चुरेबाट खसेको गेग्रानले मरुभूमिकरण हुने अवस्था आयो – राष्ट्रपति पौडेल

चुरेबाट खसेको गेग्रानले मरुभूमिकरण हुने अवस्था आयो – राष्ट्रपति पौडेल

नवलपुर  ।  नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिका– ३ मा रहेको ज्योतीकुञ्ज सामुदायिक वनमा राष्ट्रपति रामचन्द्र पौडेल र श्रीमती सविता पौडेलले बर –पीपलको बिरुवा रोपेर ११ औँ चुरे संरक्षण दिवस शुभारम्भ गर्नुभएको छ ।
शुभारम्भ कार्यक्रममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति रामचन्द्र पौडेलले चुरे क्षेत्रबाट खसेको गेग्रानले , बग्ने खोला पुरेर तराइ क्षेत्र मरुभूमिकरण हुने अवस्था आएको बताउनुभयो ।
‘अहिले चुरेको मुख्य समस्या के हो भने माथिबाट ग्रेग्रान बगाएर ल्याउँछ अनि खोलाको घर पुरिन्छ खोलाको घर पुरिएपछि खोला गाउँतिर हिँड्छ , उर्वर भूमितिर हिँड्छ त्यसले गर्दा मरुभूमिकरण भइरहेको छ । खोला घर खोलेर त्यसबाट निस्केको ग्राभेल आवश्यक ठाउँमा उपयोग गर्नुपर्छ, तब मात्रै खोला आफ्नो ठाउँबाट हिँड्छ अनि तराई मधेसको सबैभन्दा ठूलो सुरक्षा हुन्छ भन्ने मलाई लाग्छ ।’ राष्ट्रपति पौडेलले भन्नुभयो ।
चुरे संरक्षणको कार्यक्रम कार्यान्वयनलाई ध्यान दिँदै चुरे नीतिगत तथा कानुनी व्यवस्थहरुमा सुधार, संगठनात्मक संरचनाहरूमा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने खाँचो रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।
राष्ट्रपति चुरे संरक्षण विकास समिति जुन उद्देश्य अनुसार गठन भएको थियो त्यो उद्देश्य अनुसार अझै पनि उपलब्धिमूलक काम गर्न नसकिएको समेत राष्ट्रपति पौडेलले जिकिर गर्नुभयो । ‘चुरे क्षेत्रको दिगो संरक्षण र स्थानीय जनताको जीवन स्तरमा सुधार गर्ने उद्देश्य सहित सरकारले गठन गरेको राष्ट्रपति चुरे तराई – मधेस संरक्षण विकास समितिले सोचे अनुसार अझै काम गर्न सकेको छैन । तसर्थ यससँग सम्बन्धित सबै पक्ष गम्भीर हुन जरुरी छ , चुरे संरक्षणको यति ठूलो जिम्मेवारी पाएको संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै संस्थाको काम प्रभावकारी हुन्छ भन्ने कुरामा हाम्रो ध्यान जानु पर्छ भन्ने मलाई लाग्छ । ’ राष्ट्रपति पौडेलले भन्नुभयो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले चुरे संरक्षणका कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडी बढाउन सबैको अपनत्व र समन्वयकारी भूमिका आवश्यक रहेको बताउनुभएको थियो ।
वन मन्त्री ऐन बहादुर शाहीले चुरे संरक्षण गर्न सरकारले २० वर्षे गुरुयोजना स्वीकृत गरी सञ्चालन गरेको बताउँदै गुरुयोजना अनुसार जिम्मेवार भएर काम गर्न सम्बन्धित सबै निकायलाई अनुरोध गर्नुभयो । उहाँले पानीको मुख्य श्रोत नै चुरे भएकाले यस्ता वृक्षरोपण तथा वन संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।
वन राज्य मन्त्री रूपा वि.क. ले प्राकृतिक श्रोत र साधनले भरिपूर्ण चुरे क्षेत्रको संरक्षणमा सबैको हातेमालो हुनुपर्ने धारणा राख्नुभएको थियो । वन क्षेत्रको संरक्षणमा स्थानीय समुदायको सक्रिय संलग्नता आवश्यक रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशकी भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले चुरे क्षेत्रमा रहेका वन, जल स्रोत, र माटोको संरक्षणमा विशेष जोड दिनुर्पेर्ने बताउनुभयो । अवैध रूपमा बालुवा, गिटी र ढुङ्गा उत्खनन हुनु चुरेको संरक्षणमा प्रमुख चुनौती रहेको उहाँको भनाई थियो ।
राष्ट्रपति चुरे तराई – मधेस संरक्षण विकास समितिको आयोजना , बन तथा पर्यावरण गण हात्तिखोर कावासोतीको समन्वयमा कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वृक्षरोपण गरी चुरे दिवसको उद्घाटन गर्नुभएको थियो । वृक्षरोपण कार्यक्रममा केन्द्र , प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि , सरकारी निकायका उच्चपदस्थ व्यक्तित्वहरू समेतले आ– आफ्नो तोकिएको स्थानमा वृक्षरोपण गर्नुभएको थियो ।
ज्योतीकुञ्ज सामुदायिक वनको ६ हेक्टर जग्गामा वृक्षरोपण गरिदैछ । करिब ९ हजार बिरुवा रोप्ने योजना सहित सेना खटिएको छ ।
कार्यक्रममा कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले स्वागत गर्नुभएको थियो ।
कार्यक्रम राष्ट्रपति चुरे तराई – मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले चुरे संरक्षण गर्न सरकारले लागु गरेको २० वर्षे गुरुयोजनालाई केही परिमार्जन गरेर काम गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको थियो । उहाँले दश करोड बाँस दश करोड फलफूलका बोटबिरुवा रोप्ने र १० हजार पोखरी निर्माण गर्ने योजनालाई सार्थक बनाउन सके चुरे संरक्षणमा टेवा पुग्ने बताउनुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस