आगलागी पीडितलाई पालिकाले बनाइदियो घर

  • नवलपुर आज
  • २०८१ चैत्र १७, सोमबार (२ हप्ता अघि)
  • १२५ पटक पढिएको
आगलागी पीडितलाई पालिकाले बनाइदियो घर

प्रकाश रेग्मी, मध्यविन्दु ।   नवलपरासी पूर्व ( नवलपुरको) मध्यविन्दु नगरपालिका –१४ मा पर्ने चनौटे र सूर्खा गाउँमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएका चार घर पालिकाको सहयोगमा निर्माण भएको छ ।
गत वैशाख १० गते गाउँ नजिकै रहेको जङ्गलमा लागेको आगो बस्तीमा पस्दा १२ घर गोठ जलेको थियो भने चार घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।
मध्यविन्दु नगरपालिकाको आर्थिक सहयोगमा चार घरपरिवारले घर निर्माण गरेर व्यवस्थित रूपमा बसोबास गर्नुभएको छ । घर जलेर पुर्णरुपमा नष्ट भए पछि आवासको चिन्तामा बस्नुभएका पीडित नवल सीङ ढेगाले नगरपालिकाले घर बनाइदिएपछि सुरक्षित बसोबास गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
घर निर्माण सम्पन्न नहुँदासम्म छर छिमेक तथा आफन्तकोमा बास बसेर जेनतेन समय कटाएको दुखेसो पोख्दै अर्का पीडित टेक बहादुर क्षेत्रीले अहिले आफ्नै घरमा बस्न पाउँदा बल्ल आनन्द लागेको बताउनुभयो ।
आगलागीबाट मध्यविन्दु १४ का नवल सीङ ढेगा , भागिराम ढेगा, टेक बहादुर क्षेत्री र कर्म सीङ सोमैको घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो ।
पालिकावासी विपत्तिमा पर्दा पालिकाले सदैव सहयोग गर्दै आएको नगरप्रमुख भिमलाल अधिकारीले बताउनुभयो । पालिकाले प्रति परिवार एक लाख ७५ हजार रुपैयाँ रकम प्रदान गरेको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो । आगलागीबाट घर गोठै जलेर नष्ट भई बेघर भएका पीडित परिवारलाई बस्ने बास बनाउने काम गरेको अधिकारीले बताउनुभयो ।
घर निर्माण सम्पन्न भएपछि अहिले आगलागीबाट पीडित चार परिवार व्यवस्थित रूपमा बसोबास गर्नुभएको छ ।
अहिलेको समय हावाहुरी लाग्ने तथा वन जङ्गलमा डढेलो लाग्ने समय भएकोले पनि सबै गाउँ नै डढेलो लाग्न नदिनका लागी सचेत भएको स्थानीयले बताएका छन् । गत वर्षको आगलागीबाट आफूहरूले पाठ सिकेको कर्म सीङ सोमैले बताउनुभयो ।

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस