विद्यार्थीले १० दिनमा सिके वेभ साइड निर्माण

विद्यार्थीले १० दिनमा सिके वेभ साइड निर्माण

नवलपुर । १० दिनको तालिमबाट यहाँका विद्यार्थीहरू वेभ साइड निर्माण गर्न दक्ष भएका छन् ।
सामाजिक विकास कार्यालय नवलपुरको आयोजना तथा शिव नमुना मावि कावासोती दुईको सहयोगमा १० दिनसम्म सञ्चालन भएको तालिमबाट विद्यार्थीहरूले वेभ साइड निर्माण गर्ने सिप सिक्न सफल भएका हुन् ।
‘आइटी बुट क्याम्प तथा जव फेयर कार्यक्रम’ अन्तरगत ३६ जना विद्यार्थीलाई आवासीय रूपमै तालिम प्रदान गरिएको थियो ।
तालिममा सहभागी भई वेभ साइड निर्माण गर्न दक्ष बनेका पाँच जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ । गैँडाकोटको रत्न राज्य माविका सुमित चापागाईँले प्रथम भई नगद दश हजार , रत्न राज्य माविकै अर्जुन सापकोटा द्वितीय भई नगद आठ हजार , देचवुलीमा रहेको भीमसेन आदर्श माविकी दिया बराल तृतीय भई पाँच हजार र हुप्सेकोटको जनता माविका राजु राना र जनक नमुना मावि गैँडाकोटका माधव नेपाल सान्त्वना भई नगद तीन हजारका दरले पुरस्कृत गरिएको कार्यालयका सूचना अधिकारी हरिशंकर शर्माले जानकारी दिनुभयो ।
तालिममा सहभागी भई उत्कृष्ट हुन सफल विद्यार्थी सुमित चापागाईँले तालिमले आफूलाई सिप प्रदान गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । १० दिनमै आफूले वेभ साइड निर्माण गर्न सक्ने भएको भन्दै अब विद्यालय तथा अन्य सङ्घसंस्थाहरूका वेभ साइड निर्माण गर्न अवसर पाए निर्माण गर्ने र स१चालन गर्न सक्ने बताउनुभयो । यस प्रकारको तालिम लामो समयसम्म लिन पाएमा अझै थप कुराहरू सिक्ने पाउने उहाँको भनाई थियो ।
यस्तै अर्का विद्यार्थी अर्जुन सापकोटाले पनि आफू आइटीको विद्यार्थी भए पनि यहाँ सहभागी भएपछि थप नयाँ कुरा सिक्ने अवसर पाएको र उत्कृष्ट भई पुरस्कार समेत पाउँदा आउँदा दिनमा यसै क्षेत्रमा राम्रो गर्न सक्छु भन्ने हौसला प्रदान गरेको बताउनुभयो ।हुप्सेकोटका विद्यार्थी राजु रानाले ग्रामीण भेगमा रहेको विद्यालयमा अध्ययन गर्ने आफूजस्ता विद्यार्थीका लागि यस तालिमले सिप सिक्ने अवसर प्रदान गरेको बताउनुभयो । उहाँले कम्प्युटर सम्बन्धी धेरै कुरा थाहा नभएको आफूलाई वेभ साइड निर्माण गर्न सक्ने हुँदा निकै खुसी लागेको र अब यसै क्षेत्रमा लागेर केही गर्न सक्छु कि भन्ने आस जागेको बताउनुभयो ।
जिल्लाका आठ वटा पालिका मध्य चार नगरपालिकाबाट पाँच जनाका दरले र चार गाउँपालिकाबाट चार जनाका दरले गरी ३६ जना विद्यार्थी तालिममा सहभागी भएको कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेलले बताउनुभयो । अहिलेको समय प्रविधिको समय भएको हुँदा यस तालिम समय सापेक्ष हुने देखेर सञ्चालन गरिएको र प्रभावकारी समेत पाएको उहाँको भनाई छ । तालिम सञ्चालनपछि अन्य विद्यालयबाट पनि माग आएको , सहभागी हुन भनी सम्पर्क समेत गरेको उहाँले बताउनुभयो । १० दिनको समय थोरै भयो भन्ने कुरा समेत आएको हुँदा आगामी दिनमा मन्त्रालयसँग समन्वय गरी अझै एडभान्स किसिमको तालिमहरू सञ्चालन गर्न पहल गर्ने पौडेलले बताउनुभयो ।
कावासोती दुईमा रहेको शिव नमुना माविमा असार दुई गतदेखि असार ११ गतेसम्म १० दिन चलेको तालिम बुधवार सम्पन्न भएको छ ।
तालिममा प्रशिक्षकको रूपमा सूचना प्रविधिका विज्ञ इन्जिनियर रिपेस अधिकारी, इन्जिनियर योगेश रायमाझी र इन्जिनियर केशव मैनाली , इन्जिनियर सनोज श्रेष्ठ रहनुभएको थियो । इन्जिनियर रिपेस अधिकारीले तालिममा वेभ डिभलपमेन्ट,साइवर सेक्युरिटी , जावा स्किल , इन्टरनेट चलाउँदा कसरी सुरक्षित भएर चलाउने , इमेलहरूमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा जानकारी प्रदान गरिएको बताउनुभयो । यस सिपले विद्यार्थीहरूलाई देशमा मात्रै नभई विदेशमा समेत सहयोग पुग्ने बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले विद्यार्थीहरूलाई प्रविधि सम्बन्धी सिप प्रदान गर्ने कार्य निकै सह्रानीय भएको बताउनुभएको थियो । यस प्रकारको तालिम अन्य विद्यार्थीहरूलाई पनि दिन आवश्यक रहेको भन्दै उहाँले आर्जन गरेको सिपलाई अभ्यास गर्दै दक्ष बन्न सुझाव दिनुभयो ।
कावासोती वडा नम्बर दुईका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव पाण्डेले सूचना प्रविधिको आधारभूतदेखि व्यवहारिक सीप समेत तालिमले प्रदान गरेको भन्दै विद्यार्थीहरूले सिकेको सिपलाई विद्यालय र समुदायबाट समेत प्रोत्साहन गर्दै अवसर सृजना गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशका महाशाखा प्रमुख प्रकाश देवकोटा ,सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दीपेन्द्रराज श्रेष्ठ, तथा विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेल लगायतको उपस्थितिमा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस