मध्यविन्दुमा डढेलो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

  • नवलपुर आज
  • २०८१ चैत्र ४, मंगलबार (१ महिना अघि)
  • १७३ पटक पढिएको
मध्यविन्दुमा डढेलो व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

मध्यविन्दु । वन डढेलो व्यवस्थापन सम्बन्धी सरोकारवालाहरूलाई अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम मध्यविन्दुमा सम्पन्न भएको छ । कार्यक्रम सब डिभिजन वन कार्यालय भाग्रा रानिटारको आयोजनामा भएको कार्यक्रम मध्यविन्दु नगरपालिकाको सभा हलमा भएको थियो।
सुख्खा मौसम सुरु भए सँगै वनमा डढेलोको जोखिम बढ्ने हुँदा त्यसको रोकथामका लागि जनमानसमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको छ । सोही अन्तर्गत वन डढेलो सचेतना सप्ताह २०८१ अन्तर्गत आज मध्यविन्दुमा कार्यक्रम गरिएको सब डिभिजन वन कार्यालय भाग्रा रानिटारका प्रमुख भेस बहादुर महतोले बताउनुभयो ।
वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि आगामी चैत ७ गतेसम्म ‘वन डढेलो सचेतना सप्ताह’ कार्यक्रम सञ्चालन गरिने डिभिजन वन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का प्रमुख वसन्त केशव अधिकारीले बताउनुभयो ।
जस अन्तर्गत समुदायमा वन डढेलो रोकथाम सम्बन्धी सचेतना गर्ने, फायर लाइन रेखा सफा गर्ने, डेमो गराउने, पातपतिङ्गरहरू हटाउने तथा जलाउने लगायतका कार्यहरू सञ्चालन गरिने भएको छ । कार्यालयले समुदाय, वन कर्मचारी तथा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया गर्दै सप्ताहव्यापी रूपमा कार्यक्रमलाई अगाडि बढाउने कार्यालय प्रमुख अधिकारीले बताउनु भयो ।
“प्रत्येक वर्ष चैत १ गते देखि ७ गते सम्म सचेतना मूलक रूपमा सप्ताहव्यापी कार्यक्रम गर्ने गरिएको छ”,उहाँले भन्नु भयो,“सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राजमार्ग सडक तथा भित्री सडक छेउछाउको पातपतिङ्गर हटाउने, सरसफाइ गर्ने र पूर्व तयारीका कार्यक्रम सञ्चालन गरिने छ ।”
वनमा डढेलो लाग्न नदिन सबै नागरिकलाई सचेत हुन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । नवलपरासी(बर्दघाट सुस्ता पूर्व)का अधिकांश सामुदायिक वनहरू डढेलोको उच्च जोखिममा रहेकाले सबैलाई सतर्क र सुरक्षा अपनाउन डिभिजन वन कार्यालय प्रमुख अधिकारीले आग्रह गर्नुभयो । वन डढेलो जोखिम उच्च जिल्लाहरू मध्ये नवलपरासी(बर्दघाट सुस्ता पूर्व) १६ औँ स्थानमा रहेकाले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको प्रमुख अधिकारीले बताउनु भयो ।
“वन जङ्गलमा सुख्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपाय बारे सरोकारवालालाई जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ”,उहाँले भन्नु भयो,“जिल्लामा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा व्यापक रुपमा सूचित गरिने छ ।”
नवलपरासी(बर्दघाट सुस्ता पूर्व)मा दुई सय १२ वटा सामुदायिक वन, एक सय ६९ वटा कबुलियती वन, नौ वटा धार्मिक वन र एक वटा साझेदारी वन रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिशिर लम्सालले बताउनु भयो । जिल्लामा ५८ प्रतिशत भूभाग वन जङ्गलले ढाकेको छ ।
कार्यक्रमका नगर उप प्रमुख पूर्णकला चौधरी, वडा अध्यक्षहरू विभिन्न वन समूहका अध्यक्ष तथा प्रतिनिधि लगायत सरोकार बालाहरूको उपस्थिति रहेको थियो । मिसन नवलपुरबाट साभार

ताजा अपडेट

खोजी गर्नुहोस