जिल्ला प्रहरी कार्यालयमा बाल निगरानी कक्ष

जिल्ला प्रहरी कार्यालयमा बाल निगरानी कक्ष

नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व (नवलपुरमा) बाल निगरानी कक्ष स्थापना गरिएको छ ।
बालमैत्री वातावरण सहितको बाल निगरानी कक्ष स्थापना गरिएको हो ।
१८ वर्षमुनिका बालबालिकाले गरेको अपराध नभई बाल बिज्याईं भनिने र बाल बिज्याईंमा आरोपित भएकाहरूलाई अन्य वयस्क आरोपितहरू भन्दा छुट्टै राख्नुपर्छ भन्ने अवधारणा अनुरूप बाल निगरानी कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
‘आपराधिक र गैर कानुनी क्रियाकलाप (बाल बिज्याईंमा) संलग्न भएका बालबालिकालाई छुट्टै स्थानमा राखेर उनीहरूमाथि निगरानी र अनुसन्धान गर्न सहज होस भनी छुट्टै कक्ष बनाइएका हौँ । ’ ढकालले भन्नुभयो ।
नेपालमा बालबालिका सम्बन्धी ऐन लागु भएपछि अन्य वयस्क आरोपित व्यक्ति राखेको हिरासतमा राख्न नमिल्ने र बालबालिकाका लागि बालमैत्री वातावरण सहितको कक्ष स्थापना गर्नुपर्ने समेत भएको हुँदा कार्यालयमा बाल निगरानी कक्ष स्थापना गरेको प्रहरी प्रमुख ढकालले बताउनुभयो ।
उक्त कक्षमा बालबालिकाका लागि आवश्यक पर्ने खेलौनादेखि लिएर टिभी , एट्याज ट्वाइलेट बाथरुम , पढ्न लेख्नका लागि बोर्ड तथा कार्पेट समेतको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मधु नेपालले जानकारी दिनुभयो । कुनै कसुर गरी प्रहरी हिरासतमा राख्नुपरेका अभिभावकहरूसँगै यदि कुनै बालबालिकाहरूलाई सँगै राख्नुपर्ने अवस्था आएमा पनि यसै बाल निगरानी कक्षमा राख्न सकिने गरी व्यवस्थापन गरेको नेपालले बताउनुभयो ।
केही समय अघि मात्रै सञ्चालनमा ल्याइएको यस कक्षमा अहिलेसम्म कुनै पनि बालबालिकालाई राखिएको भने छैन । ‘बालबालिकाहरूलाई बाल निगरानी कक्षमा राख्न नपरेको कुरा त राम्रो हो । हामीले त कसैलाई राख्नै नपरे हुन्थ्यो भन्छौँ तर, घटना हुँदैन भन्न पनि सकिँदैन यदि भइहालेमा हामीले यस कक्षको सदुपयोग गर्नेछौँ । ’नेपालले भन्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस