कावासोतीमा अन्तर पुस्ता अन्तरसम्वाद कार्यक्रम

कावासोतीमा अन्तर पुस्ता अन्तरसम्वाद कार्यक्रम

नवलपुर । नवलपरासी पूर्व (नवलपुरको ) कावासोती नगरपालिकाको आयोजनामा शनिवार अन्तर पुस्ता सिप हस्तान्तरण कार्यक्रम अन्तरगत अन्तरसम्वाद कार्यक्रम भएको छ ।
कार्यक्रमको पहिलो सत्रमा कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षक खिमानन्द भुसालले पाका पुस्ताप्रति नयाँ पुस्ताको माया र सम्मान गर्ने प्रवित्तिमा आएको परिवर्तनले उनीहरू एक्लिँदै गएको बताउनुभएको थियो । नयाँ पुस्ताले कुनै पनि काम गर्दा वा नयाँ कामको थालनी गर्दा आफ्ना हजुरबुबा हजुरआमा भएमा जानकारी दिने , निर्णय आफ्नै भएपनि सल्लाह लिने , बेलाबखत समय मिलाएर कुराकानी गर्ने सन्चो बिसन्चो सोध्ने कहिलेकाहीँ उनीहरूलाई मनपर्ने खानेकुरा अथवा अन्य केही वस्तु पनि दिने जस्ता क्रियाकलाप गरेर पाका पुस्तासँगको सम्बन्ध जोगाइराख्न सकिने र उनीहरूलाई एक्लोपनको महसुस नहुने वातावरण सृजन गर्न सकिने बताउनुभयो ।
यसै गरी पाका पुस्ताले पनि आफूभन्दा सानाले केही जान्दैनन् हामीले भनेकै कुरा मान्नुपर्छ भन्ने भावनालाई त्यागेर अबको पुस्ता भनेको धेरै जान्ने बुझ्ने भइसकेका छन् । प्रविधिको विकासले उनीहरूमा धेरै कुराको ज्ञान र सिप प्रदान गरेको छ भनेर उनीहरूका कुरालाई पनि आत्मसाथ गर्दै साथ समर्थन गरेर अगि बढ्न सके अन्तर पुस्तबिचमा देखिन बेमेल कम गर्न मदत पुग्ने बताउनुभएको थियो ।
यस्तै कार्यक्रमको दोस्रो सत्रमा संवाद कार्यक्रमलाई जोडिएको थियो । अग्रजहरू डा। गोपाल खनाल र पूर्व न्यायाधीश ऋषि अधिकारीसँग पत्रकार दयाराम आचार्यले संवाद चलाउनुभएको थियो । उहाँहरूको बाल्यकाल र युवा अवस्थामा उहाँहरूले देखे भोगेको समाज ती समयमा समुदायले अङ्गालेको संस्कार संस्कृति , पेसागत विधि , स्वास्थ्य , शिक्षाको अवस्था लगाएका बारेमा चर्चा गरिएको थियो ।
त्यो समय र अहिलेको समयमा धेरै परिवर्तन आइसकेको भन्दै संवादमा जोडिनुभएका अधिकारी र खनालले आफूहरूले भोगेको दुःख कष्ट र अभाव अहिलेका पुस्ताले देख्न भोग्न नपरेको तर्क गर्नुभयो । अहिलेको पुस्ता तत्कालै रिजल्ट खोज्ने खालको पुस्ता भएको जिकिर गर्दै उहाँहरूले धैर्य गर्न सक्ने, पटक पटकको असफलताबाट पनि पाठ सिकेर अघि बढ्न सक्ने , अभावलाई झेल्न सक्ने , समस्या र चुनौतीलाई सामना गर्न सक्ने सामथ्र्य राख्ने पुस्ता आफूहरूको पुस्ता रहेको अनुभव साट्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले पाका पुस्ताको अनुभवबाट युवा पुस्तालाई प्रेरित गर्न र नयाँ पुस्ताको सोच र ज्ञान सीपलाई नयाँ पुस्ताले स्वीकार गर्नुपर्छ भन्ने भाव जागृत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएका बताउनुभयो ।
कार्यक्रममा बोल्नुभएका अधिकांश वक्ताहरूले यस किसिमको कार्यक्रमलाई समय समयमा आयोजना गरी निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । अन्तर पुस्ता बिचको बेमेल तथा असमझदारीलाई सुल्झाउँदै समाजमा सहयोग , सद्भावको भावना जगाउने यस कार्यक्रम प्रभावकारी हुनेमा वक्ताहरूको जोड थियो ।
प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले ज्येष्ठ नागरिकहरू अनुभवका खजाना भएको हुँदा उहाँहरूको अनुभवबाट नयाँ पुस्तामा उत्प्रेरणा जगाउँदै समाजमा एक अर्काप्रति सद्भाव बनाइराख्न यस कार्यक्रमले मदत पु¥याउने बताउनुभएको थियो ।
ज्येष्ठ नागरिक सङ्घ , नगर , जिल्ला तथा सङ्घका प्रतिनिधिहरू, युवा तथा बाल सञ्जालका प्रतिनिधिहरू , वडा अध्यक्षहरु , जनप्रतिनिधीहरु , कर्मचारी लगायतको सहभागितामा कार्यक्रम भएको हो ।
कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अधिकृत सुभद्रा शर्माले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस