विश्व स्वास्थ्य दिवसको अवसरमा मध्यविन्दुमा रक्तदान कार्यक्रम

  • नवलपुर आज
  • २०८१ चैत्र २३, आईतबार (१ हप्ता अघि)
  • ८२ पटक पढिएको
विश्व स्वास्थ्य दिवसको अवसरमा मध्यविन्दुमा रक्तदान कार्यक्रम

प्रकाश रेग्मी , मध्यविन्दु । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा विश्व स्वास्थ्य दिवसको अवसर पारेर यही चैत्र २५ गते (सोमबार) नगर युवा सञ्जालले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। “स्वस्थ भविष्यका लागि आजको रक्तदान” भन्ने नारासहित आयोजना हुन लागेको यो कार्यक्रम मध्यविन्दु नगर युवा सञ्जालको आयोजना मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोगमा तथा जागृति बाल तथा युवा सरोकार नेपाल, क्यानलान, रक्तदाता समाज नवलपुर र बाघखोर युवा क्लबको समन्वयमा हुन लागेको हो।
मध्यविन्दु नगर युवा सञ्जालका अध्यक्ष प्रकाश रेग्मीका अनुसार कार्यक्रम मध्यविन्दु नगरपालिकाको सभाहलमा हुनेछ। उनले जिल्लामा पछिल्लो समय रक्त अभावको समस्या बढ्दो रहेको र त्यही समस्यालाई केही हदसम्म समाधान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए।
“जिल्लामा दैनिकजसो रगतको आवश्यकता पर्ने बिरामीहरू बढिरहेका छन्। हामीले कम्तीमा केही हदसम्म भए पनि यो अभाव पूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरेका हौं,” अध्यक्ष रेग्मीले भने।
रक्तदान कार्यक्रमको माध्यमबाट नगरवासीहरूमा सामाजिक उत्तरदायित्वको भावना जागृत हुने र नियमित रक्तदानको संस्कार विकास हुने आशा गरिएको छ।
कार्यक्रममा सबै नगरवासीलाई उपस्थित भई रक्तदानमा सहभागी हुन अध्यक्ष रेग्मीले अपिल गरेका छन्। विश्व स्वास्थ्य संगठन (WHO) को सन् १९४८ मा स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अप्रिल ७ मा विश्व स्वास्थ्य दिवस मनाइन्छ।

ताजा अपडेट

खोजी गर्नुहोस