नवलपुर । उन्नत तरकारी खेति प्रविधि सम्बन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम नवलपुरको कावासोतीमा आजबाट सुरु उन्नत तरकारी खेति प्रविधि सम्बन्धी जिल्ला स्तरीय अगुवा कृषक तालिम नवलपुरको कावासोतीमा आजबाट सुरु भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरको आयोजनामा तालिम सुरु भएको हो । आजबाट सुरु भएको तालिम भोलीसम्म सञ्चालन हुनेछ ।
परियोजनाले सञ्चालन गरेको तरकारी सुपर जोनमा आबद्ध रहेका किसानहरूका लागि तालिम प्रदान गरिएको हो ।
तालिममा तरकारी खेतिमा देखिने शत्रु जीव र मित्र जीवका बारेमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्रा। डा। सुन्दर तिवारी र ल्याब सहयोगी टिकाराम बगाले किसानलाई जानकारी दिनुभएको छ । तालिममा प्रा। डा। सुन्दर तिवारीले किसानहरूले तरकारीमा देखिने किराका बारेमा जानकारी नै नलिई जथाभाबी विषादी छर्दा वातावरणमा असर पुग्नुका साथै जैविक विविधतामा समेत खलल पुगेको बताउँदै सकेसम्म विषादीको प्रयोग नै नगर्ने गर्नै परे पनि आवश्यक मात्रामा मात्रै प्रयोग गर्न अनुरोध गर्नुभयो ।
उहाँले तालिममा सहभागी किसानहरूलाई तपाईँहरूले कति पटक सम्म विषादी हाल्ने गर्नुभएको छ भनी पहिले प्रश्न गर्नुभएको थियो । किसानहरूले १० पटकसम्म हाल्छौ भन्ने प्रतिक्रिया दिनुभएको थियो । त्यसपछि उहाँले तरकारी खेतिमा प्राविधिकले दिएको परिमाण अनुसार कम्तीमा तीन पटकसम्म मात्रै विषादी हाल्न मिल्ने त्यसभन्दा बढी हाल्न नहुने बताउनुभयो । किसानहरूले मात्राको तीन गुणा बढीसम्म विषादी हाल्ने गरेको पाइएको भन्दै उहाँले अबका दिनमा त्यसो नगर्न अनुरोध गर्नुभयो । उहाँले तरकारी खेतिलाई फाइदा र्पुयाउने मित्र जीवलाई चिनेर जोगाइराख्न र शत्रु जीवलाई विषादी विना पनि निर्मल पार्न सकिन्छ भनी उपायहरूका बारेमा समेत जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख देवराज अधिकारीले रोग किरा व्यवस्थापनका बारेमा जानकारी दिनका लागि तालिमको आयोजना गरेको बताउनुभयो । नवलपुरमा काँक्रो र टमाटरको राम्रो खेति हुने गरेको र यहाँ उत्पादन भएको तरकारी देशका विभिन्न ठूला सहरहरूमा बिक्री हुँदै आएको हुनाले विशेष गरी विषादी रहित तरकारी खेति गर्नका लागि यस तालिमले प्रोत्साहन गर्नेमा आफू विश्वस्त रहेको अधिकारीले बताउनुभयो ।
तालिम अवधिभर विभिन्न सेसन अन्तरगत कृषि ज्ञान केन्द्रका प्रमुख कूल प्रसाद तिवारीले जिल्लामा तरकारी खेतिको अवस्था , प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख देवराज अधिकारीले तरकारीमा देखिने रोगहरु , परियोजना कार्यान्वयन एकाइ नवलपुरका कृषि अधिकृत गोमा कुँवरले जैविक मल र जैविक विषादीका बारेमा जानकारी प्रदान गर्नुहुनेछ ।
तालिममा जिल्लाका २५ जना अगुवा कृषकहरूको सहभागिता रहेको कृषि अधिकृत रण बहादुर महतोले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कावासोती र मध्यविन्दु नगरपालिका तथा हुप्सेकोट गाउँपालिकामा तरकारी सुपर जोन कार्यक्रम सञ्चालन गरेको छ । सुपर जोन आबद्ध भएका कृषक तथा कृषि समूहलाई कार्यालयले सिँचाइको प्रबन्ध गर्ने, जैविक मल निर्माण र प्रयोगलाई प्रोत्साहन गर्ने, यान्त्रीकरणलाई जोड दिँदै निःशुल्क रूपमा प्राविधिक सेवा प्रदान गर्ने र कृषि उत्पादनको प्रवर्धन तथा बजारीकरणमा सहयोग र्पुयाउने काम गर्दै आएको कृषि अधिकृत महतोले जानकारी दिनुभयो ।