
कावासोती ।नवलपरासी पूर्व (नवलपुरको ) विनयी त्रिवेणीमा जारी ‘वन जैविक वस्तु व्यवस्थापन तथा कृषिको दिगोपन’ सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन १० बुँदे नवलपुर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
शनिवारबाट सुरु भएको सम्मेलन आइतबार १० बुँदे घोषणा पत्र जारी गर्दै सकिएको हो । सम्मेलनले जारी गरेको घोषणापत्रका बारेमा फेकोफनका केन्द्रीय कोषाध्यक्ष शान्ता न्यौपानेले जानकारी गराउनुभएको थियो ।
घोषणापत्रमा वन व्यवस्थापन, वन बायोमासको सदुपयोग र कृषिको दीगोपनालाई प्रवर्धन गर्न देश भित्रका विभिन्न विश्व विद्यालयहरु, तीनै तहका सरकारहरू, दातृ निकायहरू र अन्य सरोकारवालाहरूको समन्वयमा अनुसन्धान, प्रविधि विकास तथा हस्तान्तरणलाई प्राथमिकता दिने मुख्य विषयमा समेटिएको छ ।
यसै गरी वन व्यवस्थापनका माध्यमबाट उत्पादित वन बायोमासको सदुपयोगलाई स्थानीय, प्रदेश तथा संघीय सरकारहरुको नीति तथा कार्यक्रमहरूमा मूल प्रवाहीकरण गर्ने, वन वायोमासको सदुपयोगबाट उत्पादित वस्तुहरूको परीक्षण, प्रमाणीकरण तथा बजारीकरण एवं बजार सुनिश्चितताको लागि सम्बन्धित स्थानीय तहहरूले भूमिका निर्वाह गर्ने , जलवायु मैत्री कृषि अभ्यास(ऋष्mिबतभ क्mबचत ब्नचष्अगतिगचभ एचबअतष्अभ) लाई प्रवर्धन गर्न तीनै तहका सरकारहरू तथा मातहतका निकायहरुले बार्षिक कार्यक्रममा समावेश गरी बजेट विनियोजन गर्ने , वन व्यवस्थापन गर्दा उत्पादित वन बायोमासको सदुपयोग गरी वन उद्यमको विकाश तथा प्रवर्धन गर्ने लगायतका बुँदा समेटिएको छ ।
यस्तै प्राङ्गारिक खेती(इचनबलष्अ ँबचmष्लन) लाई प्रवद्र्धन तथा विस्तार गरी रासायनिक मलको प्रयोगलाई प्रतिस्थापन गर्न रासायनिक मलमा हुँदै आएको सरकारी लगानीलाई जैविक मल उत्पादन तथा विस्तारमा लगाउने ,वनको व्यवस्थापनको माध्यमबाट उत्पादित वस्तुको उत्पादन तथा उपयोगका लागि सङ्घ, प्रदेश र स्थानीय तहले आवश्यक अनुदान प्रदान गर्ने व्यवस्था गर्ने , सामुदायिक वन उपभोक्ता समूह द्वारा सञ्चालित उद्यमहरूलाई अन्य उद्योग सरह दर्ता, कर छुट र बजार विस्तारमा रहेका कानुनी व्यवधानहरूलाई फुकाउन आवश्यक कानुन संशोधनको लागि वकालत तथा पैरवी गर्ने , वन व्यवस्थापनका माध्यमबाट उत्पादित वन बायोमासको सदुपयोगबाट प्राङ्गारिक मल उत्पादन गर्ने कार्यलाई बन डढेलो न्यूनीकरण र जलवायु वित्तको प्रमुख रणनीतिको रूपमा देशव्यापी रूपमा अवलम्बन गर्ने र वन वायोमासको सदुपयोगबाट प्राङ्गारिक मल उत्पादन र वैकल्पिक ऊर्जाको विकाशका लागि सम्पूर्ण सामुदायिक वन उपभोक्ता समुहरुले एक वन एक उद्यम अभियानकै रूपमा सञ्चालन गर्ने र सो का लागि सङ्घ, प्रदेश र स्थानीय तहले आवश्यक बजेट अनुदान र श्रोत साधनको साथै प्राविधिक सेवा प्रवाह गर्ने गरी १० बुँदे घोषणापत्र जारी गरेको हो ।
विनयी त्रिवेणीको दुम्किबासमा प्रथम राष्ट्रिय सम्मेलनको शनिवार गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले उद्घाटन गर्नुभएको थियो ।
विनयी त्रिवेणी गाउँपालिका र डिभिजन वन कार्यालयको समन्वयमा विनयी सामुदायिक बन उपभोक्ता समूह तथा नेपाल बायो विज्ञान अनुसन्धान ल्याबको आयोजनामा पहिलो राष्ट्रिय सम्मेलन भएको हो ।
सम्मेलनमा विषय विज्ञबाट प्रस्तुति र छलफल समेत भएको हुँदा वन डढेलोका कारण हुने क्षति न्यूनीकरण, वायु प्रदूषण न्यूनीकरण, वनमा आधारित उद्यम विकास , वनका काम नलाग्ने झाडीबाट जैविक मल उत्पादनलाई थप व्यवस्थापन र विस्तार कसरी गर्न सकिन्छ, वनको वायोमासको व्यवस्थापन, उद्यमशीलता विकास , कृषिमा जैविक मलको प्रयोगका फाइदा सहित डढेलोका कारण बढ्दो वातावरण प्रदूषण नियन्त्रण जस्ता विषयमा स्थानीय सँगै प्रदेशका विभिन्न जिल्लाबाट आएका सहभागीहरूमा समेत सकारात्मक प्रभाव पारेको विश्वास लिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।
