कृषि पेसालाई प्रविधिमैत्री बनाउनुपर्छ – कृषि मन्त्री जिसी

कृषि पेसालाई प्रविधिमैत्री बनाउनुपर्छ – कृषि मन्त्री जिसी

नवलपुर।  कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले कृषि पेसालाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ ।
कृषि ज्ञान केन्द्र र देवचुली नगरपालिकाको आयोजनामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८२ को अवसर पारेर कुजौलीमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री जिसीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो – ‘अबको युग प्रविधिको युग हो, त्यसैले अब कृषिमा प्रविधिको प्रयोग गरेर लागत घटाउने र उत्पादन बढाउने कार्यमा हामी लाग्नुपर्छ ।’ मन्त्री जिसीले कृषि प्रधान देश भनेर नारा लगाउने तर कृषि क्षेत्रको विकासका लागि काम गर्न नसके त्यो नारामा मात्रै सीमित हुने धारणा राख्नुभयो । कृषि क्षेत्रको विकास गर्दै देशको समृद्धि हासिल गर्नुपर्नेमा उहाँको जोड थियो ।
कृषि उपजले बजार नपाएको धेरै गुनासो किसानबाट आउने गरेको भन्दै त्यसका लागि बजार व्यवस्थापन गर्ने कुरामा मातहतका निकायसँग छलफल समेत भएको बताउनुभयो । किसानका समस्या समाधान गर्ने कुरामा आफूले पहल गरिरहेको बताउनुभयो । 
कार्यक्रममा सम्बोधन गर्दै देवचुली नगरपालिका प्रमुख हरि प्रसाद न्यौपानेले डिप बोरिङ मात्रै सिँचाइका विकल्प होइन भन्दै प्राकृतिक रूपमा रहेका खोला खोल्सीहरूको संरक्षण गर्दै सिँचाइको प्रबन्ध गर्ने काममा देवचुली नगरपालिकाले योजनाहरू बनाएको बताउनुभयो । डिप बोरिगले लागत वृद्धि गर्ने तर्क नगर प्रमुख न्यौपानेले गर्नुभयो । डिप बोरिगले लागतमा वृद्धि र जमिन मुनीको पानीको श्रोत सुक्ने हुँदा प्राकृतिक रूपमा रहेका खोलानाला , खोल्सीलाई संरक्षण गरेर सिँचाई गर्न जरुरी रहेको औँल्याउनुभयो । कृषिमा कसरी लागत कम गर्ने र उत्पादनमा वृद्धि गर्ने भन्ने कुरामा आफूहरू निकै चिन्तित रहेको बताउनुभयो । उहाँले कृषिलाई आत्मनिर्भर बनाएर लागत कम गर्ने केही योजनाहरू पालिकाले बनाएको र त्यो योजना सफल बनाउन गण्डकी प्रदेश सरकारले सहयोग गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूल प्रसाद तिवारीले स्वागत मन्तव्य राख्दै राष्ट्रिय धान दिवसको महत्व ,धान आयात निर्यातको अवस्थाका बारेमा प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा हिले दौड ,हिलोमा डोरि तान्ने र हिलोमा माछा छोप्ने प्रतियोगिता समेत भएको थियो । र उपस्थित भएका अतिथिहरू तथा अन्य सहभागीहरूबाट धान रोपाइँको कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा , जिल्ला प्रहरी कार्यालय प्रमुख यादव ढकाल , जिल्ला समन्वय समिति नवलपुरका उपप्रमुख शकुन्तला लम्साल , लगायत जनप्रतिनिधि , कृषक , स्थानीय युवा , जेसिज , कृषक समूह लगायतका प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
नवलपुरमा आजसम्म ३० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा कृषि शाखा देवचुलीका प्रमुख नरेन्द्र भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस