लुम्बिनी प्लसको आयोजनामा सरोकारवाला बिच समन्वय बैठक

लुम्बिनी प्लसको आयोजनामा सरोकारवाला बिच समन्वय बैठक

नवलपुर ।  नवलपुरमा रहेर एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसको आयोजनामा शुक्रवार सरोकारवाला बिच समन्वय बैठक कावासोतीमा भएको छ ।
संस्थाको कार्यालयमा भएको बैठकमा संस्थाकी अध्यक्ष निर्मला पौडेलले संस्थाले गरेको काम , समस्या , चुनौती लगायतका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले संस्थाले एचआइभी रोकथाम ,नियन्त्रण ,उपचार तथा पोषण लगायतका काम गरिरहेको जानकारी गराउनुभयो । उहाँले नवलपुरका ६ सय जना संक्रमितहरुसंग प्रत्यक्ष जोडिएर संस्थाले काम गरिरहेको जानकारी दिनुभयो । सङ्क्रमितहरू जटिल अवस्थामा अस्पतालमा उपचार गराउनुपर्दा अझै पनि निकै सकस हुने गरेको उहाँले गुनासो समेत गर्नुभयो । समाजमा सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा केही फरक आए पनि अस्पतालका पढेलेखेका स्वास्थ्यकर्मीहरूमा अझै पनि सङ्कुचित भावना कायम रहेको उहाँले बताउनुभयो । एचआइभी सङ्क्रमित कुनै व्यक्ति शल्यक्रिया गर्नुपर्ने वा कुनै जटिल किसिमको बिरामी भई अस्पतालमा गएमा विभिन्न बाहानमा अस्पतालबाट पन्छाउन काम हुने गरेको उहाँको गुनासो थियो । यस्तै उहाँले सङ्क्रमित तथा प्रभावितका सवालमा, बालबालिकाको शिक्षा ,स्वास्थ्यका सवाल ,जीविकोपार्जनका सवालमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको थियो । स्थानीय तहले एचआइभी सङ्क्रमित तथा प्रभावितलाई केन्द्रित गरी कार्यक्रम गर्नुपर्ने , स्थानीय तह आफैमा सरकार भएकाले एचआइभी सङ्क्रमित तथा प्रभावितका लागि ठोस योजना निर्माण गरी काम गर्नुपर्ने र प्राथमिकतामा राख्नुपर्ने अध्यक्ष पौडेलले बताउनुभयो ।

बैठकमा स्वास्थ्य कार्यालयका प्रमुख शैलेन्द्रकुमार सिंह , शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठ , कावासोती नगरपालिका स्वास्थ्य शाखाबाट पारेश्वर भुर्तेल , गैसस महासङ्घ नवलपुरका निवर्तमान अध्यक्ष बद्रीनाथ नेपाल लगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
सहभागी सरोकारवालाहरूले संस्थाले गरेको कामले सङ्क्रमितका लागि आत्मबल बढाउने र समाजमा सहज रूपमा जीवनयापन गर्न टेवा पुगेको भन्दै आफूहरूबाट हुन सक्ने सहयोगका लागि सदैव तत्पर रहने प्रतिबद्धता जनाउनुभएको थियो ।
संस्थाका अध्यक्ष निर्मला पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस