नवलपुर । पछिल्लो समय सामुदायिक विद्यालयहरूमा व्यवहारिक शिक्षा दिन र आयआर्जनमा समेत जोड्नका लागि विद्यार्थीहरूलाई कृषि कार्यमा संलग्न गराउन थालिएको छ ।
नवलपरासी पूर्व ( नवलपुरका ) विभिन्न विद्यालयहरूमा कृषि कार्यमा विद्यार्थीहरू जोडिन थालेका छन् । यहाँका धेरैजसो विद्यालयमा तरकारी खेति गरेर विद्यार्थीहरू पढ्दै कमाउने कार्यमा संलग्न भएका छन् । तर, यहाँको कावासोती नगरपालिका– १५ मा पर्ने एक विद्यालयले भने विद्यार्थीलाई फलफूल, तिल, तोरी र मास खेतितर्फ जोड्ने अभियान थालेको छ । चण्डेश्वरी माध्यमिक विद्यालय, कावासोती–१५ गोडारले ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम अन्तर्गत बहुवर्षे फलफूल ड्रागन फ्रुट ( सिउडीफल) खेतिमा विद्यार्थीलाई जोडेको छ ।
शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश, पोखराबाट प्राप्त पाँच लाख रुपियाँ बजेटबाट विद्यालयले ड्रागन फ्रुट खेति सुरुआत गरेको हो । कक्षा ६ भन्दा माथिका विद्यार्थीहरू , शिक्षक तथा स्थानीय समेतको सहभागितामा तीन दिन लगाएर ड्रागन फ्रुट ९ सिउडीफलं रोप्ने काम सम्पन्न गरेका छन् । असार दुई गतेदेखि सुरु गरी चार गते ड्रागन फ्रुट रोप्ने काम सकिएको विद्यालयका प्रधानाध्यापक लक्ष्मी न्यौपानेले जानकारी दिनुभयो । पाँच कट्ठा क्षेत्रफलमा, दुई सय पोलमा ,आठ सय बिरुवा रोपिएको प्रधानाध्यापक न्यौपानेले बताउनुभयो । ‘शिक्षालाई व्यवहारमा मोडौँ, ज्ञानलाई सिपसँग जोडौँ’ भन्ने मूल नाराका साथ विद्यालयले यस अघिदेखि नै आय आर्जनका लागि विभिन्न खेति गर्दै आइरहेको प्रअ न्यौपानेको भनाई छ । ड्रागन फ्रुटका लागि पाँच लाख बजेट पर्याप्त नभए पनि विभिन्न सहयोगीदातासँग समन्वय गरी विद्यालयले आफैँले व्यवस्थापन गरेरै भए पनि यस कार्यलाई सफल बनाउने काममा विद्यालय लागेको उहाँको भनाई छ । ‘ बिरुवा त रापेऊँ तर तार बार गर्न बाँकी छ । त्यसका लागि बजेट पुग्दैन । तार बार नगरेसम्म रोपेका बिरुवाको संरक्षण हुँदैन सहयोग गर्ने हातहरू पक्कै पाइनेछ भन्ने आशा राखेका छौँ । विद्यालयले पनि सकेको गछौँ र यस कार्यलाई सफल बनाउँछौ । ’ प्रअ न्यौपानेले भन्नुभयो ।
कृषि कार्यमा विद्यार्थीलाई जोड्ने र विद्यालयको दिगो आम्दानीको श्रोत बनाउने उद्देश्य राखेको प्रअ न्यौपानेले बताउनुभएको छ । ‘हाम्रो क्षेत्र पिछडिएको क्षेत्र हो , यहाँ असहाय र विपन्न वर्गका विद्यार्थीहरू बढी अध्ययन गर्छन् , कृषिबाट आएको आम्दानीले त्यस्ता विदार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर शिक्षाको उज्यालो प्रदान गर्ने महान् लक्ष्य बोकेर हामीले यस कार्य अगाडी बढाएका हौँ । कार्यविधि नै निर्माण गरेर हामीले यो काम थालनी गरेका हौँ । ’ प्रअ न्यौपानेले भन्नुभयो ।
विद्यालयले गत वर्ष पनि तिल , तोरी, मास खेति गरेर आम्दानी गर्न सफल भएको थियो । गत वर्ष साढे तीन क्विन्टल तिल , चार क्विन्टल तोरी र १५ पाथी मास उत्पादन गरेर बिक्री गरेको विद्यालयका प्रचारप्रसार संयोजक जीतनारायण थनेतले जानकारी दिनुभयो । विद्यालयले दुई बिगाहा क्षेत्रफलमा यसरी विभिन्न खेति गर्दै आइरहेको उहाँले बताउनुभयो । अहिले पनि तिल खेति गरिएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष शिवप्रसाद काफ्लेले विद्यार्थीहरूलाई व्यवहारिक कृषि ज्ञान प्रदान गर्नु विद्यालयले गरेको कार्यले टेवा पुग्ने बताउनुभयो । यस क्षेत्र कृषिको उर्वर भूमि रहेको हुँदा कृषिको महत्त्व विद्यार्थीलाई बुँझउन र विद्यालयको नियमित आम्दानीको माध्यम बनाउनका लागि पनि यस कार्यले सकारात्मक योगदान दिने उहाँको भनाई छ ।