कावासोतीको चार वटा वडा बालमैत्री घोषणा गरिदै

कावासोतीको चार वटा वडा बालमैत्री घोषणा गरिदै

नवलपरासी पूर्व (नवलपुरको) कावासोती नगरपालिकाको चार वटा वडालाई बालमैत्री वडा घोषणा गर्न तयारी तीव्र पारिएको छ ।
पहिलो चरणमा वडा नं. ३,४,१२ र १६ लाई बाल मैत्री वडा घोषणा गर्नका लागि पालिका तथा वडा कार्यालयबाट विभिन्न कामहरू सञ्चालन भइरहेका छन् । बालमैत्री वडा घोषणाको तयारी स्वरूप यी चार वडामा विद्यालय तथा समुदाय स्तरमा छलफल तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । भने बाल क्लब गठन तथा बालमैत्री हुन आवश्यक पर्ने विभिन्न सूचकहरू पुरा गर्नका लागि कामहरू सञ्चालन गरिएको वडा नम्बर १६ का अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिनुभयो । पहिलो चरणमा बालमैत्री वडा घोषणा हुने वडा मध्ये आफ्नो वडा पनि परेकोमा खुसी लागेको भन्दै अध्यक्ष श्रेष्ठले बालमैत्री हुन आवश्यक पर्ने सबै सूचक पुरा गर्न वडाभित्र गर्नुपर्ने कामहरूलाई तीव्र पारिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले टोल टोलमा , विद्यालय तथा वडा स्तरमा बाल क्लब गठन , वडा स्तरीय बाल अधिकार समिति गठन गर्ने कार्य सम्पन्न भइसकेको छ भने , बालबालिकाको नियमित बैठकहरू बसेर बालबालिकाहरूकै सहकार्यमा अभियान अन्तरगतका कामहरू भइराखेको छ । बालमैत्री अभियानकै लागि वडाले बालबालिकाको लागि छुट्टै ठाउँ र फाइल राख्ने दराज लगायतका सामग्रीको व्यवस्थापन समेत गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यता कावासोती तीनले पनि बालमैत्री वडा घोषणाको तयारीलाई तीव्र पारेको जनाएको छ । वडा अध्यक्ष डोरमान गिरीले बालमैत्री हुने वडा मध्ये सबैभन्दा ठुलो , राजमार्ग छेउ र बजारको वडा भएकाले अन्य वडा भन्दा केही चुनौती रहे पनि चुनौतीलाई पार गर्दै बालमैत्री अभियान सफल बनाउन लागि परेको बताउनुभयो । खास गरी बजारमा रहेका होटेल, पसल तथा ग्यारेजहरूमा बालश्रम नहोस् भन्न अनुगमन तथा निगरानी गर्ने देखि बालबालिका लक्षित कामलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
यसै गरी कावासोती १२ नम्बर वडाले पनि बालमैत्री वडा घोषणा अन्तरगत गर्नुपर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको अध्यक्ष ध्रुव खनालले बताउनुभएको छ । यस वडा ग्रामीण क्षेत्रमा पर्ने हुँदा विशेष गरी सचेतना प्रदान गर्ने , बालबालिकाका लागि आवश्यक पर्ने पोषणका कुरा जानकारी गराउने जस्ता कामहरू भइरहेको अध्यक्ष खनालले बताउनुभयो ।
कावासोतीका चार वटा वडालाई यसै आर्थिक वर्षभित्र बालमैत्री घोषणा गर्ने गरी काम भइराखेको प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले जानकारी दिनुभयो । कावासोती नगरलाई नै आउँदो आर्थिक वर्षको फागुन मसान्तसम्म बालमैत्री घोषणा गर्ने तयारी रहेको पौडेलको भनाई छ । पहिलो चरणमा चार वटा वडालाई बालमैत्री घोषणा गर्ने र क्रमशः अन्य वडाहरूलाई समेत घोषणा गरी पालिकालाई नै बालमैत्री घोषणा गरिने पौडेलले बताउनुभयो ।
पहिलो चरणमा घोषणा हुन लागेको चार वटा वडामा ६ हजार पाँच सय घरधुरी रहेको छ । मोबाइल सफ्टवेयर मार्फत गणकले ती घरधुरीमा फर्म भर्ने काम गरिने पौडेलले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस