नवलपुर । गण्डकी प्रदेश स्तरीय ट्राफिक सप्ताह कार्यक्रमको नवलपुरमा आज उद्घाटन समारोह भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे सहित अन्य उपस्थित अतिथिहरूले राजमार्गमा सञ्चालन भएको बसमा सचेतना मूलक स्टिकर टाँस गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमका बारेमा जानकारी दिँदै जिल्ला ट्राफिक कार्यालयका प्रमुख जनकराज बन्जाराले सप्ताहको पहिलो दिन जिल्लाको फलफूल चोकबाट सचेतनामूलक प्रभात फेरीसहित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८२ को शुभारम्भ सहित सार्वजनिक यातायातका सवारी साधनहरूको ढोकामा सिट क्षमता सहितको स्टिकर टाँस्ने लगायतका कार्यक्रमहरू गरिने र दोस्रो दिन पर्चा पम्प्लेट वितरण गर्ने,स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, सवारी चालकलाई सम्झाई बुझाई गर्ने, अव्यवस्थित पार्किङ हटाउने, धुवाँ धुलो बाट बच्न मास्क वितरण गर्ने, माइकिङ गर्ने, जेव्राक्रस नभएको स्थानबाट बाटो काट्न पर्दा अपनाउनु पर्ने सावधानीका बारेमा सिकाउने लगायतका क्रियाकलाप गरिने जानकारी दिनुभयो । यस्तै तेस्रो दिन जिल्लामा ग्रामीण सडक लक्षित छत तथा हुटमा बसी यात्रा गर्दाका जोखिम तथा दुष्परिणामहरूबारे जानकारी गराउने, सिट क्षमता अनुगमन, भाडा दर अनुगमन, आरक्षण सिट कार्यान्वयन, पहाडी बाटोहरूमा ओटहरूको प्रयोग लगायतका क्रियाकलाप गतिविधिहरू गरिने,, चौथो दिन बढी भिडभाड हुने स्थानहरू, शैक्षिक संस्था वरपर, विद्यालय लगायत पैदल यात्री, सडक प्रयोगकर्ताहरू लक्षित कार्यक्रमहरू गर्ने, सरकारी सवारी साधन, कर्मचारी लक्षित क्रियाकलाप, गतिविधिहरू गरिने , पाँचौँ दिन जिल्लामा भएका विभिन्न स्कुल समावेश गरी ट्राफिक त्तगष्श गर्ने, पर्चा पम्प्लेट वितरण लगायतका क्रियाकलाप गरिने , छैटौँ दिन जिल्ला स्थित स्वास्थ्य संस्थाहरू सँग समन्वय गरी चालक सहचालकहरूको ब्लड प्रेसर, आँखा, कान लगायत आधारभूत स्वास्थ्य चेकजाँच गर्ने, सवारी साधनहरूको यान्त्रिक परीक्षण गराउने, मेटिएका, अस्पष्ट नम्बर प्लेटहरू सुधार गर्ने र
सातौँ तथा अन्तिम दिन सञ्चार कर्मीहरूसँग अन्तरक्रिया गर्ने, विभिन्न कार्यक्रम गरी “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८२” को समापन गर्ने र साँझ दीप प्रज्वलन गरिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
यस्तै उहाँले नवलपुरमा सवारी दुर्घटनाको अवस्था बारेमा जानकारी दिँदै चालु आर्थिक वर्षको ११ महिनामा ९९ वटा सवारी दुर्घटना भएको र यी दुर्घटनामा परी ३९ जनाले ज्यान गुमाएको तथा १३६ जना घाइते भएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै ट्राफिक नियमको अवज्ञा, अनियन्त्रित गति, मदिरा सेवन र न्यून ट्राफिक संरचनाका कारण दुर्घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । सवारी दुर्घटना कहाँ कति वेला हुन्छ भन्ने थाहै नहुने भएकाले सवारी चालकले सवारी चलाउँदा होसियार बन्नुपर्ने र नियमको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यस्तै सवारी चालकको लापरबाही, ट्राफिक नियम पालनामा उदासीनता, चेतनाको कमी, सडकको अवस्था, सवारीको यान्त्रिक अवस्था लगायत कारणले पनि दुर्घटना बढिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले प्रहरी प्रशासन सरोकारवाला तथा नागरिक समाज सबै मिलेर दुर्घटना न्यूनीकरणमा लाग्न सकेमा मात्रै यस्ता कार्यक्रमले सार्थकता पाउनेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा कावासोती वडा नम्बर तीनका अध्यक्ष डोरमान गिरी , नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका सल्लाहकार नारायण सर्मा , व्यवसायी युवराज बस्याल लगायतका अतिथिहरूले आफ्नो आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा ट्राफिक सप्ताहको अवसरमा कुशल चालकको रूपमा कावासोतीका बस चालक जित बहादुर ढिस्वा मगर र कावासोतीकै अटो चालक भीम प्रसाद काफ्लेलाई कदर पत्रसहित प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेबाट सम्मान गरिएको थियो ।भने
विद्यार्थीहरूबाट सचेतना मूलक सडक नाटक तथा नृत्य प्रस्तुत भएको थियो ।