कावासोती । नवलपरासी पूर्व (नवलपुरमा ) विगत तीन वर्षको अवधिमा १६३ वटा लागु औषधका मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९ ÷ ०८० मा ९९ , ०८० ÷ ०८१ मा ४२ र चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा २२ वटा मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । दर्ता भएका मुद्दामा सबैभन्दा बढी कावासोती नगरपालिकामा ६१ वटा छन् । भने त्यसपछि विनयी त्रिवेणी गाउँपालिकामा ३३ वटा रहेको ढकालले बताउनुभयो । तीन वर्षको अवधिमा मध्यविन्दुमा २८ , देवचुलीमा ९ , बुलिङटार ३ र हुप्सेकोट गाउँपालिकामा एउटा मुद्दा दर्ता भएको , र बौदीकलीमा भने एउटा पनि मुद्दा दर्ता भएको छैन । चालु आर्थिक वर्षको नौ महिनामा जिल्लाको बुलिङटार , हुप्सेकोट र बौदीकाली गाउँपालिकामा लागु औषधका मुद्दा दर्ता नै भएका छ्रैनन् ।
कावासोतीको चालिस किलो क्षेत्रमा नियमित चेकजाँचका क्रममा धेरैजसो लागुऔषद्य ओसापसार कर्तालाई पक्राउ गर्ने गरिएको प्रहरी प्रमुख ढकालको भनाई छ । जिल्लामा कारोबारी भन्दा पनि ओसारपसार गर्नेहरू बढी पक्राउ पर्ने गरेका छन् । तीमध्ये जिल्लाकै धेरै न्यून छन् । जिल्ला बाहिर चितवन , पोखरा , लमजुङ , धादिङ , काठमाडौँ लगायतका जिल्लामा बढी ओसारपसार हुने गरेको पाइएको ढकालले जानकारी दिनुभयो ।
नवलपुर जिल्ला लागुऔषद्य ओसारपसार गर्ने ट्रान्जिट पोइन्टका रूपमा लिने गरिएको छ । भारतसँग जोडिएको जिल्ला भएकाले पनि सिमानाकाबाट लागुऔषद्य ओसारपसार बढी हुने गरेको प्रहरी प्रमुख ढकाल बताउनुहुन्छ । सीमा पारीबाट मोटर साइकल , साइकलमा शरीरका विभिन्न भागमा लुकाएर लागुऔषद्य ल्याउने र विभिन्न जिल्लामा ओसार पसार गर्ने गरेको पाइएको ढकाल बताउनुहुन्छ । पछिल्लो समय पैदल यात्री बनेर समेत लागुऔषद्य ओसारपसार हुन थालेको उहाँको भनाई छ ।
नवलपुरको त्रिवेणी, नवलपरासी पश्चिमको महेशपुर, भुजहवा, गुठी सुर्यपुरा , गुठी प्रसौनी ,लक्ष्मिपुरा नाकाबाट लागुऔषध भित्राउने गरेको प्रहरी अनुषन्धनमा खुलेको उहाँले जानकारी दिनुभयो । पक्राउ पर्नेमा अधिकांश युवा नै रहेको ढकालको भनाई छ ।