नवलपुर । नवलपुरमा यस वर्ष चैते धान खेति राम्रो भयो । तर, धानको उचित मूल्य नपाउँदा किसान भने निराश भएका छन् ।
मध्यविन्दु नगरपालिका दुईका किसान दान बहादुर आलेले पाँच कठ्ठा क्षेत्रफलमा लगाएको धान १० क्विन्टल उत्पादन भएको बताउनुभयो । ‘धान त राम्रो उत्पादन भयो तर के गर्नु मूल्य नै पाइएको छैन । क्विन्टलको दुई हजार बाइस सय मात्रै दिन्छु भन्छन् हामीले कसरी बेच्ने , लगानी पनि उठ्दैन , यस्तो अवस्थामा त राज्यले पनि हेर्न पर्ने हो नि होइन र खोइ कुनै सुनुवाइ हुँदैन । ’ घर्तीले भन्नुभयो ।
ज्ञान केन्द्रको कार्यक्रममा सहभागी भएका किसानहरूले समूह मार्फत खेति गर्दै आएका छन् । घर्ती बुद्धभुमि कृषक समूहको संयोजक हुनुहुन्छ । उहाँको समूहले पाँच बिगाहा क्षेत्रफलमा धान खेति गरेको छ । सबैको धान राम्रो भएको उहाँले बताउनुभयो । तर मूल्य नपाएको कारण धान सुकाएर बोरामा थन्क्याएर राख्नु परेको छ ।
किसानले धान दुई खेति गर्ने हुँदा वर्षे धान खान राख्ने र हिउँदे धान बिक्री गरेर आफ्नो जोहो चलाउँदै आएका छन् । उचित मूल्य नपाएपछि सबै किसानले थान थन्क्याएर राख्नु परेको किसान घर्तीको गुनासो छ ।
गैँडाकोट ११ भेडावारिका का कृषक मान बहादुर थारुले पनि यस वर्ष धानको मूल्य नै नपरेको गुनासो गर्नुभयो । उहाँले सात बिगाहा क्षेत्रफलमा धान लगाउनुभएको छ । धान उत्पादन राम्रो भए पनि अहिले उचित मूल्य नपाउँदा अर्को वर्षदेखि धान खेति किन गर्नुपरयो भन्ने अवस्था आएको उहाँले बताउनुभयो । गत वर्ष तीन हजारदेखि ३२ सय सम्म खेतमै आइ नसुकाएकै चिसो धान बिक्री गर्नुभएको उहाँ अहिले दुई हजार बाइस सय रुपिँया मात्रै मूल्य दिन्छौ भनेर खरिदकर्ता आउँदा चिन्तित हुनुहुन्छ । ‘घरमा ल्याएर सुकाएको धानलाई पनि २२ सय भन्दा बढी मूल्य दिन नसक्ने भन्दा अर्को वर्षबाट धान खेति गर्दिन भन्ने मनमा लागेको छ । लागत नै नउठ्ने भएपछि किन लगाउनु परो र । ’ थारुले भन्नुभयो ।
सरकारले चैते धानको समर्थन मूल्य दुई हजार आठ सय ७९ रुपैयाँ तोकेको भए पनि किसानहरूले त्यसको आधा मूल्यमा धान बिक्री गर्नुपर्ने अवस्था आउनु निकै दुःखद रहेको उहाँले बताउनुभयो । उहाँले सरकारले अब किसानलाई प्रतिफलको आधारमा अनुदान दिनुपर्ने समेत बताउनुभएको छ ।
कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कूल प्रसाद तिवारीले यस वर्ष किसानले चैते धानको मूल्य नै नपाएको गुनासो गरेको तर त्यसका लागि केन्द्र सरकार स्तरबाट नै पहल हुन जरुरी रहेको बताउनुहुन्छ । यस वर्ष भारतबाट सस्तो मूल्यमा धान आयात भएको कारणले पनि यहाँका किसानले मूल्य नपाएको हुनसक्ने उहाँको बुझाई छ । ‘सरकारले विभिन्न कार्यक्रम मार्फत किसानलाई उत्पादनमा जोड्ने तर बजारीकरणमा समस्या आइरहने , मूल्य नै नपाउने , लागत पनि नउठ्ने भयो भने उत्पादन बढाएर मात्रै देशको आर्थिक समृद्धि कसरी हुन्छ , यस्तै रह्यो भने चैते धान प्रवद्र्धन कार्यक्रम माथि नै प्रश्न चिन्ह उठ्छ ।’ उहाँले भन्नुभयो ।
नवलपुरमा यस वर्ष करिब एक हजार एक सय हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ । किसानले लगाएको चैत धान लगभग काटेर सकेका छन् ।
ज्ञान केन्द्रले चैते धान प्रबद्र्धन आयोजना मार्फत सिँचाइलाई प्राथमिकतामा राखेर काम गरेका कारण चैते धानको उत्पादन पनि राम्रो भएको र क्षेत्रफल समेत विस्तार हुँदा उत्पादन बढेको कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ विज्ञ सञ्जय ढकालले बताउनुभयो । चैते धान प्रबद्र्धन आयोजना मार्फत किसानलाई बीउबीजन ,सिँचाइ ,यान्त्रीकरणमा अनुदान तथा प्राविधिक सहयोग समेत दिँदै आएको ढकालले बताउनुभयो ।