देउराली वनले आयोजना गरेको क्षमता विकास तालिम सम्पन्न

  • नवलपुर आज
  • २०८२ जेष्ठ १२, सोमबार (२ हप्ता अघि)
  • १३८ पटक पढिएको
देउराली वनले आयोजना गरेको क्षमता विकास तालिम सम्पन्न

कावासोती  । गैँडाकोट–१२ मा रहेको देउराली सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको महिलाहरूको सशक्तीकरणका लागि नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ ।
जेठ आठ गतेबाट सुरु भएको पाँच दिने तालिम आज सम्पन्न भएको हो ।
तालिम अवधिभर सामुदायिक वन , सामुदायिक वनमा महिला सहभागिता , र नेतृत्व विकासका बारेमा सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घ नवलपुरका निवर्तमान अध्यक्ष तथा प्रशिक्षक ठाकुर प्रसाद पाण्डे र खेम नारायण महतोले सहजीकरण गर्नुभएको थियो । भने बोल्ने कला , उद्घोषण कला र महिला अधिकारका बारेमा प्रशिक्षक ज्ञानु पंगेनीले सहजीकरण गर्नुभएको थियो ।
तालिम अवधिभर सैद्धान्तिक तथा अभ्यासका माध्यमबाट सिकाइ प्रदान गरिएको थियो । भने आज शव डिभिजन वन कार्यालय गैँडाकोटका फरेस्टर दिनेश केसीले सामुदायिक वनमा भएका ऐन तथा महिला सहभागिताको व्यवस्थाका बारेमा प्रस्तुति राख्नुभएको थियो । उहाँले सामुदायिक वनले बनाउनुपर्ने वार्षिक कार्य योजनाका बारेमा समेत स्पष्ट पार्नुभएको थियो ।
तालिमको आज एक कार्यक्रमका बिच समापन समेत गरिएको छ । देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष फौद बहादुर महतोको अध्यक्षता तथा वडा नम्बर १२ का अध्यक्ष चक्रपाणि कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा सहभागिहरुमध्येबाट सीता थनेत र तिल कुमारी महतोले तालिमबाट पाएका ज्ञान सिप र आफ्नो अनुभव सुनाउँदै तालिमले अगाडी गएर निर्धक्कसँग बोल्न सक्ने क्षमताको विकास गरेको बताउनुभएको थियो । आफ्नो परिचयसम्म पनि राख्न नसक्ने आफूहरूले पाँच दिनको तालिमबाट अगाडी गएर आफ्नो कुराहरू राख्नु सक्नुका साथै परेको खण्डका कार्यक्रम सञ्चालन गर्न सक्छु भन्ने साहस र हिम्मत समेत प्रदान गरेको बताउनुभएको थियो ।
प्रमुख अतिथि वडा अध्यक्ष कँडेलले कार्यक्रममा बोल्दै सामुदायिक वनले महिलाहरूमा गरेको लगानीले नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्नुका साथै समुदायको विकासमा समेत फाइदा पुग्ने बताउनुभयो । वनले लक्षित वर्गका लागि आयोजना गरेको तालिमबाट महिलाहरूमा आत्मविश्वास बढ्नुका साथै आफ्ना कुराहरू ढुक्कसँग राख्न सक्ने क्षमताको विकास भएको आफूले पाएको हुँदा तालिम फलदायी बनेको बताउनुभएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घ नवलपुरका निवर्तमान अध्यक्ष तथा प्रशिक्षक ठाकुर पाण्डे , सामुदायिक वन स्थानीय महासङ्घ गैँडाकोटका सचिव सुरेन्द्र ढुङ्गाना , शव डिभिजन वन कार्यालय गैँडाकोटका फरेस्टर दिनेश केसीले आफ्नो आफ्नो शुभकामना मन्तव्य राख्दै सिकेको सिपलाई समुदायमा व्यवहारमा लागु गर्नका लागि अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष जीत कुमारी थनेतले स्वागत मन्तव्य राख्नुभएको थियो । तालिमको उद्घाटनको दिन वनका कार्यालय सचिव हेमलाल महतोले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । भने पाँच दिनको तालिम पश्चात् समापनको दिन समापन सत्रको कार्यक्रममा वनका सचिव गीता महतोले कार्यक्रम सञ्चालन गर्नुभएको हो ।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस