‘प्रकृतिमा आधारित समाधान’ विषयक गोष्ठी गैँडाकोटमा सम्पन्न

‘प्रकृतिमा आधारित समाधान’ विषयक गोष्ठी गैँडाकोटमा सम्पन्न
कावासोती । ‘प्रकृतिमा आधारित समाधान’ विषयक क्षमता अभिवृद्धि गोष्ठी नवलपुरको गैँडाकोटमा सोमबार सम्पन्न भएको छ ।
सहमति गैँडाकोटको आयोजना भएको गोष्ठीमा, नवलपुरका सरोकारवालाहरू, डिभिजन वन, चुरे, सामुदायिक वन उपभोक्ता महासङ्घ, खानेपानी महासङ्घ, नगर तथा गाउँपालिका, मध्यवर्ती उपभोक्ता समिति, आदिवासी जनजाति महासङ्घ , सञ्चारकर्मी लगायतका सरोकारवालाहरूलाई प्रकृतिमा आधारित समादानसँग सम्बन्धित जानकारीहरू विषय विज्ञबाट प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै वातावरण विज्ञ निरोज तिमिल्सिनाले ‘प्रकृतिमा आधारित समाधानका बारेमा चर्चा गर्नुभएको थियो । उहाँले प्रकृतिमा आधारित समाधान भनेको हाम्रा पाका पुर्खाहरूले गर्दै आएका क्रियाकलाप हुन भनेर प्रस्ट पार्नुभयो । समुदायमा देखिने बाढी, पहिलो , खडेरी माटोको उर्वराशक्तिमा कमी , कृषि उत्पादनमा कमी , जलवायु परिवर्तन , पानीको मुहान सुक्नु , वन्यजन्तु र मानवबिचको द्धन्द्ध लगायतका समस्या र चुनौतीहरूलाई समाधानका गर्न पारिस्थितिक प्रणालीमा आधारित क्रियाकलापहरू, जस्तै वृक्षारोपण , जैविक बाँध , संरक्षण पोखरी निर्माण , समुदायको जीविकोपार्जनका लागि प्राकृतिक श्रोतको उपयोग जस्ता क्रियाकलापहरू गर्न सकिने विज्ञ तिमिलसीनाले बताउनुभयो ।
यस्तै कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाले चितवन राष्ट्रिय निकुञ्जमा जैविक विविधता संरक्षणका लागि गरिएको विभिन्न कार्यहरूको बारेमा जानकारी गराउनुभएको थियो । निकुञ्जभित्र हुने धेरै कामहरू प्रकृतिमा आधारित नै हुने गरेको उहाँको भनाई थियो । उहाँले जैविक विविधताको संरक्षण गर्न निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन , पोखरी निर्माण लगायतका काम गर्दै आएको साथै दुर्लभ वन्यजन्तुको संरक्षणका क्रियाकलाप समेत गर्दै आएको बताउनुभयो । निकुञ्जले गरेको यस्ता कामबाट जैविक विविधताको संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ संयोजक खेमराज खनालले सहमति संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले नवलपुर सहित देशका विभिन्न जिल्लाहरूमा काम गर्दै आएको बताउनुभयो । ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ अन्तरगत संस्थाले नवलपुरको गुन्द्रही र चितवनको खगेरी उपजलाधार क्षेत्रको माथिल्लो तटबाट संरक्षण कार्य गरेको खनालले जानकारी गराउनुभएको थियो । संस्थाले परियोजना अन्तरगत नै ५०७ जना वन उपभोक्ता समितिहरूको बिमा , ९० जना वन हेरालुको बिमा , १२ जना युवाहरूलाई रिभर च्याम्पियनका रूपमा तयार पारेर परिचालन गर्ने काम गरेको समेत खनालले बताउनुभयो । यसै गरी परियोजना लागु भएका वनहरूमा ४१ किलोमिटर फायर लाइन निर्माण वनको कार्य योजना निर्माण तथा कार्यान्वयन गर्न सहयोग गर्दै आएको बताउनुभएको थियो । ।
सहमतिले वन तथा भू–संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँगको समन्वयमा डब्लु डब्लु एफ नेपालको सहयोगमा संरक्षणमुखी कार्य गर्दै आएको छ ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारी , मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष प्रकाश ढुङ्गाना , सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदी , महासचिव बेल प्रसाद पौडेल लगायतको समेत सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस