जलवायु उत्थानशील कार्य सुदृढीकरणको लागि अभिमुखीकरण

जलवायु उत्थानशील कार्य सुदृढीकरणको लागि अभिमुखीकरण

नवलपुर  ।  स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम बिहीबार कावासोती नगरपालिकामा भएको छ ।
गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला महासङ्घ नवलपुरको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रमका बारेमा जानकारी दिँदै गैसस महासङ्घ नवलपुरका अध्यक्ष खेमराज सापकोटाले जलवायु परिवर्तनका कारण गण्डकी जलाधार क्षेत्रमा परेको असर न्यूनीकरणका लागी पहल गर्न यस कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सराकारवालासंगको सहकार्यमा , हरित जलवायु कोषका सहायतामा गण्डकी जलाधार क्षेत्रका सङ्कटापन्न समुदाय तथा पारिस्थितिक प्रणाली , जलवायु उत्थानशीलता सुधार कार्यक्रम मार्फत गण्डकी जलाधार क्षेत्रमा पर्ने १९ वटा जिल्लाका १५१ वटा पालिकामा यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।
विशेषगरी मानवीय क्रियाकलापका कारण जलवायुमा पर्ने असरहरूलाई न्यूनीकरण गर्न स्थानीय सकारले नै नीति कार्यक्रम बनाएर पहल गर्न पहल गर्ने उद्देश्यका लागि यो कार्यक्रम आयोजना गरिएको सापकोटाले बताउनुभयो । सापकोटाले आफ्नो प्रस्तुति राख्दै जलवायु उत्थानशीलता प्रवद्र्धन गर्ने स्थानीय नीतिहरू निर्माण गर्ने विषयमा चर्चा गर्नुभएको थियो । उहाँले भौतिक पूर्वाधार नीति , सामाजिक समावेशीकरण नीति , वातावरण संरक्षण तथा विपद् व्यवस्थापन नीति मार्फत जलवायुका विषयलाई समेट्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विष्णु प्रसाद भुसालले जलवायु परितर्वनको असरले हिमालमा हिँंउ देखिन छाडेको खडेरी पर्नु थालेको , रैथाने बोटबिरुवाहरू नास हुने अवस्थामा पुगेको भन्दै यस कार्यक्रमको उद्देश्य वातावरण संरक्षण गर्ने रहेको हुँदा आफू र आफ्नो पालिका सकारात्मक रहेको र यस बारेमा पालिकाले नीतिगत व्यवस्था गरेर अगाडी बढ्ने कुरामा कार्यपालिकामा कुरा राख्ने बताउनुभयो।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले कृषि पशुपालन तथा भौतिक संरचना लगायतका माध्यमबाट जलवायु अनुकूलनका क्षेत्रमा गर्न सकिने खालका कार्यक्रमहरू फलिकाबाट सञ्चालन गर्ने कुरामा आफूहरूले पहल गर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तनले खेतीपाती सँगै वातावरण र मानव स्वास्थ्यमा समेत असर गरिरहेको हुँदा यो विषयमा समयमै सचेत र सजग भएर सबै मिलेर काम गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा कावासोती नगरपालिका उपप्रमुख फूल कुमारी थनेत , कावासोतीका विभिन्न वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो ।
गैसस महासङ्घ अध्यक्ष खेमराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासङ्घकी पूर्व उपाध्यक्ष लक्ष्मी गौतमले सहजीकरण गर्नुभएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस