कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्न माग

कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्न माग

कावासोती । कावासोती वडा नं. १५ मा प्रहरी चौकी स्थापना गर्न स्थानीयले माग गरेका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा आफ्ना कुरा राख्दै यहाँका स्थानीयले वडामा प्रहरी चौकी स्थापनाको माग गरे हुन् । यस क्षेत्रमा मध्यविन्दु नगरपालिकामा रहेको कोल्हुवा प्रहरी चौकीले हेर्दै आएको छ । गाउँघरमा कुनै घटना भए प्रहरी चौकीबाट आउन निकै समय लाग्ने हुँदा पायक पर्ने स्थानमा प्रहरी चौकी स्थापना भएमा सहज हुने कार्यक्रममा सहभागी स्थानीयले बताएका छन् ।
कावासोती १५ का वडा सदस्य समेत रहनुभएका शिव प्रसाद काफ्लेले कावासोती १५ मा प्रहरी चौकी स्थापना गर्नु एकदमै आवश्यकता भएको बताउनुभयो । ‘पछिल्लो समय गाउँघरमा चोरीका घटना बढ्दै गएका छन् , युवाहरू नशालु पदार्थ सेवन गरेर झैझगडा गर्ने कुटपिट गर्ने जस्ता क्रियाकलापमा संलग्न भएका छन् । हामीले सम्झाउँदा पनि सुन्दैनन् उल्टै कुट्न आउँछन् । प्रहरीलाई बोलायो टाढा छ आउनै एक घण्टा लाग्छ , जनशक्ति पनि कम छ फोन गर्दा कहिले कता पुगेको हुन्छ एरिया पनि ठुलो छ । त्यसैले हाम्रो ठाउँमा एउटा प्रहरी चौकी स्थापना गर्न जरुरी देखिएको छ । ’ काफ्लेले भन्नुभयो ।    
कावासोती १५ का वडा अध्यक्ष तेज कुमार श्रेष्ठले गाउँको शान्ति सुरक्षालाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापनाको खाँचो रहेको बताउनुभयो । उहाँले वडा नम्बर १५ मा बोटे, माझी, मुसहर र थारु समुदायको बाहुल्यता भएको हुँदा यस समुदायमा अशिक्षा र चेतनाको कमी रहेको हुँदा कुलतमा फसेर विभिन्न घटनाहरू घट्ने , घरेलु हिंसा र झैझगडाहरू हुने तर त्यस्ता घटनाहरू हुँदा तत्कालै समाउन वा समाधान निकाल्न प्रहरी चौकी नजिक नहुँदा समस्या हुने गरेको बताउनुभयो । स्थानीयले सम्झाउन खोज्दा उल्टै कुटपिट गर्ने धाक धम्की आउने गरेका कारण प्रहरीको उपस्थितिले यस्ता घटनाहरूमा सहज हुने उहाँले बताउनुभयो । यस अघिका जनप्रतिनिधिहरूले बैठकबाट निर्णय गरी प्रहरी चौकी स्थापना गर्न भनी पाँच कट्ठा जग्गा समेत छुटाएर फाइल समेत अगाडी बढाउनुभएको जानकारी गराउँदै अध्यक्ष श्रेष्ठले यहाँ प्रहरी चौकी स्थापना गर्नका लागि प्रशासन र प्रहरीले भूमिका खेलिदिन अनुरोध समेत गर्नुभयो ।
कावासोती १५ मा प्रहरी चौकी स्थापना भएमा कावासोती १७ र १४ को केही क्षेत्रमा समेत पायक पर्ने हुँदा प्रहरी चौकी स्थापनाका आवश्यक रहेको स्थानीय गीता बिकले बताउनुभयो । कावासोती १५ र १७ कोल्हुवा प्रहरी चौकीको कार्यक्षेत्र हो । यस क्षेत्र ग्रामीण क्षेत्र भएको हुँदा घटनाहरू पनि धेरै हुने कतिपय घटनाहरू रोक्न खोज्दा मिलाउन खोज्दा आफैँलाई जोखिम समेत हुने अवस्था रहेको र प्रहरीसङ डर मान्ने भएकाले प्रहरी चौकी स्थापना हुन सके यस क्षेत्रमा सुरक्षाको अनुभूत गर्न सकिने बिकले बताउनुभयो ।राख्दै पछिल्लो समय युवावर्गहरु गाँजा , चुरोट खाने नशालु पदार्थ खाएर विभिन्न विकृति विसङ्गति बढ्दै गएको भन्दै यस्ता क्रियाकलाप न्यूनीकरण गर्न प्रहरी प्रशासनबाट विशेष पहल हुनुपर्ने , प्रहरी मेरो साथी भन्ने नारा भएपनि कतिपय अवस्थामा प्रहरीहरूबाट नै अभद्र व्यवहारहरू सहन बाध्य भएको भन्दै गुनासो समेत व्यक्त गरेका थिए । प्रहरी प्रशासन कार्यालयमा कामले जाँदा समयमा काम नहुने विभिन्न बाहानामा दुख दिने जस्ता काम समेत हुने गरेको स्थायीले गुनासो समेत राखेका थिए ।
नागरिकको गुनासोलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले सरकारको नीति अहिले धेरै प्रहरी चौकी खोल्ने भन्दा पनि भएका प्रहरी चौकीहरूलाई प्रविधिमैत्री बनाएर अपराध नियन्त्रण गर्नतर्फ केन्द्रित रहेको बताउनुभयो । उहाँले जनशक्ति थप गर्दै छिटो छिटोछरितो रुपमा काम गर्ने वातावरण सृजन गर्ने , ठाउँ ठाउँमा सिसिटिभी जडान गरेर आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिन सक्ने वातावरण बनाउने काममा सरकारको योजना रहेको भन्दै प्रजिअ पाण्डेले स्थानीयको मागलाई पनि पुरा गर्नतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यसै गरी जिल्ला प्रहरी कार्यालयका प्रमुख यादव ढकालले पनि प्रहरी चौकी स्थापना गर्ने कुरामा सम्बन्धित निकायमा कुरा राख्ने बताउनुभयो । जनशक्ति अभावका कारण आवश्यकता भएका ठाउँहरूमा समेत प्रहरी चौकी स्थापना गर्न असमर्थ रहेको भन्दै उहाँले यस क्षेत्रमा वडाले निर्णय नै गरेर जग्गा समेत छुट्टाएको हुँदा प्रहरी चौकी स्थापना गर्ने कुरामा पहल गर्ने बताउनुभयो । साथै उहाँले नागरिकका गुनासोहरूलाई सम्बोधन गर्दै समाजमा हुने विकृति विसङ्गतिको अन्त्य गर्न प्रहरी र नागरिक दुवै मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस