हुप्सेकोट गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

  • नवलपुर आज
  • २०८२ अषाढ ६, शुक्रबार (४ हप्ता अघि)
  • ११५ पटक पढिएको
हुप्सेकोट गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

हुप्सेकोट । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको सातौँ गाउँ सभा अन्तर्गत पहिलो बैठकले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार सम्पन्न बैठकले आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो ।
गाउँभाको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवद्र्धन, दिगो वातावरण संरक्षण, सूचना प्रविधिको प्रवद्र्धन तथा सामाजिक न्याय र समावेशितामार्फत समृद्ध गाउँपालिका निर्माणको खाका प्रस्तुत गरिएको छ ।
सभामा गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विकासको वर्तमान उपलब्धिहरूलाई संस्थागत गर्दै आगामी वर्षको कार्य योजनालाई प्राथमिकताको आधारमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो ।
सुन्दर, सुखी र उद्यमी हुप्सेकोट को परिकल्पना कार्यान्वयन गर्न हुप्सेकोट गाउँपालिकाको मार्गचित्रको रूपमा नीति तथा कार्यक्रम परिलक्षित रहेको अध्यक्ष पाण्डेले बताउनु भयो । “हुप्सेकोट गाउँपालिकाको प्रथम पञ्चवर्षीय योजनामा तय गरेको दीर्घकालीन सोच खानेपानी, कृषि, पर्यटन र पूर्वाधारः हुप्सेकोट विकासको दिगो आधार बमोजिम उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारीका अवसर सिर्जना र नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन सहकारी एवं निजी क्षेत्र समेतको साझेदारीमा सुन्दर सुखी र उद्यमी हुप्सेकोट निर्माणको  आधार तय गरिनेछ”,अध्यक्ष पाण्डेले भन्नु भयो ।
कृषि क्षेत्रको विकासका लागि बाली विशेष कार्यक्रम, एक वडा एक उत्पादन कार्यक्रम , एक खेती बहु आय नीति जस्ता नयाँ कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ । त्यसै गरी उद्यमी बनौँ, गाउँमा केही गरौँ भन्ने अभियान, ज्ञान अनुसारको सीप र सीप अनुसारको ज्ञानमा आधारित कार्यक्रम, युवाहरूमा  उद्यमशीलता प्रवद्र्धन गर्न चौतारी भलाकुसारी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पाण्डेले बताउनु भयो ।
७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा अशक्त, अपाङ्गलाई घरमै गई नियमित स्वास्थ्य परीक्षण गर्नका लागि सन्चै हुनुहुन्छ? कार्यक्रम सञ्चालन गरिने भएको छ ।
वि.सं.२०८७ भित्र पोषण मैत्री गाउँपालिका घोषणा गर्नका लागि पोषण स्तरमा सुधार ल्याउन पोषणमैत्री कार्यक्रमहरूलाई प्राथमिकता दिइने नीति लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस