प्रकाश रेग्मी, नवलपुर — अपाङ्गता भएका नागरिकहरूको जीवनयापनलाई सहज र आत्मनिर्भर बनाउन मध्यविन्दु नगरपालिकाले सहायक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा बिहीबार सम्पन्न सो कार्यक्रममा नगरभित्र रहेका विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवनमा आवश्यक पर्ने सहायक सामग्री प्रदान गरिएको हो।
कार्यक्रमको उद्घाटन तथा सामग्री हस्तान्तरण नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले अपाङ्गता भएका नागरिकहरूलाई सहजीकरण गर्नु प्रत्येक नागरिक र राज्यको पनि कर्तव्य भएको उल्लेख गर्नुभयो। “अपाङ्गता भएका बुवा आमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आवश्यक सहजीकरण गर्नु हाम्रो सामाजिक दायित्व हो। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ,” नगरप्रमुख अधिकारीले भन्नुभयो।
साथै, उहाँले अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारको संरक्षण गर्दै उनीहरूको जीवनस्तर उकास्नका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै भविष्यमा स्वास्थ्य, शिक्षा र रोजगारमा समेत पहुँच अभिवृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरप्रमुख अधिकारीले यस्ता कार्यक्रमलाई आगामी वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गर्दै थप प्रभावकारी बनाइने र अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता अनुसार सामग्री तथा सेवाको पहुँच विस्तार गरिने बताउनुभयो।
नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरणका लागि आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने योजना बनाएको जानकारी समेत दिइएको छ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पुष्पा कुमारी रिजालले विगत केही वर्षदेखि नै नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग स्वरूप यस्ता सामग्री वितरण गर्दै आएको जानकारी दिनुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिहरूको माग र आवश्यकताको पहिचान गरी सहायक सामग्री वितरण गरिएको बताउनुभयो।
उक्त कार्यक्रममा चक्कावाला कुर्ची २३ वटा, सुनुवाइ मेसिन (ज्भबचष्लन ब्ष्म) १६ वटा, ड्राईपर (ठुलो) ४ प्याकेट, बैसाखी ४ वटा, लट्ठी (क्तष्अप) ८ वटा, वाकर १ वटा र ट्वाइलेट कुर्ची १ वटा वितरण गरिएको थियो। सहभागी लाभग्राहीहरूले यस्ता सामग्रीले आफ्नो दैनिक जीवनमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै नगरपालिका र सरोकारवालाप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा नगर उपप्रमुख पूर्णकला चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा अध्यक्षहरू, अपाङ्गता भएका व्यक्ति, उनीहरूका अभिभावकहरू लगायतको उपस्थिति रहेको थियो।