नवलपुर । नवलपरासी पूर्व (नवलपुरको ) हुप्सेकोट गाउँपालिका तीनमा रहेको विराट सामुदायिक वनले गरिब तथा विपन्न विद्यार्थीलाई प्राविधिक शैक्षिक शुल्क (छात्रवृत्ति) तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
शनिवार एक कार्यक्रमका बिच वनले विद्यार्थी तथा अभिभावक समेतको सहभागितामा शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको हो । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष समेत रहनुभएकी हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सहभागी विद्यार्थीहरूलाई सामग्री तथा चेक प्रदान गर्नुभएको थियो ।
वनको कार्यक्षेत्र भित्र पर्ने सामुदायिक तथा संस्थागत समेत गरी आठ वटा विद्यालयका २९० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको वनका सचिव ईश्वरी रेग्मीले जानकारी दिनुभयो । कक्षा नर्सरी देखि कक्षा आठसम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई उनीहरूको आवश्यकताका आधारमा कापी , कलम , ई लेजर र पेन्सिल कटर वितरण गरिएको हो । भने, हुप्सेकोट प्राविधिक शिक्षालयमा अध्ययन गरिरहेका नौ जना विद्यार्थीहरूलाई एक वर्षभरिको शैक्षिक शुल्क स्वरूप प्रति विद्यार्थी २५ हजार रुपियाँ बराबरको छात्रवृत्ति रकम समेत प्रदान गरिएको रेग्मीले बताउनुभयो ।
सामुदायिक वनका अध्यक्ष प्रेम बहादुर कार्कीले वनले आफ्नो सामाजिक उत्तरदायित्व तथा लक्षित वर्गको बजेटबाट गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र छात्रवृत्ति रकम प्रदान गरेको बताउनुभयो । विगत तीन वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पाण्डेले सामुदायिक वनलाई यहाँका स्थानीयले नै मिलेर जोगाएको र वनबाट आएको आम्दानीले अहिले बालबालिकाहरूमा लगानी गरेको बताउनुभयो । उहाँले वन संरक्षण गर्ने काम यहाँका अभिभावकहरुलेनै गरेको, जसले गर्दा वनमा उत्पादन भएको काठ दाउरा बिक्री गरी भएको आम्दानीबाट शैक्षिक सामग्री र शैक्षिक शुल्क प्रदान गर्न सफल भएको हुँदा आउँदा दिनहरूमा आफ्ना छोराछोरीलाई समेत वनलाई जोगाउनुपर्छ , संरक्षण गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न अभिभावकहरूलाई अनुरोध गर्नुभएको थियो । उहाँले वन संरक्षण हुँदा धेरै कुरामा टेवा पुग्ने भन्दै भन्नुभयो –‘वन संरक्षण भयो भने , वातावरण सफा, हराभरा हुन्छ , समयमा पानी पर्छ , काठ दाउरा समेत पाइन्छ, अर्कोतर्फ वनबाट भएको आम्दानीले समुदायमा विकास निर्माणका काम समेत गर्न सकिन्छ , हामीले पनि वनसँग मिलेर बाटोघाटो पिच गर्ने जस्ता विकासका काम गरेका छौँ । ’
कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष विष्णु रानाले विराट वनले समुदायका लागि धेरै राम्रा कामहरु गर्दै आएको स्मरण गर्नुभयो । उहाँले वनले पूर्वाधार विकासदेखि लिएर सामाजिक कामसंगै शिक्षा र कृषिको क्षेत्रमा समेत लगानी गर्दै आएको बताउनुभयो ।
यस्तै कार्यपालिका सदस्य तथा प्रवत्ता रेवती सारुले आफ्नो गाउँसमुदायमा सकारात्मक परिर्वन र स्थानीय उपभोक्ताहरुको उत्थान गर्ने काम वनले गर्दै आएको बताउनुभयो । भने वनका संस्थापक अध्यक्ष तथा सल्लाहाकार तारा बहादुर कार्कीले वन संरक्षणमा सबै मिलेर लाग्न अनुरोध गर्दै वन जोगाएकै कारण आज गरिब विपन्न समुदायका बालबालिकाहरुले लाभ लिन सकेको बताउनुभयो ।
कार्यक्रममा अनुगमन समिति संयोजक शोभाकान्त लामिछान, सरस्वती संस्कृत तथा साधारण माविकी प्रध्यानाध्यापक रेनुका भट्टराई , भुपु सैनिक प्रभात एकेडेमीका पिन्सीपल चुरा बहादुर गुरुङले समेत आफ्नो मन्तव्य राख्दै विराट सामुदायिक वनले गरेको कार्यहरुको प्रशंसा गर्नुभएको थियो ।
वनका अध्यक्ष प्रम बहादुर कार्कीको अध्यक्ष्तामा भएको कार्यक्रममा सचिव इश्वरी रेग्मीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विद्यालय , हुप्सेकोटका विभिन्न सामुदायिक वन तथा विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।