाका आठ वटै पालिकाबाट प्रमुख उपप्रमुख , अध्यक्ष उपाध्यक्ष , सहित प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
उपप्रमुख शकुन्तला ल्मसालले स्वागत गर्नुभएको कार्यक्रममा समन्वय अधिकारी जितेन्द्रजंग केसीले सहजीकरण गर्नुभएको थियो ।