नवलपुर । नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।
कावासोतीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएसँगै जिल्लाका आठ वटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका छन् ।
शुक्रवार एक कार्यक्रमका बिच नगर उप प्रमुख फूल कुमारी थनेतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गर्नुभएको हो । नगरपालिका भित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि कावासोती नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो । घोषणा कार्यक्रममा बोल्दै उपप्रमुख थनेतले खोप कार्यक्रमलाई सफल बनाउनका लागि खटिने महिला स्वास्थ्य स्वयम सेविका तथा स्वास्थ्य संस्थामा आबद्ध स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले खोप कार्यक्रम सफल भएको कारण मातृ शिशु मृत्युदरमा कमी आएको बताउनुभयो ।
चालु आर्थिक वर्षमा, पालिकाको १७ वटै वडामा रहेका १६ महिना देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई पूर्ण खोप लगाइएको सुनिश्चितता गरिएकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले स्वास्थ्य सेवा निकै संदेशनशील सेवा भएको हुँदा यस क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । खोप कार्यक्रम आफैँमा एक महत्वपूर्ण कार्यक्रम रहेकाले यसलाई सफल बनाउन र दिगोपना बनाई राख्नका लागि पालिका सदैव तत्पर रहने बताउनुभयो ।
यसै गरी कार्यक्रममा बोल्दै शिक्षा अधिकृत हेमचन्द्र पौडेलले पूर्ण खोप सुनिश्चितता कार्यक्रम घोषणा गर्न जति गाह्रो हुन्छ त्यसलाई टिकाइराख्न पनि त्यतिकै चुनौतीपूर्ण रहेको बताउनुभयो । स्वास्थ्यकर्मी र सरोकारवाला सबै मिलेर मात्रै सफल बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख शैलेन्द्र कुमार सिंहले नवलपुर जिल्लाका सबै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएकाले अब जिल्लालाई नै घोषणा गर्ने तयारी रहेको जानकारी गराउनुभएको थियो ।उहाँले यही असार २४ गते जिल्लालाई नै घोषणा गर्ने कार्यक्रम रहको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख कृष्ण नागीलाले साबिक नवलपरासी जिल्ला देशकै पहिलो पूर्ण खोप जिल्ला घोषणा भएको अवगत गराउँदै यस कार्यलाई निरन्तरता दिनु नैतिक दबाब नै रहेको बताउनुभयो । उहाँले कावासोती नगरपालिकालाई २०७४ सालमा पहिलो पटक पूर्ण खोप पालिका घोषणा गरिएपछि दिगोपनाको काम निरन्तर रूपमा भइराखेको बताउनुभयो । उहाँले पालिकाका विभिन्न २४ ठाउँमा खोप कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो । पूर्ण खोपले विभिन्न प्रकारका १३ वटा रोगबाट बच्न सकिने समेत जानकारी दिनुभयो ।
कार्यक्रममा उमेर हदका कारण कार्य अवधि परा हुनुभएका दुई जना महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान पत्र सहित बिदाई गरिएको थियो । कावासोती सात निवासी ऋषिदेवी पोख्रेल र कावासोती १२ निवासी उर्मिला देवी गुरौलाई बिदाइ गरिएको हो । भने उत्कृष्ट स्वास्थ्यकर्मीका रूपमा पिठौली स्वास्थ्य चौकीका सिनियर अहेव कृष्णलाल महतोलाई सम्मान पत्रले सम्मानित गरिएको स्वास्थ्य शाखाका पारेश्वर भुर्तेलले जानकारी दिनुभयो ।