नगर प्रमुख अधिकारीद्वारा मध्यविन्दुको विकासका लागि बजेट माग

  • नवलपुर आज
  • २०८१ चैत्र २६, बुधबार (१ हप्ता अघि)
  • १०५ पटक पढिएको
नगर प्रमुख अधिकारीद्वारा मध्यविन्दुको विकासका लागि बजेट माग

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दहालसँग भेटवार्ता गर्नुका साथै अन्य सम्बन्धित मन्त्रालय र विभागहरूसँग पनि छलफल गर्नुभएको छ।

विकास निर्माण कार्यलाई थप प्रभावकारी बनाउन र बजेट सुनिश्चित गर्न उहाँ काठमाडौँमा भेटघाटमा रहनुभएको हो।
भेटका क्रममा नगर प्रमुख अधिकारीले पालिकाभित्रका विविध योजनाहरूको विवरणसहितको प्रस्तावना पत्र मन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको थियो। उहाँले सडक, पुल, यातायात, सार्वजनिक संरचना तथा अन्य भौतिक पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोग अपरिहार्य रहेको बताउँदै सो अनुरूप बजेट विनियोजनको माग गर्नुभएको हो।
यसका अतिरिक्त नगर प्रमुख अधिकारीले स्थानीय पूर्वाधार विभागका उच्च अधिकारीहरूसँग समेत छुट्टै भेटवार्ता गर्नुभएको छ। सो अवसरमा उहाँले नगर क्षेत्रका सडक विस्तार, ढल निकास, भौतिक संरचना निर्माण लगायतका योजनाहरू प्रस्तुत गर्दै सम्बन्धित विभागलाई योजनाबारे अवगत गराउनुभएको थियो।

त्यसै गरी, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि अधिकारीले भेटवार्ता गरी नगरपालिकामा चालु तथा प्रस्तावित सिँचाइ योजनाहरूको विवरण प्रस्तुत गर्नुभएको छ। कृषि उत्पादनमा वृद्धि तथा पानी व्यवस्थापनमा सुधार ल्याउन यस्ता योजनाहरू अत्यावश्यक रहेको बताउँदै उहाँले मन्त्रालयसँग आवश्यक सहयोगको माग गर्नुभएको हो।
नगर प्रमुख अधिकारीको यस भेटघाटलाई विकासप्रतिको प्रतिबद्धता र सक्रियताका रूपमा हेरिएको छ। उहाँले केन्द्र, प्रदेश तथा स्थानीय सरकारबिचको समन्वयबाट मात्रै दिगो विकास सम्भव हुने धारणा व्यक्त गर्नुभएको छ। मन्त्री तथा सम्बन्धित निकायहरूले पनि प्रस्तावित योजनाहरू अध्ययन गरी यथोचित सहयोग गर्ने आश्वासन दिएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस