कावासोती । कावासोतीमा अटिजम केयर सेन्टर स्थापना गर्न अभिभावकहरूले माग गरेका छन् ।
कावासोती नगरपालिकाको आयोजनामा आज भएको अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकहरूका लागि अपाङ्गता अधिकार सम्बन्धी सचेतना कार्यक्रममा सहभागी भएका अभिभावकहरूले कावासोतीमा अटिजम केयर सेन्टरको एकदमै खाँचो रहेको समेत औँल्याएका छन् ।
कावासोती तीन निवासी अनु श्रेष्ठले कार्यक्रममा बोल्दै भन्नुभयो – ‘यहाँ एउटा अटिजम केयर सेन्टरको निकै खाँचो छ । अहिले मेरा छोरा ६ वर्षको भयो । मैले काठमाडौँमा उसको थेरापी गराइराखेको छु । आफ्नै ठाउँमा सेन्टर नहुँदा बच्चा बोकेर आउजाउ गर्न पनि कत्ति गाह्रो हुन्छ , खर्च पनि धान्नै गाह्रो भएको छ । ’
कावासोती १६ का विष्णु परियारले भन्नुभयो –‘अटिजम भएका बच्चाहरूलाई घरमा त सम्हाल्न गाह्रो हुन्छ , झनै बोकेर अन्यत्र लैजानुपर्दा निकै समस्या आइपर्छ , अरूजस्तो नर्मल हुँदैनन् । जतासुकै हिँड्दिन्छन् । दिसापिसाब गराउन पनि समस्या हुन्छ , त्यसैले आफ्नै ठाउँमा केयर सेन्टर भए हामीजस्ता अभिभावकलाई धेरै राहत हुनेथ्यो । ’
कार्यपालिका सदस्य समेत रहनुभएकी गीता विकको ६ वर्षीय छोरामा पनि अटिजम छ । उहाँले चितवनको केयर सेन्टरमा छोरालाई राख्नुभएको छ । उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो –‘मैले मेरो छोरालाई केयर सेन्टरमा राखेपछि धेरै सुधार भएको छ । नाम भन्न नजान्ने बच्चाले नाम भन्न सिकेको छ । अटिजम भएका बच्चालाई घरभित्रै राख्नु भन्दा केयर सेन्टरमा राख्दा केही कुरा सिक्ने , आनीबानीमा पनि सुधार आउने हुने रहेछ त्यसैले यहाँ केयर सेन्टरको आवश्यकता छ । मैले यो कुरा महसुस गरेर बैठकमा समेत राखेको हो । ’
कार्यक्रम सहभागी भएका ५० जना अभिभावकहरूले एकै स्वरमा कावासोतीमा अटिजम केयर सेन्टर स्थापना गर्नुपर्ने माग गर्दै नगर प्रमुख विष्णु प्रसाद भुसाल र उपप्रमुख फूल कुमारी थनेतलाई ध्यानाकर्षण समेत गराउनुभयो ।
अटिजम र बौद्धिक अपाङ्गता भएकाहरूलाई लक्षित गर्दै पालिकाले पहिलो पटक यसरी कार्यक्रम आयोजना गरेको नगर उपप्रमुख फूल कुमारी थनेतले बताउनुभयो । नगर उपप्रमुख थनेतले अटिजम र बौद्धिक अपाङ्गता भएकाहरूप्रति आफू संवेदनशील रहेको भन्दै केयर सेन्टर बनाउनेमा कुरामा आफू सकारात्मक रहेको समेत बताउनुभयो ।
कावासोती नगरपालिका बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी अधिकृत सुभद्रा शर्माले कावासोतीमा ६० जनाको सङ्ख्यामा अटिजम र बौद्धिक अपाङ्गता भएकाहरू रहेको जानकारी दिनुभयो । प्रत्येक वर्ष जस्तो यो समस्या वृद्धि हुँदै गएको उहाँले बताउनुभयो । समयमै केयर सेन्टर स्थापना गर्न सके त्यस्ता बालबालिकाहरूलाई केही न केही टेवा पुग्ने मनसायले यसरी कार्यक्रम राखेको भन्दै उहाँले अभिभावक तथा सरोकारवालाहरू समेतलाई बोलाएर छलफल गरेको बताउनुभयो ।
कार्यक्रममा अटिजम केयर चितवन सोसाइटीकी अध्यक्ष प्रमीला न्यौपानेले सहजीकरण गर्दै केयर सेन्टर स्थापनाका लागि सरकार मात्रैको मुख ताक्न नहुने अभिभावकहरू सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो । उहाँले अटिजमका बारेमा जानकारी गराउँदै यो कुनै रोग नभएको बताउनुभयो । १८ महिनादेखि ३ वर्षभित्र बच्चामा अटिजम छ भन्ने कुरा थाहा पाउन सकिने बताउनुभयो । अटिजम भएका बच्चाहरू अन्य नर्मल बच्चाहरू भन्दा फरक व्यवहार गर्ने हुँदा उनीहरूलाई स्नेहको खाँचो पर्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल , नगर शिक्षा अधिकारी हेमचन्द्र पौडेल , शिक्षा शाखा अधिकृत राजन पाण्डे , विभिन्न वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य सहित अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाहरूको अभिभावकहरू , सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।