किर्नाले सताएको उपभोक्ताको गुनासो

किर्नाले सताएको उपभोक्ताको गुनासो

कावासोती ।  नवलपरासी पूर्व ( नवलपुरको ) हुप्सेकोट गाउँपालिकामा रहेका वनहरूमा किर्नाले निकै सताउन थालेको उपभोक्ताले गुनासो गरेका छन् ।
विगत केही वर्ष यता वनहरूमा किर्नाले निकै सताउन थालेको स्थानीयको गुनासो छ । वनमा बाख्रा चराउँदै गर्नुभएकी हुप्सेकोट तीन निवासी फूल कुमारी कुमालले विगत तीन वर्ष यता वनमा किर्ना निकै बढेको गुनासो गर्नुभयो । ‘हामी खेती किसानी गर्ने मान्छे वन जङ्गल नगई हुँदैन जङ्गल जाँदा पुरै शरीरै भरी , मानभित्र समेत छपक्कै किर्ना टाँसिन्छ पुरै घाउ बनाइदिन्छ । ’ फूल कुमारीले भन्नुभयो । उहाँ घाँस दाउराका लागि आफ्नो पायक पर्ने विराट सामुदायिक वनमा जाने गर्नहुन्छ । वनको छेवैमा घर भएकाले बाख्रा चराउनका लागि पनि वनमा लाने गरेको सुनाउने उहाँले बस्ती नजिकैको सिसौघारी , झाडीमा समेत किर्नाले सताउने गरेको गुनासो गर्नुभयो ।
उहाँ जस्तै अर्की स्थानीय गेमिसरा ठाडा पनि जङ्गल जाने भनेपछि किर्ना सम्झेर डराउनुपर्ने अवस्था आएको बताउनुहुन्छ । ‘हाम्रो गोठभरी गाई बाख्रा छन् । वनबाट घाँस नल्याई सुख छैन । वनमा गएपछि शरीरै भरी किर्ना टाँसिन्छ , किर्नाले खुन चुसेपछि निकै दुख्न,े चिलाउने, घाउ हुने हुन्छ , एकदमै समस्या भएको छ हामीलाई त । यसलाई मार्ने कुनै उपाय छैन ? ठाडाले भन्नुभयो ।
हुप्सेकोटको विराट सामुदायिक वन , मयुर पोखरी सामुदायिक वन , त्रिकोट सामुदायिक वन , सत्यवती सामुदायिक वन लगायतका वनहरूमा किर्नाले निकै सताउने गरेको यहाँका उपभोक्ताको गुनासो छ ।
विराट सामुदायिक वनका सचिव ईश्वरी रेग्मीका अनुसार केही वर्ष पहिले वनमा किर्ना निकै कम थियो । वनमा घाँस दाउरा गर्न जाँदा वा वन समूहको कुनै काम विशेषले जाँदा मानिसलाई कताकति टाँसिन्थे । तर अहिले किर्ना निकै बढेकोले वनभित्र गएपछि टाँसिहाल्ने गरेको बताउनुहुन्छ । ‘उपभोक्ताहरूले किर्ना बढी भयो वनमा डढेलो लगाउन परयो भनेर पनि भन्नुहुन्छ तर त्यसो गर्न त मिलेन , अन्य उपाय पनि छैन । के नै गर्न सकिन्छ र ?’ रेग्मीले भन्नुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नवलपुरका सचिव सुशील पौडेलले सामुदायिक वनका साधारण सभा तथा विभिन्न कार्यक्रमहरूमा पनि किर्नाको प्रकोप भया भनेर उपभोक्ताबाट गुनासो आउने गरेको बताउनुभयो । पछिल्लो समय सामुदायिक वनहरूमा बँदेल तथा स्याल लगायतका किर्ना बढी लाग्ने वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुँदा किर्नाको सङ्ख्यामा समेत वृद्धि भएको हुनसक्ने सचिव पौडेलको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस